गाडाबाट नदी तर्छन् उपमहानगरवासी

गाडाबाट नदी तर्छन् उपमहानगरवासी
कैलालीको धनगढी उपमहानगरपालिकास्थित खुटिया नदी गाडामा चढेर पार गर्दै स्थानीय।

धनगढी : धनगढी उपमहानगरपालिका–१७, धुर्जन्नाका नरेश चौधरी दैनिक खुटिया नदी तरेर धनगढी आउने गरेका छन्।

मोटरसाइकलमा धुर्जन्नाबाट देवहरिया हुँदै धनगढी आउने उनी गाडामा चढेर नदी तर्ने गरेको बताउँछन्। ‘नदीमा पानी कम भएका बेला मोटरसाइकल चलाएर आउँछु। पानी अलि बढी भए गाडामा मोटरसाइकल राखेर नदी तर्छु,’ उनले भने। 

गौरीगंगा नगरपालिकामा कार्यरत धनगढीका नरेन्द्र सिंहको पनि उस्तै कथा छ। उनी पनि दैनिक भैंसीगाडामै नदी तर्ने गरेको बताउँछन्। ‘दैनिक दुई सय रूपैयाँ तिरेर खोला वारपार गर्छु,’ उनी भन्छन्। 

नदीमा निर्माण थालिएको पुल सम्पन्न नहुँदा समस्या भइरहेको उनी बताउँछन्। ‘पुल कहिले बन्ने हो टुंगो छैन,’ उनी भन्छन्। 

स्थानीय नरेश चौधरी पनि पुल नबन्दा वर्षायाममा धनगढी पुग्न असहज हुने गरेको दुखेसो पोख्छन्। 

गाडामा यात्रु बोकेर नदी वारपार गराउँदै आएका छन्, स्थानीय भागिराम राना। उनी दैनिक दुई सयजति मोटरसाइकल वारपार गर्ने गरेको बताउँछन्। ‘यो आम्दानीको राम्रो स्रोत भएको छ,’ उनी भन्छन्।

खुटिया नदीमा मात्र होइन, शिवगंगा नदी तर्ने यात्रुको पनि उस्तै व्यथा छ। यहाँ पनि नदी तर्न गाडा चढ्नु पर्ने बाध्यता छ। पुल निर्माण हुन नसक्दा पैसा तिरेर नदी तर्नुपरेको यात्रुको दुखेसो छ। 

उक्त नदीमा पुल निर्माणको सम्झौता गरिए पनि सुरु नै हुन सकेको छैन। 

पुल नबनेपछि यात्रु भैंसीगाडा चढेर नदी पार गर्न बाध्य छन्। 

गाडामा यात्रु राखेर शिवगंगा नदी तराउँदै आएका स्थानीय मानबहादुर चौधरी दैनिक एक हजार दुई सयदेखि चार हजार रूपैयाँसम्म आम्दानी हुने गरेको बताउँछन्। 

समय घर्कियो, बनेनन् पुल 

खुटिया र शिवगंगा नदीमा पुल निर्माण तोकिएको समयमा हुन सकेका छैनन्। 

सडक डिभिजन कार्यालय, महेन्द्रनगरले पप्पु एडभेन्चर जोइन्ट भेन्चरसँग २०७४ सालमा तीन वर्षमा निर्माण सक्ने गरि पुल निर्माणको सम्झौता गरेको थियो। सम्झौता अनुसार उक्त सम्झौता अवधि गत असारमै सकिसकेको छ। 

धुर्जन्ना र देवहरिया जोड्न निर्माण थालिएको खुटिया पुलको निर्माण ८० प्रतिशत सम्पन्न भइसकेको कार्यालयले जनाएको छ। एक सय ५० मिटर लामो उक्त पुलको लागत भ्याटबाहेक १४ करोड २१ लाख २४ हजार दुई सय ६२ रूपैयाँ छ। 

शिवगंगा पुलको भने निर्माण सुरु नै हुन सकेको छैन। 

कार्यालयका अनुसार एक सय २४ मिटर लामो उक्त पुलको निर्माण लागत १२ करोड ६२ लाख ७२ हजार ६ सय ७१ रूपैयाँ छ। 

धनगढी उपमहानगरपालिका–१७ का वडाअध्यक्ष माधव रानाले पुल निर्माणका लागि सम्बन्धित निकायसँग पहल गरिरहेको बताए।

डिभिजन कार्यालय, महेन्द्रनगरका सूचना अधिकारी लक्ष्मणदत्त जोशीले लकडाउनका कारण तोकिएको समयमा पुल निर्माण हुन नसकेको बताए। ‘मसिर मसान्तभित्रै पुल निर्माण सम्पन्न हुने छ,’ उनले भने।  

शिवगंगा पुल के गर्नेबारे भने अहिलेसम्म टुंगो नलागेको उनले बताए। 
 

असोज १३, २०७७ मंगलबार ०९:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।