ओस्कर अवार्डको आवेदन खुल्यो
काठमाडौं : नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले ९३ औं ओस्कर अवार्डमा सहभागिताका लागि आवेदन खुला गरेको छ।
समितिले सोमबार एक विज्ञप्ति जारी गर्दै ओस्करको प्रतिस्पर्धा मा सामेल हुन इच्छुक नेपाली फिल्मकर्मीले असोज १३ देखि २९ गतेसम्म आफ्नो फिल्म नेपालको ओस्कर कमिटीलाई बुझाउन आह्वान गरेको छ।
यसअघि फ्रेबुअरीमा हुँदै आएको अवार्ड कोरोना भाइरस (कोभिड-१९)को महामारीका कारण दुई महिना पर धकेलिएको थियो।
नयाँ मिति अनुसार अवार्ड अप्रिल २५ मा लस एन्जल्सको डल्बी थिएटरमा सम्पन्न हुने छ।
कोरोना महामारीकै कारण ओस्करले सहभागिताका लागि केही नियममा पनि परिवर्तन गरेको छ। परिवर्तित नियममा महामारीका कारण रिलिज गर्ने समय तोकेर रिलिज हुन नसकेको फिल्मले पनि सहभागिता जनाउन पाउने लचिलो प्रावधान छ।
अघिल्ला वर्षमा कुनै पनि फिल्म हलमा रिलिज भएर हप्ता दिनसम्म चलेकै हुनुपर्ने नियम थियो। तर, यो वर्ष यसरी हलमा रिलिज हुन नसकेका फिल्मले पनि ओस्करको प्रतिस्पर्धामा सामेल हुन पाउने छन्। यसका लागि सम्बन्धित फिल्मले सरकारबाट मान्यता प्राप्त सिनेमा हलबाट फिल्म रिलिज रोकिएको पत्र नेपालको ओस्कर कमिटीलाई बुझाउनु पर्ने छ।
यसरी रोकिएका फिल्म हलमा नलागी स्ट्रिमिङ साइटमा आएका छन् भने पनि तिनले सहभागिता जनाउन सक्ने छन्।
नेपालमा बिमल पौडेलको अध्यक्षतामा आठ सदस्यीय इन्टरनेसनल फिचर फिल्म कार्यकारी समिति छ, जसमा राजेन्द्र शलभ, लक्ष्मीनाथ शर्मा, प्रदीप उपाध्याय, लोकेन्द्र पराजुली, राजुबिक्रम थापा, चिरञ्जीवी गुरागाईं र सामीप्यराज तिमल्सेना सदस्य छन्।
असोज १२, २०७७ सोमबार २२:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।