सार्वजनिक सवारीमा स्वास्थ्य मापदण्ड खोइ ?

सार्वजनिक सवारीमा स्वास्थ्य मापदण्ड खोइ ?
कोरोना भाइरस (कोभिड-१९)को संक्रमण फैलन नदिने उपाय लेखिएको प्लाकार्ड बोकेर सचेतना फैलाउँदै एक ट्राफिक प्रहरी।

काठमाडौं : उपत्यकामा विभिन्न रुटमा चल्ने सार्वजनिक सवारी साधनले स्वास्थ्य मापदण्ड पालना नगरेको पाइएको छ। 
 

रत्नपार्कबाट जोरपाटी, बौद्ध, कपन, साँखु र सुन्दरीजल रुटमा चल्ने अधिकांश सवारी साधनले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना नगरेको यात्रुको आरोप छ। 

सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलन नदिन गाडीको दुई सिटमा एक जना मात्र यात्रु राख्न पाउने, सवारी साधनमा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने र यात्रुले अनिवार्यरूपमा मास्क लगाउनु पर्ने व्यवस्था गरेको थियो। 

सार्वजनिक सवारी साधनले स्वास्थ्य मापदण्ड पालना नगर्दा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेको यात्रुको दुखेसो छ।

‘सवारी साधनमा न स्यानिटाइजर राखिएको छ न त सामाजिक दूरी कायम गरिएको छ,’ यात्रु विवेक लुइँटेलले भने। 

सवारी साधनले मनपरी यात्रु राख्ने गरेको अर्का यात्रु अमृत श्रेष्ठ बताउँछन्। 

कतिपय चालक तथा सहचालकले मास्कसमेत लगाएको पाइँदैन।  

यातायात व्यवस्था विभागका महासचिव सरोज सिटौला केही सवारी साधनले स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना नगरेको स्वीकार्छन्।‘स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई निर्देशन दिइसकेका छौं,’ उनले भने।

सवारी साधनले स्वास्थ्य मापदण्ड पालना गरे नगरेकोबारे स्थानीय निकायले पनि चासो दिनु पर्ने उनले बताए। 

पाँच दिनमा चार सयभन्दा बढी सवारी साधनलाई कारवाही 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो पाँच दिनमा चार सयभन्दा बढी सार्वजनिक सवारी साधनलाई कारबाही गरेको छ। 

महाशाखाले गत बिहीबारदेखि काठमाडांै उपत्यकामा बढी भाडा लिने र नियम पालना नगर्ने सार्वजनिक सवारी साधनलाई कारबाही थालेको हो। 

महाशाखा प्रमुख भीमप्रसाद ढकालले सार्वजनिक यातायातले तोकिएको स्वास्थ्य मापदण्ड पालना गरे÷नगरेको बारे अनुगमन भइरहेको जानकारी दिए। 

मापदण्ड पालना नगर्ने सवारी साधनलाई  असोज १ गतेपछि पाँच सयदेखि १० हजार रूपैयाँसम्म जरिवाना गर्न थालिएको उनले बताए। 

भाडा पनि मनपरी

गाडी व्यवसायीले तोकिएको मूल्यभन्दा बढी भाडा असुलेको यात्रुको आरोप छ।  

यातायात व्यवसायीले कपनबाट चाबहिलसम्मको भाडा दोब्बर लिने गरेको यात्रु विवेक लुइँटेलले गुनासो पोखे। 

‘कपनबाट चावहिलको भाडा २३ रूपैयाँ हो। तर, गाडी व्यवसायीले ४० रूपैयाँसम्म लिने गरेका छन्,’ उनले भने। 

त्यस्तै, जोरपाटी–रत्नपार्क रुटमा चल्ने सवारी साधनले ४० देखि ५० रूपैयाँसम्म लिने गरेको यात्रु अमृत श्रेष्ठले बताए। ‘यात्रु हेरेर ३०–४० रूपैयाँ लिने गरिएको छ,’ उनले भने। 

असोज १२, २०७७ सोमबार १७:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।