सीमामा जोगाइएको सालको वन

सीमामा जोगाइएको सालको वन

विराटनगर : तराईको सबैभन्दा ठूलो वन क्षेत्र चारकोसे झाडी धमाधम फँडानी भइरहेको बेला  मोरङको रतुवामाई नगरपालिका-१, स्थित भारतसँग सिमाना जोडिएको कुटुमगञ्जको राष्ट्रिय वनलाई स्थानीयले संरक्षण गरेका छन्। 

दसगजादेखि करिव दुई सय मिटर उत्तरको ५.४७ हेक्टर क्षेत्रफलमा फैलिएको वनलाई  स्थानीयले संरक्षण गरेका हुन्। 

स्थानीयले संरक्षण गरेकै कारण फँडानी भइसकेको वनमा सखुवाका रुख हुर्किएका छन्। स्थानीयले हुर्काएको यो वनमा एउटा पनि रुख काटिएका छैनन्। वन पनि अतिक्रमण भएको छैन। 

त्यही जंगलदेखि करिब ३२ किलोमिटर उत्तरमा रहेको चारकोसे जंगल कागजीरूपमा ५५ हजार ५ सय हेक्टरमा फैलिएको तथ्यांक छ। चारकोसे जंगल भने हरेक दिन अतिक्रमण र विनाशको चपेटामा पर्दै आएको छ। 

कागजीरूपमा अझै पनि ५५ हजार ५ सय हेक्टर जमिनमा रहेको चारकोसे जंगल अतिक्रमणमा परी ४४ हजार ५ सय ४० हेक्टरमा सीमित भएको डिभिजन वन कार्यालय, मोरङका प्रमुख विशाल घिमिरेले बताए। 

उनका अनुसार भू-सूचना प्रणाली (जिआइएस) ले तीन वर्षअघि सार्वजनिक गरेको नापी सर्भे प्रतिवेदनमा उक्त क्षेत्रफल उल्लेख छ।

डिभिजन वन प्रमुख घिमिरेले राजमार्ग आसपासका बासिन्दामा जंगल सकिहालौं भन्ने सोच छ। तर, सीमा क्षेत्रका बासिन्दा यसलाई संरक्षण गर्नुपर्छ भन्ने मानसिकतामा छन्। जंगलमा स्थानीय काठ तस्कर र सीमापारि भारतको सोनापुर र आमवाडीका बासिन्दाको आँखा नपरेको होइन। 

अर्का स्थानीय सुनिल महतोले भने, ‘तर, उनीहरूले स्थानीयवासीको सुरक्षा घेरा पार गर्न नसक्दा जंगल सही सलामत छ।’ 
पहिला भारतीयले यो जंगल रातारात सखाप गरेका थिए। उनले भने, ‘त्यसपछि उम्रिएका बिरुवालाई स्थानीयले संरक्षण गरेपछि अहिले हराभरा भएको हो।’ 

२०२२ सालमा कुटुमगञ्जको सखुवाको जंगल उत्तरको हालको राष्ट्रिय राजमार्गसम्म जोडिएको थियो। 

वन संरक्षण समितिका अध्यक्ष गिरिजाप्रसाद यादवका अनुसार २०२२ सालमा राजा महेन्द्रले नेपाली भाषी बर्मेली नागरिकलाई यस क्षेत्रमा बसोवास गराउन फँडानी गरिँएको थियो। 

बाँकी रहेको जंगल २०३६ सालको जनमत संग्रहमा सखाप भएको उनले बताए। 

‘स्थानीय र सीमापारिका मानिसले रातारात जंगल सरपट कटान गरे,’ यादवले भने, ‘त्यसपछि उम्रिएका बिरुवा स्थानीयले संरक्षण गरेपछि जंगल पुनः अस्तित्वमा आएको हो।’

अहिले यो जंगलमा स्थानीय र सीमापारिका कोही पनि पस्ने हिम्मत गर्दैनन्। उनले भने, ‘हिउँदयाममा सीमापारिकालाई यो जंगल तीर्थस्थल र पिकनिक खाने स्पट बनेको छ।’ 

यो जंगलमा भएका सबै रुख सखुवा (साल)का हुन्। 

डिभिजन वन कार्यालय, मोरङका सहायक वन अधिकृत नरेन्द्र गुरागाईंका अनुसार दसगजा नजिक रहेको यो राष्ट्रिय वन ‘मनोक्रप साल फरेस्ट’ हो।’ 

डिभिजन वन कार्यालयले यो जंगललाई भारतीय पर्यटकलाई लक्षित गरे वन उद्यान वनाउने तयारी गरेको गुरागाईंले बताए। 

सरकारले यो वनलाई २०७२ सालमा सामुदायिक वनमा परिणत गरेर संरक्षणका लागि स्थानीयलाई हस्तान्तरण गरेको हो। 

यो जंगलको संरक्षणमा स्थानीय तीन सय घरधुरी संलग्न रहेको संरक्षण समितिका अध्यक्ष यादवले बताए। 

असोज १२, २०७७ सोमबार १४:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।