चलचित्र छायांकनको मिति धमाधम तोकिँदै

चलचित्र छायांकनको मिति धमाधम तोकिँदै
चलचित्र ‘ए मेरो हजुर ४’का कलाकार लगायतको टोली।

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम कम गर्ने भन्दै सरकारले गत चैत ११ गतेबाट देशभर लकडाउन गर्यो। लकडाउनका कारण छायांकन भइरहेका चलचित्रको काम रोकियो।

सरकारले करिब ६ महिनापछि लकडाउन खुकुलो बनाए पनि फिल्म हल खोल्ने र छायांकन गर्ने अनुमति दिएको छैन। तर, चलचित्रकर्मी भने सजगता अपनाएर छायांकनको तयारीमा जुटेका छन्। 

गत चैतमा छायांकन रोकिएका दुई प्रतिक्षित चलचित्र ‘परदेशी २’ र ‘ए मेरो हजुर ४’ छायांकनको तयारीमा लागेको छ। 
‘ए मेरो हजुर ४’ का निर्माता सुनिलकुमार थापाले यही शुक्रबारबाट चलचित्रको बाँकी छायांकन गर्ने बताएका छन्। 

अर्को चलचित्रको पनि छायांकन घोषणा गरिएको छ। ‘परदेशी २’ का निर्देशक नारायण रायमाझीले असोज १७–१८ गतेबाट छायांकन गर्ने तयारी गरिएको बताए। यसका लागि कलाकारले काम गरिरहेको उनको भनाइ छ। 

चलचित्र ‘परदेशी २’का कलाकार केकी अधिकारी, प्रशान्त तामाङ, वर्षा सिवाकोटी र प्रकाश सपूत (बायाँबाट क्रमशः)। 

लकडाउनअघि चलचित्रको ७० प्रतिशत छायांकन पूरा भइसकेको छ।

यसअघि ‘परदेशी २’ लाई विदेशमा पनि छायांकन गर्ने भनिए पनि अब भने कथा  परिवर्तन गरेर काठमाडौं र पाल्पामा छायांकन गरिने निर्माण पक्षले जनाएको छ। 

विदेशमा छायांकन गर्न तत्काल सम्भव नहुने भएकाले स्वदेशमै गर्न लागिएको निर्देशक रायमाझीले बताए। 

रमेश बिजीले लेखेको यस चलचित्रलाई निर्देशक रायमाझी र राजेश वंशलले निर्माण गरेका हुन्। 

चलचित्रमा दिलिप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा सिवाकोटी, प्रकाश सपूत, देवेन्द्र बब्लु लगायतको अभिनय रहने छ। गायक सपुतले यसै चलचित्रबाट अभिनेताको रूपमा डेब्यू गर्न लागेका हुन्। 

निर्माता तथा फोटोग्राफर सुनिल राजभण्डारीको निर्माणमा चलचित्र ‘लक्ष्य जिन्दगी’ छायांकन सकिएको छ। चलचित्रको २० दिनअघिदेखि काठमाडौ आसपास छायांकन सुरु भएको थियो। 

लकडाउनकै अवधिमा चलचित्रको घोषणा गरिएको थियो। सरकारले अनुमति नदिए पनि सजगता अपनाउँदै चलचित्रको छायांकन सकिएको निर्माता सुनिलले बताए। चलचित्रमा पुस्कर राउत, दीपिका थापा लगायतको अभिनय छ। 

छायांकनका लागि हतारिएका चलचित्र 

निर्माता तथा निर्देशक सन्तोष सेन चलचित्र ‘हुतुतु’ छायांकनका लागि हतारिएको छ। पटकथा लेख्दै गर्दा लेखक तथा निर्देशक छेतन गुरुङको मृत्यु भएपछि चलचित्र रोकिएको हो। चलचित्रका कलाकार छनोट भइसकेकाले फ्लोरमा जान मात्र बाँकी छ। 

चलचित्रमा हरिवंश आचार्य, राजाराम पौडेल, माउत्से गुरूङ, प्रदीप खड्का, पल शाह, नाजिर हुसेन, गौरव पहारी, सलोन बस्नेत लगायतको जम्बो टिम छ। 

चलचित्रका लागि अभिनेत्रीमा साम्राज्ञी राजभण्डारी छनोट गरिएको छ। यद्यपि, उनीसँग लिखित सहमति हुन बाँकी छ।

त्यस्तै अर्का अभिनेता सलोन बस्नेत पनि चलचित्र निर्माणमा जुटेका छन्। उनी ‘रूम नम्बर १०८’ चलचित्र बनाउने तयारीमा छन्। चलचित्रको दसैंअघि नै छायांकन हुने बताइएको छ। 

निर्देशक दीपेन्द्र के खनाल पनि चलचित्र ‘चिसो मान्छे’को छायांकन गर्ने तयारीमा छन्। सरकारले अनुमति दिए तत्कालै छायांकनमा जाने निर्देशक खनालको भनाइ छ।

चलचित्रको अभिनेत्रीका रूपमा स्वस्तिमा खड्का फाइनल भइसकेकी छन्। अन्य कलाकारको पनि छनोट भइरहेको निर्माण पक्षले जनाएको छ। 

यस्तै, अभिनेत्री तथा निर्मात्री रेखा थापा पनि चलचित्रको छायांकनमा जाने तयारीमा छन्। उनको चलचित्रको नाम सार्वजनिक गरिएको छैन। 

चलचित्रका लागि अभिनेता सौगात मल्ल मुख्य पात्रका रूपमा छानिसकेका छन्। 

निर्देशक विकासराज आचार्यको ‘नाई न भन्नु ल ६’, निर्माता किरण केसीको ‘२ नम्बरी’, निर्देशक सुरेन्द्र पौडेलको ‘बेञ्जो’, निर्देशक रेनशा वान्तावा राईको ‘आई एम ट्वान्टी वान’, निर्माता मौनता श्रेष्ठको ‘आँधी तुफान २’, निर्देशक दिनेश पौडेलको ‘कालुराम’, लगायतका चलचित्रको स्क्रिप्ट लेखन, कलाकार छनोट, लोकेसन छनोटलगायत काम भइरहेको छ।

साउनयता १८ चलचित्र दर्ता  

लकडाउनयता चलचित्र निर्माणका लागि चलचित्र विकास बोर्डमा नाम दर्ता गराउनेको जमात कम देखिँदैन। फिल्म छायांकन नहुँदै हालसम्म दुई दर्जनभन्दा बढी चलचित्र बोर्डमा दर्ता भइसकेका छन्। 

साउनयता मात्रै १८ वटा चलचित्र बोर्डमा दर्ता गरिएका छन्। उक्त अवधिमा एक वृत्तचित्र र आठ विज्ञापनसमेत दर्ता गरिएका छन्। 

लकडाउन खुकुलो भएसँगै चलचित्रकर्मीले छायांकन तथा अन्य कामको अनुमतिका लागि  सरकारसँग माग गरिरहेका छन्। 

असोज १४, २०७७ बुधबार ०७:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।