कर्णाली चिनाउने भेरी पुल

कर्णाली चिनाउने भेरी पुल

सुर्खेत : कर्णाली प्रदेश भौगोलिकरूपमा विकट छ। तर, यहाँको प्राकृतिक सौन्दर्यले आनन्द तुल्याउँछ। प्रदेश जल, जमिन र जडीबुटीका साथै धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक हिसाबले धनी छ।

प्रदेश नेपाली भाषा, संस्कृति र इतिहासको खुला संग्रहालय हो। यसै संग्रहालयका विषयमा जानकारी दिन सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र भेरीगंगा नगरपालिका सीमास्थित भेरी पुलमा कर्णालीको पहिचान दिने चित्र कोरिएका छन्।

कर्णालीका पर्यटकीय क्षेत्र, रितिरिवाज र यहाँ पाइने वन्यजन्तुका विषयमा भेरी पुलका खम्बामा चित्र कोरिएका हुन्।

भौगोलिक विकटता र मानव विकास सूचांकमा सबैभन्दा पछाडि परेको कर्णाली प्राकृतिक सौन्दर्यले भरिएको छ। कर्णालीमा धर्तीमै ‘स्वर्ग’ देख्न पाइन्छ। स्वर्गकी अप्सरा उपनाले चिनिने रारा ताल पर्यटकको पहिलो रोजाइमा पर्ने क्षेत्रदेखि से-फोसण्डोलगायतका क्षेत्रको भेरी पुलमा चित्रण गरिएको छ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कर्णाली झल्काउने चित्र गत आर्थिक वर्षमा नै भेरी पुलमा राखेको हो।

पर्यटकीय स्थलहरु, कला संस्कृति, रितिरिवाज, कर्णालीका जीवजन्तु सबैकोे जानकारी भित्ताभित्ताबाटै गराइएको छ। यहाँ घुम्न आउने पर्यटकका लागि कर्णालीका पर्यटन क्षेत्रको जानकारी होस् भनेर भेरी पुलको भित्तामा जानकारी दिएको हो।

भेरी पुलमा हुम्लाको लिमी उपत्यका, डोल्पाका शे-फोक्सुण्डो र त्रिपुरासुन्दरी मन्दिर, मुगुको राराताल, जुम्लाका सिँजा उपत्यका र डुडुल चैत्य र कालिकोटको पचाल झरनाका तस्बिर राखिएका छन्।

त्यस्तै, जाजरकोटको खलंगा दरबार, दैलेखको कोतगढी, पञ्चदेवल, बेलासपुर, महावु क्षेत्र, रुकुम पश्चिमको चित्रे पाटन, सल्यानको कुपिण्ड दह, सुर्खेतको काँक्रेविहार र देउती बज्यै मन्दिर लगायत क्षेत्रको चित्र पुलमा अंकित गरिएका छन्।

प्रदेशअन्तर्गत प्रदेशभरिको भेरी र कर्णाली जलयात्रा, हिमालयन ग्रेट ट्रेल, हिमाल आरोहण, हुम्लाको मानसरोवर रुट, बारदेव पर्यटकीय क्षेत्र र सिमकोट शिव मन्दिर, डोल्पाको शे-गुम्बा र तिञ्जे उपत्यका, सुर्खेत-दैलेखमा पर्ने गुराँस क्षेत्रका तस्बिर पनि पुलमा कोरिएका छन् ।

सरकारले भ्रमण वर्ष घोषणा गरेको र त्यही आधारमा कर्णालीका सय गन्तव्य तय गरेको आधारमा प्रदेशको प्रवेशद्वारका रुपमा भेरी पुल रहेकाले यहाँ कर्णाली चिनाउने चित्र कोरिएको प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले बताए।

‘भ्रमण वर्षको अवसरमा कर्णाली चिनाउने चित्र भेरी पुलमा कोरिएका हुन्,’ उनले भने, ‘पुलबाट नै कर्णाली चिनाउने चिनारी दिन खोजेका हौं।’

पुलमा कर्णाली झल्काउने लोपोन्मुख अवस्थामा रहेका राउटे जातिका विषयमा पनि जानकारी दिएको मन्त्री बुढाले बताए।

‘कर्णालीमा मात्र रहेको फिरन्ते जीवन बिताइ रहेका राउटे जातिका विषयमा जानकारी दिएका छौं,’ उनले भने, ‘कर्णालीमा पाइने दुर्लभ वस्तुको विषयमा बाहिरबाट आउने पाहुनालाई यसैबाट जानकारी होस् भन्ने हाम्रो चाहना हो।’

कोरोना भाइरस (कोभिड-१९) महामारीका कारणले भ्रमण वर्ष स्थगित भएकाले पर्यटक आउन छाडे यो अभियानले पर्यटकीय क्षेत्रबारे प्रचारप्रसार हुने मन्त्रालयको दाबी छ।

 

असोज १२, २०७७ सोमबार ०७:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।