पुराना रेल कवाड बन्दै
नेपाल रेल्वेको उदासिनताका कारण न्यारोगेज (वाष्फ र डिजेल इन्जिन भएको पुरानो प्रविधिको) रेल र त्यसका संरचना कवाड बन्दै गएका हुन्।
ब्रोडगेज निर्माणका क्रममा रेलसेवा बन्द भएपछि खजुरी रेल्वे स्टेसनमा थन्काइएका पुराना रेलका इन्जिन, बोगीलगायत पाटपूर्जामा खिया लाग्न थालेको छ।
खजुरी स्टेसन जनकपुरधामबाट १५ किलोमिटरको दूरीमा पर्छ।
पछिल्लो समय रेलका पाटपूर्जा पनि चोरी भइरहेको स्थानीय बताउँछन्। यसतर्फ सरकारले चासो नदेखाएको उनीहरूको आरोप छ।
नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले अहिलेको पहिलो प्राथमिकता रेल सञ्चालन गर्नु रहेकाले त्यसपछि मात्रै पुराना रेल इन्जिन व्यवस्थित गर्नेबारे सोच्न सकिने बताए।
भारतको जयनगरदेखि नेपालको जनकपुरधामसम्मको रुटमा २०५० सालसम्म वाष्प इन्जिनबाट चल्ने रेल सञ्चालनमा थियो। २०५१ सालपछि भने डिजेल इन्जिनको रेल सञ्चालन भएको थियो।
तर, सरकारले ब्रोडगेज रेल सञ्चालन गर्ने तयारी थालेपछि उक्त रुटमा रेल सेवा बन्द गरिएको छ। ब्रोडगेज रेल सञ्चालनका लागि भारतबाट रेल ल्याइसकिएको छ।
संग्रहालय बनाउन माग
रेलका पुराना इन्जिनलाई संग्रहालय बनाउन स्थानीयले माग गर्दै आएका छन्। तर, यसतर्फ सरकारले चासो नदेखाएको उनीहरूको गुनासो छ।
स्थानीय धनिकलाल दास पुराना रेलका इन्जिनको संरक्षणमा सरकारले चासो नदिएको बताउँछन्।
पुराना इन्जिन राखेर संग्रहालय बनाउन सके धनुषाको खजुरी स्टेसनलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने स्थानीय पत्रकार अवधेश कामतले बताए। यसबाट आर्थिक लाभसमेत उठाउन सकिने उनको भनाइ छ।
खजुरीका स्थानीय मनोज साहले संग्रहालय निर्माणका लागि पहल सुरु गरेको बताए। यसका लागि विभिन्न निकायमा पुगेको उनको भनाइ छ।
खजुरीमा नेपाल रेल्वेको १० बिघाभन्दा बढी जग्गा छ। त्यो जग्गालाई उपयोग गरेर संग्रहालय निर्माण गर्न सकिने स्थानीय बताउँछन्।
रेल्वेका पूर्वकर्मचारी गुणनन्द झाले रेलका पुराना इन्जिन तथा संरचना जोगाउन संग्रहालय बनाउन माग गरिएको बताए। ती इन्जिन तथा संरचना यथास्थानमै राखेर संग्रहालय बनाउनु पर्ने उनको माग छ। इन्जिन तथा संरचना अन्यत्र लगिए कवाडको भाउमा बिक्री हुन सक्ने उनी आशंका गर्छन्।
असोज ११, २०७७ आइतबार १३:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।