पर्यटन विकासको आधार, छैन पूर्वाधार

पर्यटन विकासको आधार, छैन पूर्वाधार
बाजुराको बडिमालिका क्षेत्र।

धनगढी : पर्यटकीय सम्भावना भएको सुदूरपश्चिममा आवश्यक पूर्वाधार अभावले पर्यटन विकासले गति लिन सकेको छैन।
 

तराईका समथर फाँटहरूदेखि उच्च हिमाली क्षेत्रसम्मका मनमोहक दृश्यले भरिपूर्ण सुदूरपश्चिम प्रदेशको पर्यटन विकासमा राज्यको खासै ध्यान पुग्न सकेको छैन।

प्याराग्लाइडिङ, ग्रामीण पर्यटन, पर्या–पर्यटनको सम्भावना बोकेको प्रदेशमा आवश्यक पूर्वाधार अभाव छ।

केन्द्र सरकारबाट पर्यटन पूर्वाधारको विकासमा सौतेलो व्यवहार खेप्दै आएको यस प्रदेशमा आफ्नै प्रदेश र स्थानीय सरकारबाट पनि पूर्वाधार विकासमा उचित लगानी हुन सकेको छैन।

पूर्वाधार अभावमा प्रदेशका पर्यटकीय स्थलसम्म पुग्न पर्यटकलाई सहज छैन। कतै बाटो छैन भने कतै खाने बस्ने व्यवस्था छैन।

पर्यटन पूर्वाधारका नाममा स्थानीय र प्रदेश सरकारले बजेटजति मन्दिर निर्माण तथा मर्मतमा मात्र खर्च गरिरहेका छन्।  

मन्दिरमा बजेट

सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा पर्यटकीय स्थलमा पूर्वाधार निर्माणले प्राथमिकता पाएको छैन।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा पर्यटन प्रवर्द्धनका नाममा स-साना मन्दिर निर्माण तथा मर्मतले प्राथमिकतामा पाएको छ।

चालु आर्थिक वर्षमा दुई सय ७० मन्दिर निर्माणका योजना छनोटमा परेका छन्, जसका लागि २४ करोड २२ लाख रूपैया“ बजेट विनियोजन गरिएको छ।

मन्दिरसँग सम्बन्धित योजनामा प्रवेशद्वार बनाउने, मन्दिर परिसरमा मञ्च निर्माण गर्ने, अतिथि गृह बनाउने, पदमार्ग निर्माण आदि छन्।

कैलालीमा ५३, बैतडीमा ४३, डोटी र अछाममा ३८/३८, बझाङमा ३५, कञ्चनपुरमा २२, डडेलधुरामा १७, बाजुरामा १४ र दार्चुलामा १० वटा मन्दिरका योजना छन्।

मन्दिरका योजनामा प्रदेश सरकारले  पाँच लाखदेखि ९० लाख रूपैयाँसम्म विनियोजन गरेको छ।

यस्तै, पर्यटन गुरुयोजनाले सुझाएका योजना कार्यान्वयन गर्न दुई करोड, खप्तड, रामारोशन तथा बडीमालिका क्षेत्रमा गल्फ कोर्ष तथा हक्की खेलको सम्भाव्यता अध्ययन गर्न १० लाख, डल्फिन संरक्षण तथा सो क्षेत्रमा भ्यू टावर, शौचालय निर्माण, घेरवार र र्याफ्ट बोट वितरणका लागि १५ लाख, उनिसैनदेखि खप्तड मन्दिरसम्मको पर्यटन गन्तव्य पैदलमार्गका लागि १० लाख, प्रादेशिक पर्यटन नीतिमा पा“च लाख, प्रादेशिक पर्यटन गुरुयोजना तयारी गर्न ५० लाख रकम विनियोजन गरिएको छ।

पर्यटन व्यवसायी किशोर खड्काले प्रदेश सरकारले पर्यटन शीर्षकका नाममा स–साना मन्दिरहरूमा मात्रै बढी बजेट विनियोजन गरिरहेको बताए।

उनले पर्यटकलाई आकर्षण गर्ने सक्ने प्रशस्त गन्तव्य रहे पनि त्यहाँसम्म पुग्ने यातायातको सुविधाका साथै खाने तथा बस्ने व्यवस्थाको अभाव रहेको उनले बताए।

अछाम, बझाङ, बाजुरा र डोटीको भू-भाग समेटिएको प्रशिद्ध खप्तड क्षेत्र, बडिमालिका, रामारोशन, शुक्लाफाँटाजस्ता महत्त्वपूर्ण पर्यटकीय स्थल छन्।

कैलालीमा कर्णाली नदीमा र्याफ्टिङको सम्भावना छ। त्यस्तै, टीकापुर पार्क, विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी ताल तथा डल्फिन क्षेत्र, गोदावरी धाम, शिवपुरी धाम, डोटीमा शैलेश्वरी मन्दिर, डडेलधुरामा उग्रतारा, बैतडीको पात्लाभूमेश्वर गुफा, त्रिपुरासुन्दरी, जगन्नाथ, निगलासैनी, दार्चुलाको अपी हिमाल, मालिकार्जुन लगायतका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय स्थल छन्।

यसबाहेक सुदूरपश्चिमको विविध जातजातिको भेषभूषा, कलासंस्कृति, खानपिन, रहनसहन ग्रामीण पर्यटनका भरपर्दो आधारका रूपमा छन्।

नेपाल टुर एण्ड ट्राभल्स एसोसियसन (नाटा)का सुदूरपश्चिम प्रदेश अध्यक्ष मायाप्रकाश भट्ट पहाडी क्षेत्रका सात जिल्लामा अवस्थित पर्यटकीय स्थलमा पूर्वाधार अभाव रहेको बताउँछन्।

तराईका दुई जिल्लाका पर्यटकीय स्थलहरूसम्म सडक यातायातको सुविधाका साथै सुविधासम्पन्न होटल, लजलगायत सुविधा भए पनि पहाडी जिल्लामा पूर्वाधार विकास हुन नसकेकाले पर्यटन विकासले गति लिन नसकेको उनको भनाइ छ।

सुदूरपश्चिमको खप्तड क्षेत्र देशकै प्रमुख पर्यटकीय गन्तव्य हो। तर, खप्तडसम्म पुग्न र त्यहाँ बस्ने पूर्वाधारको सुविधा नहुँदा पर्यटकको संख्या बढ्न नसकेको पर्यटन व्यवसायी बताउँछन्।

पूर्वाधार र सुविधा नहुँदा खप्तड घुमाउनु भनेको कसैलाई सास्ती दिनुजस्तै भएको त्यहाँ पुगेर फर्किने बताउँछन्।

प्रमुख गन्तव्यमै आवश्यक सुविधा र पूर्वाधार छैनन्। यहाँका मुख्य पर्यटकीय स्थल बडीमालिका, अपी-सैपाल लगायत क्षेत्रमा सडक, आवासलगायत न्यूनतम पूर्वाधारकै अभाव छ।  

यहाँ पर्यटकीय स्थलसँगै भारतीय सहर पनि नजिक भएकाले पनि पर्यटकीय सम्भावना देखिन्छ।

 

असोज १२, २०७७ सोमबार ०८:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।