प्रयोगशाला बढे, परीक्षणको दायरा बढेन

प्रयोगशाला बढे, परीक्षणको दायरा बढेन

धनगढी : सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) परीक्षणका लागि प्रयोगशाला विस्तार भए पनि परीक्षणको दायरा भने बढ्न सकेको छैन। 
 

प्रदेशमा कैलाली, डडेलधुरा, डोटी, बैतडी र बझाङका गरि पाँच वटा प्रयोगशालामा परीक्षण थालिएको छ। 

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा दैनिक एक हजार पनि नमुना परीक्षण हुन सकेका छैनन्। 

पछिल्लो २८ दिनयताको परीक्षणको दायरा हेर्दा असोज ४ गते सबैभन्दा बढी नमुना परीक्षण भएको देखिएको छ। उक्त दिन प्रदेशमा नौ सय ९४ नमुना परीक्षण भएकोमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रदेशको सेती प्रादेशिक अस्पतालमा चैत २० गते, डडेलधुरामा असार १८ गते, डोटीमा भदौ २ गते, बैतडीमा असोज १ गते र बझाङमा असोज ८ गतेदेखि पिसिआर परीक्षण सुरु गरिएको थियो।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले प्रदेशमा दैनिक ६ हजार नमुना परीक्षण गर्न सक्ने क्षमता रहेको बताए। उनले भने, ‘प्रदेशका पा“च वटा र अन्य प्रयोगशालामा गरि ६ हजारको नमुना परीक्षण गर्न सक्ने क्षमता छ। तर, अहिले दैनिक एक हजार पनि नमुना परीक्षण हुन सकेको छैन।’ 

उनले स्थानीय तहले नमुना संकलन गर्न नसक्दा परीक्षणको दायरा बढ्न नसकेको बताए।

उनले भने, ‘निर्देशनालयले आवश्यकता अनुसार प्रयोगशाला स्थापना गरिरहेको छ। अब केही दिनमै अछाममा पनि कोरोना परीक्षण प्रयोगशाला सञ्चालनमा आउने छ।’ 

उनले क्वारेन्टाइनमा रहेका र कोरोना संक्रमितको सम्पर्कमा आएका शंकास्पद व्यक्तिको नमुना संकलन सम्बन्धित स्थानीय तहले गर्नु पर्ने बताए। 

प्रदेशमा भदौ १६ गतेदेखि असोज १३ गते (२८ दिन)सम्म १७ हजार दुई सय सात जनाको नमुना परीक्षण गर्दा एक हजार तीन सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रदेशको सेती प्रादेशिक अस्पतालमा ४३ हजार नौ सय आठ, डडेलधुरा अस्पतालमा १७ हजार २९, डोटी अस्पतालमा चार हजार एक सय ९९, बैतडी अस्पतालमा चार सय ४५, बझाङ अस्पतालमा सात सय ५९ नमुना परीक्षण भएका छन् भने राष्ट्रिय प्रयोगशालामा १६ हजार तीन सय १८ र अन्यमा एक सय ८४ गरि हालसम्म ८२ हजार आठ सय ४२ नमुना परीक्षण भएको जनाइएको छ।

अस्पतालमा सात सय ५४, डडेलधुरामा एक सय चार, डोटीमा ७२, बैतडीमा १० र बझाङमा एक सय स्वाब नमुनाको परीक्षण हुन बा“की छ। 

प्रदेशमा हालसम्म सेती प्रादेशिक अस्पतालमा दुई हजार सात सय ६५, डडेलधुरामा आठ सय ७१, डोटीमा तीन सय ९६, बैतडीमा १२, बझाङमा ६२ जनामा कोरोना पुष्टि भएको छ भने राष्ट्रिय प्रयोगशालामा दुई हजार नौ सय ८४ र अन्यमा २८ गरि सात हजार एक सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ।

हजारभन्दा बढी व्यक्ति क्वारेन्टिनमा 

सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा एक हजारभन्दा बढी व्यक्ति क्वारेन्टिनमा छन्। निर्देशनालयका अनुसार प्रदेशमा चार सय ८० महिला र एक हजार दुई सय ५८ पुरुष गरि एक हजार सात सय ३८ जना क्वारेन्टिनमा छन्।

तीमध्ये अछाममा सबैभन्दा बढी छन्। अछाममा एक सय ९१ महिला र चार सय आठ पुरुष गरी पा“च सय ९९, बझाङमा एक सय ८१ महिला र तीन सय ७४ पुरुष गरी पा“च सय ५५, डोटीमा ४७ महिला र एक सय ७१ पुरुष गरी दुई सय १८ जना क्वारेन्टिनमा बस्दै आएका छन्। 

यस्तै, कञ्चनपुरमा ३१ महिला र एक सय तीन पुरुष गरी एक सय ३४, कैलालीमा १२ महिला र ८० पुरुष गरी ९२, बैतडीमा १४ महिला र ८० पुरुष गरी ९४ जना क्वारेन्टिनमा छन् भने दार्चुलामा चार महिला र ४२ पुरुष गरी ४६ जना क्वारेन्टिनमा बसिरहेका छन्।
६ हजारभन्दा बढी निको भए

सुदूरपश्चिम प्रदेशमा सोमबार थप ५१ जना निको भएर घर फर्केका छन्। निर्देशनालयका अनुसार सोमबार सेती प्रादेशिक अस्पतालबाट दुई, कञ्चनपुरबाट एक, अछामबाट ४५ र डोटीबाट तीन गरी ५१ जना निको भएका हुन्। 

योसँगै प्रदेशमा कोरोनाबाट निको भएर घर फकर्नेको संख्या ६ हजार एक सय एक पुगेको छ।

घट्दै सक्रिय संक्रमित

सुदूरपश्चिम प्रदेशमा सोमबार ५१ जना निको भएर घर फर्केसँगै सक्रिय संक्रमितको दर पनि ओरालो लाग्दै गएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सोमबारसम्म प्रदेशमा सक्रिय संक्रमित एक हजार दुई छन्।

प्रदेशमा सात हजार एक सय १८ जना कोरोना संक्रमितमध्ये एक हजार दुई सक्रिय संक्रमित रहेको जनाएको छ।

निर्देशनालयका अनुसार सक्रिय संक्रमित सबैभन्दा बढी कैलालीमा छन्। कैलालीमा चार सय सय ८४, डोटीमा एक सय ३६, अछाममा ९७, बझाङमा एक सय १७, बैतडीमा ८३, कञ्चनपुरमा ४२, दार्चुलामा ३२ र डडेलधुरामा ११ जना सक्रिय संक्रमित रहेको जनाइएको छ।

बाजुरामा भने कोरोनाको सक्रिय संक्रमित नरहेको निर्देशनालयले जनाएको छ। 

असोज १४, २०७७ बुधबार १२:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।