अनलाइबाटै कर तिर्न पाउँदा सेवाग्राही मख्ख

अनलाइबाटै कर तिर्न पाउँदा सेवाग्राही मख्ख
काठमाडौं महानगरपालिकाका करदाताका लागि अनलाइन प्रणाली उद्घाटन गरिँदै।

काठमाडौं : काठमाडौं महानगरपालिका–४, धुम्बाराहीका मदन कोइरालाले केही दिनअघि वडा कार्यालय पुगेर अनलाइनबाट सम्पत्ति कर तिरे। 

यसअघिका वर्षमा लामो लाइन बसेर झण्झटिलो तरिकाले कर तिर्दै आएका कोइराला लाइन नै नबसी कर तिर्न पाउँदा दंग परेका हुन्। 

‘कोरोना भाइरस (कोभिड १९)को महामारीका बेला भिडभाड बिनै कर तिर्न पाउँदा खुसी लाग्यो,’ कोइरालाले सुनाए। 

अनलाइन प्रणाली पढेलेखेकालाई प्रभावकारी भए पनि साधारण लेखपढ गर्नेलाई मुस्किल पर्ने हो कि भन्ने उनलाई चिन्ता छ। 

त्यस्तै ग्रिनहिल सिटीका गोपाल भट्टराईले पनि चालु आर्थिक वर्षको सम्पत्ति कर अनलाइन प्रणालीबाटै तिरे।

‘बिना झण्झट छिटो–छरितो तरिकाले कर भुक्तानी गर्न सकिने प्रणाली स्मार्ट लाग्यो,’ उनले भने। 

उनी आगामी दिनमा सिस्टम डाउन हुने, ह्याङ हुने जस्ता समस्या आउन सक्नेतर्फ सचेत हुनु पर्ने बताँउछन्।

सम्पत्ति कर भुक्तानी गर्न आएका चुनदेवीका सुमन केसी समय, परिस्थिति अनुसार प्रविधिको उच्चतम लाभ लिनु पर्नेमा उनी जोड दिन्छन्।

‘यो कामको थालनी धेरै अघि हुनुपर्ने थियो। ढिलो गरि सुरु भए पनि राम्रो भयो,’ उनी भन्छन्।

यी भनाइ काठमाडौं महानगरका करदाताका हुन्। महानगरले अनलाइन प्रणालीमार्फत राजस्व भुक्तानी सेवा सुरु गरेपछि सेवाग्राही उत्साहित भएका छन्। 

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल विद्युतीय प्रणालीबाट राजस्व निर्धारण तथा संकलन थालिएपछि सकारात्मक प्रतिक्रिया आएको बताउँछन्।

‘चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा महानगरले संकलन गर्ने कर, सेवा शुल्क र जरिवानालाई बैकिङ तथा विद्युतीय प्रणालीबाट गर्ने योजना ल्याएका थियौं,’ अर्याल भन्छन्।

कोरोना महामारीबीच अनलाइनमार्फत राजस्व भुक्तानीको सुरुवातसँगै वडामा सेवाग्राहीको भीडभाड कम हुने र सेवा प्रभावकारी हुने उनको विश्वास छ। 

‘अबको प्रशासन सहभागितामूलक र पारदर्शी हुनुपर्छ। यसका लागि प्रविधि नै उपयुक्त विकल्प हो। महानगरका हरेक सेवालाई विस्तारै विद्युतीय प्रणालीमा रूपान्तरण गर्दै लैजान्छौं,’ उनले भने।

राजस्व विभागका निर्देशक शिवराज अधिकारी असोज १ बाट सुरु भएको अनलाइन प्रणालीबाट आइतबारसम्म १ करोड ६० लाख राजस्व असुली गरेको बताउँछन्।

आइतबारसम्ममा आठ सय ५० करदाताले अनलाइनमार्फत कर तिरिसकेका छन्। यस अवधिमा सबैभन्दा बढी घर बहाल करमार्फत ७८ लाख ३७ हजारभन्दा बढी र सम्पत्ति कर २० लाख ८३ हजार रूपैयाँ संकलन भएको उनको भनाइ छ। 

निर्देशक अधिकारीले महानगरले सबै वडाका कर्मचारीको क्षमता विकासका लागि प्रणालीको प्रयोगात्मक सिकाइका कक्षा सञ्चालन गरिरहेको जानकारी दिए। महानगरपालिकाभित्र करिब तीन लाख करदाता छन्। 

कर तथा राजस्वको अभिलेखन, कर निर्धारण तथा असुलीलाई स्वचालित बनाउन महानगरले आगामी पुससम्म सबै करदातालाई अनलाइन प्रणालीमा ल्याउने लक्ष्य लिएको छ।

करदाताहरूलाई अनलाइन प्रयोगबारे जानकारी गराउन प्रचार सामग्री समेत तयार भइरहेको महानगरको भनाइ छ।

मंगलबारबाट ३२ वटै वडाबाट यो सेवा सुरु सुचारु भइसक्ने महानगरले जनाएको छ। 

असोज १३, २०७७ मंगलबार ०७:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।