जनकपुरधाम–जयनगर रेल सञ्चालन अन्योलमा

जनकपुरधाम–जयनगर रेल सञ्चालन अन्योलमा

जनकपुरधाम : भारतबाट रेल खरिद गरि ल्याए पनि जनकपुरधाम–जयनगर रेल सञ्चालन अझै अन्योल बनेको छ। 

पहिलो चरणमा जनकपुरधामको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर रेल सेवा सञ्चालन गर्न पूर्णरूपमा लिक तथा भौतिक संरचना तयारी अवस्थामा छ।

भारतबाट किनेको दुई वटा रेल असोज २ गते जनकपुरधाममा घुमाएर धनुषाको इनरर्वामा पार्किङमा राखिएको छ। तर, अहिले पनि सो रेल सरकारलाई औपचारिकरूपमा हस्तान्तरण गरिएको छैन। हस्तान्तरण प्रक्रियासमेत अन्योलमा छ। 

भारतबाट खरिद गरि जनकपुर ल्याइएको रेल हेर्न आएका सर्वसाधारण। फाइल तस्बिर। 

सुरुमा सीमावर्ति क्षेत्र जयनगर स्टेसनमा राखिने भनिए पनि अहिले धनुषाको इनर्वा स्टेसनमा रेल राखिएको छ। 

इनर्वा स्टेसनमा पाँचवटा लिक रहेकाले दुई सेट रेललाई छुट्टाछुट्टै लिकमा राखिएको छ। पहेंलो रङको त्रिपाल ओढाएर राखिएको रेलको सुरक्षा गर्न इनर्वा स्टेसनमा सशस्त्र प्रहरीलाई खटाइएको छ। रेललाई अहिले ५० जना सशस्त्र प्रहरीले सुरक्षा दिइरहेका छन्।

रेलको रङरोगन बिग्रन नदिन त्रिपालले छोपिएको नेपाल रेल कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए। उनका अनुसार रेलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई रेलका एउटा यार्ड उपलब्ध गराइएको छ। 

साइट इन्जिनियर विनोद ओझाले भारतीय प्राविधिकलाई चेकजाँच गर्न सहज हुने भएकाले इनर्वा उपयुक्त देखिएको बताए।

जनशक्ति अभावले रेल सञ्चालनबारे अझै टुंगो नलागेको रेलका अधिकारीहरू बताउँछन्। 

३५ किलोमिटर लामो रुटमा रेल सञ्चालनका लागि सात वटा स्टेसन छन्। त्यसका लागि कम्तीमा दुई जना कर्मचारी चाहिन्छ। 

हाललाई एक सय २९ जना कर्मचारी माग गर्दै रेल्वे कम्पनी लिमिटेडले विज्ञापन गरेको छ। उक्त विज्ञापनअन्तर्गत आवेदन दिने अवधि असोज १२ गतेसम्म छ।

जनशक्ति अभावले रेल सञ्चालनमा ढिलाइ भएको रेल्वे कम्पनीले जनाएको छ। भारतले निर्माण गरेको लिक तथा पूर्वाधार हालसम्म पनि औपचारिकरूपमा हस्तान्तरण नगरेका कारण सञ्चालनमा अन्योलता बढेको ती अधिकारीले बताए।

रेल हस्तान्तरण गर्ने भन्नेबारे हालसम्म टुंगो नलागेको जनकपुर रेल विभागका इन्जिनियर  ओझाले बताए। 

रेल कम्पनीका महाप्रबन्धक भट्टराईले दुई÷तीन महिनाभित्र रेल सञ्चालन गर्नेगरि काम थालिएको बताए। 

‘कर्मचारी भर्ना प्रक्रिया सुरु भइसकेको छ, भारतबाट बनेर आएको रेलको परीक्षण पनि भइसकेको छ,’ उनले भने, ‘कर्मचारी भर्ना प्रक्रिया सकिएलगत्तै रेल सञ्चालनमा आउँछ। महत्त्वपूर्ण काम जति करिब–करिब सकिसकेको छ।’

रेल्वे कम्पनीले आवश्यक जनशक्तिका लागि विज्ञापन गरे पनि भारतबाट ल्याउने प्राविधिक कर्मचारीबारे अझै टुंगो लागेको छैन। 

रेल चलाउन भारतबाट कम्तीमा पनि २६ जना दक्ष जनशक्ति ल्याउनु पर्ने हुन्छ। त्यसका लागि मन्त्रिपरिषद्ले स्वीकृति दिए पनि रेल्वे कम्पनीबाट प्रक्रिया अझै सुरु नभएको स्रोतले जनाएको छ।

भारतीय पक्षले भने नेपाल सरकार तयार नहुँदा रेल्वेको संरचना हस्तान्तरण गर्न नसकिएको दाबी गरेको छ। ‘रेल्वेको पूर्वाधार तयार भएदेखि नै हस्तान्तरणका लागि भारत तयारी अवस्थामा थियो। तर, नेपालको तयारी नपुगेकाले हालसम्म हस्तान्तरण भएको छैन। नेपाल तयार हुनेबित्तिकै हस्तान्तरण गर्छौं,’ नेपालस्थित भारतीय दूतावासका एक पदाधिकारीले भने।

दोस्रो चराणमा सञ्चालन गरिने भनिएको जनकपुरधामको कुर्थादेखि भंगहासम्मको १७ किलोमिटर रेलको लिक तथा भौतिक संरचना निर्माण पनि अन्तिम चरणमा पुगेको छ।

‘भारतसँगको सम्झौता अनुसार रेल निर्माणमा भएको खर्चको मोबिलाइजेसनको २० प्रतिशत रकम सरकारले बुझाइसकेको छ,’ रेल्वेका महानिर्देशक बलराम मिश्रले भने, ‘बाँकी ८० प्रतिशत रकम रेल जनकपुरधाम आएर परीक्षण भएपछि मात्र भुक्तानी गरिने छ।’

रेलको डिब्बामा एक पटकमा करिब १३ सय यात्रु अटाउने छन्। दिनमा तीन पटकसम्म ओहोर दोहोर गर्ने रेल्वेको तयारी छ।

पहिलो चरणमा जयनगर–जनकपुर–कुर्था (३५ किमि) को रेल सेवा सञ्चालन गर्ने तयारी दुवै देशका प्राविधिकले गरेका छन्। 

दोस्रो चरणमा कुर्था–भंगहा (१७ किमि) तथा तेस्रो चरणमा भंगहा–बर्दिबास (१७ किमि) गरी कूल ६९ किलोमिटर लामो रेल विस्तार आगामी तीन वर्षभित्र पूरा हुने इन्जिनियर ओझाले बताए। 

भारत सरकारको १० अर्ब रूपैयाँ सहयोगमा उक्त रेलमार्ग निर्माण भएको हो। निर्माण भएको रेलमार्ग ब्रोडगेज हो।
 

असोज १३, २०७७ मंगलबार १३:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।