‘डाक्टर नभएको भए साहित्यकार बन्थेँ !’
डा.शेरबहादुर पुन संक्रामक रोग विशेषज्ञका रुपमा चिनिन्छन्। रोग अनुसन्धानबारे बढी केन्द्रित हुने उनी अध्ययन गर्न रुचाउँछन्। तिनै पुनसँग ‘उकेरा’ले जीवन र भोगाइका विषयमा कुराकानी गरेको छ। प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सम्पादित अंश :
तपाईंको पृष्ठभूमि बताइदिनुस् न?
मेरो जन्म बाग्लुङको पाण्डुखानी गाउँमा भएको हो। मेरो प्रारम्भिक शिक्षा त्यहीँ गाउँबाट सुरु भएको थियो। बुबा ब्रिटिस आर्मीमा भएकाले थप अध्ययन हङकङमा भयो। नेपाल फर्केपछि बाँकी शिक्षा लेबोरेटोरी उच्च माविबाट पूरा भएको हो। बेलायत सरकारको छात्रवृत्तिमा तत्कालीन सोभियत संघमा मेरो चिकित्सा शिक्षा सन् १९९९–२००० पूरा भयो। अध्ययन सकेपछि नेपाल फर्की शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मेडिकल अधिकृतको रुपमा काम सुरु गरेको थिए।
बाल्यकालको समय कसरी बित्यो?
गाउँमा साथी भाइसँग डन्डीबियो खेल्ने, भकुन्डो बनाएर खेल्ने, घुम्ने गरिन्थ्यो। हङकङमा हुँदा विशेषतः खेलकुदमा रुचि थियो। खेलकुदमा सर्वोत्कृष्ट हुन्थें। पौडीमा विभिन्न देशका बालबालिकासँग प्रतिस्पर्धा हुँदा प्रथम भएको सम्झना अझै ताजै छ। त्यस्तै, स्पेलिङ कन्टेस्ट, हाजिरीजवाफ तथा अरु विभिन्न प्रतिस्प्रर्धामा सधैंजसो प्रथम हुन्थें। कक्षामा सधैं प्रथम हुन्थें। एक पटक कक्षामा दोस्रो भएँ। शिक्षकले मलाई तिम्रो समकक्षीले जित्यो भनेर जिस्काएपछि म फेरि अर्को परीक्षामा बसें। प्रथम पनि भएँ। नेपालमा हुँदा विशेषतः रेडियो नेपाल सुन्ने गर्थें। बाल कार्यक्रम मेरो सबैभन्दा रुचिको कार्यक्रम हुन्थ्यो। बाल गीत, बाल नाटक, कथा, कविता र हाजिरी जवाफ रुचिका साथ सुन्ने गर्थें। एक पटक विद्यालयमा कविता प्रतियोगितामा दोस्रो हुँदा दंग परेको थिएँ। यस्तै, रेडियो नेपालबाट प्रशारण हुने ‘कृषि कार्यक्रम’ पनि मन पर्थ्यो।
तपाईं कसरी चिकित्सा शिक्षातर्फ आकर्षित हुनुभयो?
मेरो मन अलि कमलो छ जस्तो लाग्छ। अहिले पनि कुनै मानिस वा पशुपंक्षीले दुःख पाएको देख्दा आँसु आउने गर्छ। र, धेरैलाई सहयोग पनि गर्ने गर्छु। सहयोग गर्ने विभिन्न तरिका र माध्यममध्ये स्वास्थ्य पनि एक हो। सायद त्यसैले होला म चिकित्सा शिक्षातिर आकर्षित भएको। यो पेशामा सन्तुष्ट छु र रमाइरहेको पनि।
तत्कालीन सोभियत संघको छात्रवृत्तिमा एमबिबिएस र जापानको छात्रवृत्तिमा पिएचडी गरेर नेपाल फर्किनुभयो, कसरी छात्रवृत्तिमा पढ्ने अवसर मिल्यो? तपाईंको पढाई र अनुभव सेयर गरिदिनुस् न?
बुबा ब्रिटिस आर्मीमा सेवा गरेको हुँदा बेलायत सरकारको सैनिकका छोराछोरीलाई शैक्षिक छात्रवृत्तिको अवसर दिन्थ्यो। भारतीय सेनामा काम गरेका छोराछोरीको लागि पनि छात्रवृत्तिको अवसर हुन्छ भनेको सुनेको छु। तत्कालीन सोभियत संघमा चिकित्साशास्त्र (एमबिबिएस) पढ्न मैले पनि बेलायत सरकारमा निबेदन दिएको थिए। अरु पनि अवकासप्राप्त सैनिकका छोरारछोरीले पनि निवेदन दिएका थिए। त्यसमा छनोट भएर मलाई पढ्ने अवसर मिल्यो। यो छात्रवृत्ति पाउन वार्षिक प्रगति विवरणमा उत्कृष्ट नतिजा भएको हुनु पर्थ्यो। जापान सरकारको छात्रवृत्ति पाउन प्रारम्भिक छनोट यहीबाट भए पनि सो देशमा गएर पनि प्रवेश परीक्षा उत्तीर्ण हुनु पर्ने भएकाले त्यो परीक्षाको नतिजा राम्रो आएपछि मात्र जापान सरकारको छात्रवृत्ति स्वीकृत भइ सन् २००४ बाट पढाई सुरु गरेको थिएँ। पिएचडीपछि पनि जापान सरकारले पोस्ट डक्टोरेट फेलोसिप प्रदान गरिएको थियो। यो जापान सरकार र विश्वको नै सबैभन्दा प्रतिष्ठित, उत्कृष्ट र आर्थिकरूपले आकर्षक फेलोसिप हो। तर, जापान सरकारको पोस्ट डक्टोरेट फेलोसिप अस्वीकार गरेर मैले नेपालमा नै सेवा गर्ने निर्णय गरेँ।
जापानमा पिएचडी गर्दा म रातको दुई–तीन बजे (खास अर्को दिनको बिहान)तिर सुत्न विश्वविद्यालयबाट फर्किन्थें। अनि खाना पकाएर नुवाइधुवाई गरेर सुत्थेँ। झन्डै तीन घण्टा जति सुतेपछि फेरि आफ्नो डिपार्टमेन्टमा पुग्थें। त्यहाँ बिहानको मिटिङ हुन्थ्यो। सबैले आ-आफ्नो प्रगति विवरण सुनाउनु पर्थ्यो। त्यसपछि आफ्नो प्रोजेक्टमा संलग्न हुनु पर्थ्यो। त्योबाहेक बुक क्लब भन्ने हुन्थ्यो, जसमा सरुवा रोगबारे प्रस्तुतीकरण दिनु पर्थ्यो। जापानमा मेडिकल विद्यार्थी हुँदा नै अनुसन्धानसम्बन्धी तीन महिने तालिम लिनु पर्ने हुन्थ्यो, जुन हाम्रो डिपार्टमेन्टमा पनि हरेक वर्ष केही विद्यार्थी आउने गर्थें।
उनीहरूको जिम्मेवारी पनि मलाई नै दिने गरिन्थ्यो। दिन रात थाहा हुँदैनथ्यो। कहिलेकाहीँ आफू कहाँ छु भन्नेसम्म पनि लाग्थ्यो। बिहानको खाना खाएको र नखाएको बेलामा बिर्सिने गर्थें। कतिसम्म भने आफ्नो नेपाली साथीसँग झन्डै तीन महिना कुनै सम्पर्कसमेत नभएको सम्झदा अहिले पो अचम्म लाग्छ।
नाइजेरियाका प्राध्यापक क्यान्टिनको बगैँचामा जहिले भेट हुँदा ‘डा.पुनको टाउकोमा एटम बम छ, पड्किन्छ है’ भनेर जिस्किने गर्थें। किनभने त्यो बेला म अत्यधिक काम र पढाईको चापले एकछिन आराम गर्न पाउँदैनथे। वास्तवमा भन्नुपर्दा मेरो जापान पढाई सबैभन्दा व्यस्त, कडा मेहनत, उत्कृष्ट र सन्तुष्टिको संगम थियो। म त्यहाँ हुँदासम्म कुन देशमा छु भनेर पत्तो नै पाइएन।
यो पेशामा लागेपछि बिर्सिनै नसक्ने त्यस्ता कुनै पलहरू छन्?
यो पेशामा पनि विशेष गरेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रहँदाका क्षण कहिल्यै नबिर्सने खालका छन्। नेपालमा पहिलो पटक एचआइभी र एड्सको औषधी प्रयोग सुरु गर्दाको क्षण एक ऐतिहसिक क्षण थियो जस्तो लाग्छ। र, म नेपालमा एचआइभी र एड्सको बिरामी हेर्ने चिकित्सकमध्येको पहिलोमा पर्छु। यस्ता बिरामीको ढाडको पानी निकाल्ने (टेस्टको लागि), ओपिडीमा स्वास्थ्य परीक्षण गर्ने, औषधी दिने आदि काममा म अगाडि नै रहेँ। गर्मी मनसुन सिजनमा झाडापखालाका बिरामी घन्टामा नै ४०–५० जनासम्म भर्ना हुने गर्थे। सिजनमा अर्थात् गर्मी र वर्षातमा रातभर उपचारमा खटिनु पर्थ्यो। र, धेरैजसो समय नाइट ड्युटीमा आँखा झिमिक्क गर्ने फुर्सद पनि हुँदैनथ्यो। बिरामी खचाखच हुँदा भुइँमा राखेर उपचार गर्नु पर्थ्यो। स्लाइन पानी भित्तामा ठोकेर बिरामीलाई उपचार सेवा दिनु पर्थ्यो।
एक घण्टा वा ४५ मिनेटमा हरेक बिरामीको अवस्था हेर्दै डिस्चार्ज गर्दै नयाँ बिरामीको लागि ठाउँ खाली गर्नु पर्ने हुन्थ्यो। एक पटक काठमाडौंका एक बिरामी झाडापखाला लागेर मृत्यु हुँदाको क्षण अलि दुःखलाग्दो नै थियो। हुनत कुनै पनि रोगबाट कोही मर्नु हुँदैन। तर, ती बिरामी अस्पतालदेखि केही मिनेटको दूरीमा रहेको र एकछिनपछि जान्छु भन्दै ढिलाइ गर्दा झाडापखालाको जटिलताबाट मृत्यु भएको थियो। तर, हाल यस्तो अवस्था छैन। तराईबाट उपचारका लागि कालाजारका बिरामी अत्यधिक मात्रामा आउने गर्थे। उनीहरूको एकैपटक बस रिजर्भ गरेर आउने गर्थे। र, जाने बेला हामीसँग पनि यातायात खर्च माग्ने गरेको याद आउँछ। अस्पतालका स्टाफले पनि सहयोग गर्थे। त्यो बेला खोप नहुँदा जापानिज इन्सेफालाइटिसका बिरामी ढिला आइपुग्दा धेरैको ज्यान जाने गरेको अहिले पनि हिजो जस्तो लाग्छ।
सन् २००२/२००३ मा सार्स कोरोना भाइरस विश्वव्यापीरूपमा फैलँदा नेपालमा पनि त्यसको त्रास बढेको थियो र त्यो बेलामा मेडिकल अधिकृतको रुपमा काम गर्दा हाल कोभिड–१९ को जस्तै माहोल थियो। त्यो बेला मलगायत बरिष्ठ चिकित्सक सहितको टोलीले शंकास्पद सार्सका बिरामीको अनुगमन, परामर्श तथा उपचार गर्ने गर्दथ्यौँ। नेपालमा एचआइभी र एड्सका बिरामीको उपचार गर्दा र औषधी सुरु गर्ने पहिलो चिकित्सकमध्येमा एक हुन पाएको घटना पनि मेरो लागि दुर्लभ नै मान्छु।
अमेरिकाको स्वास्थ्य संस्था सिडिसीका वरिष्ठ वैज्ञानिक नेपाल आएको बेला मेरो भेट भएको थियो। सो समय मेरो काम गर्ने तरिका र खटेको देखेर ‘यस्तो अनुसन्धानकर्ता त सिडिसीमा हुनुपर्ने हैन’ भन्दै एक अर्कालाई मुखामुख गरेको क्षण बिर्सन सकिन्न। जापान सरकारको सबैभन्दा उच्च र प्रतिष्ठित फेलोसिप पाउँदा पनि अस्वीकार गरेको क्षण पनि मेरो लागि सधैँ सम्झनलायक नै छ।
चिकित्सकीय पेशाका अड्चनहरू के–के देख्नुहुन्छ?
पहिले त सरुवा रोगबारे कुरा गरौँ। मेडिसिनमा सायद औँलामा गन्न सक्नेले नै यो विषयमा पढेको र चासो लिएका छन्। र, यदि पढेका नै भए पनि कुनै निजी र राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ संगठनमा काम गरिरहेका होलान्। अर्थात् उनीहरू प्रत्यक्ष खाली सरुवारोग बिरामीको सेवामा मात्र छैनन्। सरुवा रोग विशेषतः निम्न तथा मध्यम वर्गको वा गरिबहरूको रोगको रुपमा लिइन्छ। अर्थात् अरु विषयभन्दा यसमा कम आर्थिक लाभ हुन्छ। विकसित देशहरूमा सरुवा रोगको समस्या धेरै कमलाई हुने भएकाले त्यहाँ यसको विशेषज्ञ कम हुने नै भए।
विश्वमा पनि यसलाई बेवास्ता गरिएको रोग (नेगलेटेक डिजिज) को नामले चिनिने गरिन्छ। तसर्थ सरुवा रोग बिरामीहरूसँग प्रत्यक्ष रही उपचार गर्ने चिकित्सक नेपालमा अति कम छन्। थोरै सरुवा रोग विशेषज्ञ हुँदा कुनै ठूलो महामारी आउँदा नियन्त्रण गर्न गाह्रो हुन्छ। यस्ता प्रकोप वा महामारी केही अन्तरालको समयमा देखिने गर्छन् र नेपालमा पनि देखिरहेका छन्। सरुवा रोग उपचार गर्ने अस्पताल अरु अस्पतालभन्दा विशेष अन्तरिक बनावटका साथ बनेको हुनुपर्छ।
नेपालमा एक मात्र सरुवा रोग अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पनि विशेष सरुवा रोगको लागि उपचार गर्न मिल्ने गरी बनाइएको थिएन। अहिलेको समयमा देखिन सक्ने महामारीसँग जुध्न यो अस्पताल पूर्ण सक्षम नभएकाले आगामी दिनमा चुनौती थपिन सक्छन्। कोरोनाको महामारी चल्दै गर्दा यसको आवश्यकता महसुस गरिसकेको देखिन्छ। नेपालमा अरु अस्पताल विशेष गरेर छुँदा वा हावाबाट तीव्र गतिमा सर्न सक्ने सरुवा रोगको उपचार गर्ने तरिकाको संरचनाले बनाइएको छैन। केही समय सरकारले राष्ट्रिय सरुवा रोग अस्पताल बनाउने घोषणा त गरेको छ। तर, कहिले बनिसक्छ भन्ने समय अवधि भने खुलाइएको छैन।
नयाँ रोगबारे जानकारीबिना अनुसन्धान कल्पना पनि गर्न सकिँदैन। नेपालमा मेडिकल साइन्समा हुने अनुसन्धानले आजसम्म खासै प्राथमिकता पाएका छैनन्। विदेशी विश्वविद्यालयले नेपाललाई आफ्नो अनुसन्धान क्षेत्रको रुपमा भरपूर अधिकतम प्रयोग गर्दै राम्रा–राम्रा अनुसन्धान गरेका छन्। तर, नेपालमा रहेका विज्ञहरू आफैले अनुसन्धान गर्न सक्ने अवस्था अहिले पनि छैन। स्रोत साधन र अनुसन्धानकर्ताको कमीले नेपाल आफैले गर्न सक्षम हुन अझै समय लाग्ने देखिन्छ। हालसम्म पनि सरुवा रोग लक्षित अनुसन्धान केन्द्र छैन।
अहिलेको महामारीसँग जुध्न अनुसन्धान केन्द्रहरू खोल्न जरुरी भइसकेको छ। अनुसन्धान केन्द्रहरूमध्ये शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले अग्रिणी भूमिका खेल्न सक्ने छ। यसले दक्षिण एसियामा सरुवा रोग अनुसन्धानमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने छ। हाल स्थापित क्लिनिकल रिसर्च युनिटलाई विकास गरेर अनुसन्धान केन्द्र स्थापित गर्न सकिने छ।
तपाईंले सरुवा रोगको विधा नै किन रोज्नुभयो?
कुरा सन् २००१/२००२ तिरको हो, मैले पहिलो पटक मेडिकल अधिकृत भएर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काम सुरु गरेको थिए। सो समयमा बिरामीको चाप अस्पतालले धान्न नसक्ने देखिन्थ्यो। झाडापखाला (हैजा), कालाज्वरो, मलेरिया, टाइफाइड, जापानिज एनसेफलाइटिस आदि बिरामीको भीड हुने गर्थ्यो। त्यो बेला नसर्नेभन्दा सर्ने रोग अत्यधिक मात्रामा देखिने गर्थ्यो। यो मेरो अनुमानभन्दा धेरै थियो। यसमा निम्न तथा मध्यम वर्ग बढी पीडित हुने गरेको देखिन्थ्यो। तर, अहिले समय बदलिएको छ र रोग पनि।
अहिलेको सरुवा रोगले उच्च, मध्यम वा निम्न मध्यम भन्ने छैन। यस्तो फरक पहिले कामको प्रकृति र व्यक्तिगत सरसफाइमा भर पर्ने गर्थ्यो। हालको इमरजिङ सरुवा रोग, जस्तै : डेंगु, चिकुनगुनिया, फ्लु, एचआइभी र एड्स, कोरोना आदि जो कोहीलाई लाग्ने र एक्काइसौं शताब्दीमा देखिन सक्ने नयाँ–नयाँ महामारी विश्वको कुनै पनि कुनामा पुग्ने र ठूलो चुनौतीको रुपमा देखिने गर्छ। यो चुनौतीलाई सामना गर्ने र गर्नुपर्छ भन्ने आत्मविश्वासका साथ यो विधालाई रोजेको हुँ।
तपाईंको आगामी योजना के छ?
अस्पतालमा सरुवा रोग अनुसन्धान केन्द्र स्थापना गर्ने लक्ष्यसहित जापानबाट फर्केको थिएँ। यो लक्ष्य पूरा हुन अझै समय लाग्ने देखिन्छ। अझ भन्नुपर्दा यसको महसुस गर्न समय लाग्ने देखिन्छ। सायद नेपालमा विभिन्न कारणले अनुसन्धानलाई महत्त्व नदिनु नै यसको मूल कारण होला।
स्वास्थ्यमा मात्र नभई अरु विषयमा पनि अनुसन्धानलाई खासै महत्त्व दिएको वा दिलाउन सकिएको छैन। विदेशमा अनुसन्धान गर्ने संस्कृति बसिसकेकाले नयाँ–नयाँ खोज हुने गर्छ। नेपालीहरु विद्यावारिधि सकेपछि अनुसन्धान गर्ने उपयुक्त ठाउँ तथा वातावरण नहँुदा बाध्य भइ फेरि विदेश फर्कने गर्छन्। त्यस्तै, दक्षिण एसियामा नै सरुवा रोगको अनुसन्धान गर्ने उच्च प्रविधिका अनुसन्धान केन्द्र धेरै कम छन्।
यो ठाउँमा अत्यधिक मात्रामा सरुवा रोगहरू छन्। तसर्थ नेपालमा त्यस्तो सरुवा रोग अनुसन्धान केन्द्र स्थापना गर्न सके त्यसले अनुसन्धानमा अगुवाको भूमिका खेल्न सक्ने छ। नेपाली सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) स्थापना गर्नु पर्छ। यस्तो संस्थाले नेपालमा कुनै सरुवा रोग अचानक देखिए र त्यसको नियन्त्रण गर्न सक्रिय भूमिका खेल्न सक्ने छ। यस्तो संस्था विश्वमा धेरै देशमा स्थापित भइसकेका छन्। र, कुनै महामारी देखिए त्यसलाई समयमा नै नियन्त्रण गर्न यस्ता संस्थाहरूको मुख्य भुमिका देखिन्छ। यस्तो संस्थाको परिकल्पना गर्दै गर्दा सरुवा रोगसम्बन्धी अस्पतालको व्यवस्था हुनु पनि अति जरुरी हुनेछ। हालको एक मात्र सरुवा रोग अस्पताल स्थापनाकालदेखि जुन स्रोत साधन छ, त्यसैमा अहिले पनि आधारित भएको छ। आजको दिनसम्म आइपुग्दा केही जनशक्ति र भौतिक संरचना थपिए पनि हालको भारी जनघनत्वको अवस्थालाई हेरेर अपुग नै छ।
अझ आगामी दिनमा देखिन सक्ने नयाँ–नयाँ महामारीसँग लड्न पूर्ण सक्षम पनि छैन। तसर्थ, नयाँ थप शैयासहित अत्याधुनिक सरुवा रोग अस्पतालको स्थापना अनिवार्य भइसकेको छ। आगामी दिनमा अस्पतालभित्र वा बाहिर जहाँ बसेर भए पनि सरुवा रोग सम्बन्धमा योगदान दिनेछु भन्ने लाग्छ।
हाइटीमा नेपाली सेनाले हैजा नफैलाएको पुष्टि गर्ने डाक्टरका रुपमा पनि तपाईंलाई चिनिन्छ। यसको पृष्ठभूमि बताइदिनुहोस् न?
सन् २०१० को अक्टोबरमा हाइटीमा हैजाको महामारी फैलियो। त्यसअघि हाइटीमा हैजा फैलिएको इतिहास थिएन। तसर्थ महामारी फैलिनुको स्रोतको खोजी हुन थाल्यो। यो स्वभाविक थियो पनि। यो महामारी हाइटीमा मात्र नभइ विश्वको लागि चासो र बहसको विषय बनेको थियो।
फ्रेन्च अनुसन्धानकर्ताको अगुवाईमा यो महामारीबारे अध्ययन सुरु भएको थियो। अनुसन्धानको निचोडले स्रोत नेपाल भनिएको थियो। उनीहरूको अनुसन्धानले नेपाली सेना बसेको क्याम्पलाई स्रोतको रुपमा लिएको थियो। नेपाली सेनाको ढल खुलारूपमा नदीमा मिसेको र सो नदीको पानी पिएर मानिसमा हैजा देखिन सुरु भएको निष्कर्ष त्यो अनुसन्धानको थियो। नेपाली सेनाको क्याम्पको ढलबाट हैजा सो नदीमा मिसिएको अनुमान उनीहरूको थियो। यही समय नेपाली शान्ति सेनाको अदलबदल हुँदा नेपालबाट हाइटी गएका सेनाले हैजाको किटाणु लगेको हुनसक्ने अनुमान गरिएको थियो। तर, युएनले त्यहाँ पुगेको नेपाली शान्ति सेनाको दिसाको जाँच गर्दा हैजाको किटाणु नभेटिएको र बिरामी पनि कोही नभएको सार्बजनिक गरेको थियो।
लगत्तै अर्को अनुसन्धानमा नेपालमा देखिएको हैजाको जिन र हाइटीमा देखिएको हैजाको जिन मिल्दोजुल्दो देखिएकाले नेपालबाट नै हैजा आयातित हुनसक्ने निष्कर्ष सहितको लेख प्रकाशित भएको थियो। यी दुवै लेख वैज्ञानिक वृत्तमा चर्चा पनि पाएका थिए। यो दुवै लेखको खण्डन र खण्डन गर्नुका आधारहरूसहित उक्त मेडिकल जर्नलमा नै मैले लेख प्रकाशित गरेको थिएँ। सो खण्डनले वैज्ञानिक वृत तात्तिएको थियो।
सबैभन्दा धेरै पटक पढिएका ५० लेखमध्ये मेरो लेख आठौँ स्थानसम्म पुगेको थियो। वास्तवमा मलाई यस्तो लागिरहेको थियो कि त्यो लडाइँ ‘डा. शेरबहादुर पुन भर्सेस द रेस्ट अफ द वल्र्ड’। किनभने विश्वका सारा वैज्ञानिकहरुले नेपाललाई नै हाइटीमा देखिएको हैजाको स्रोत मानिरहेका थिए। तर, यसैबीच एक अमेरिकी वैज्ञानिकको समूहले हाइटीमा देखिएको हैजासम्बन्धी लेख निकाल्यो, जसमा त्यहाँ देखिएको हैजा नेपालबाट नभइ त्यही स्थानीय स्तरमा विकसित भएर महामारीको रुप लिएको निष्कर्ष निकालेका थिए।
सो लेखमा मेरो लेखको विचार पनि समावेश गरिएको थियो। सो अनुसन्धानकर्ताले हैजाको अनुसन्धानमा झन्डै तीन दशक जीवन बिताएका थिए भने स्वास्थ्य विज्ञानमा पुर्याएको कामको उच्च मूल्यांकन गर्दै अमेरिकी राष्ट्रपतिबाट त्यहाँको सबैभन्दा उच्च नागरिक स्वर्ण पदकसमेत प्राप्त गरेका थिए। फ्रेन्च अनुसन्धानकर्ताको समूहले हाइटी–नेपाल हैजाको सम्बन्ध देखाउनुमा सो समयमा अंग्रेजी दैनिक पत्रिकाहरूमा प्रकाशित समाचारहरूलाई आधार मानेको देखिन्थ्यो भने अर्को लेखले केही समय अगाडि नेपालमा देखिएका हैजाको जिनसँग तुलना गरेर निष्कर्ष निकालेको थियो।
तपाईं चिकित्सक नभएको भए कुन पेशा गर्नुहुन्थ्यो होला?
यसै त भन्न सकिँदैन। तर, मलाई अन्तरिक्ष र साहित्य मनपर्ने भएकाले सायद त्यतैतिर हुने थिए की !
कोरोना भाइरस संक्रमितको संख्या ५० हजार नाघिसकेको छ, तपाईंको आँकलन के छ र अब के गर्नुपर्छ?
यो बढ्ने क्रम जारी छ। तत्काल यो फैलने र रोकिने अवस्था देखिँदैन। मानिसको चलायमान, फितलो परीक्षण, ट्रेसिङ र मानिसहरूको जनस्वास्थ्य मापदण्डप्रति चासो नदेखिनु नै कोरोना फैलिनुको मुख्य कारण मानिन्छ। तसर्थ यो कमजोरीलाई नै सरकारले सच्याउनु पर्ने देखिन्छ। योभन्दा ठूलो कुरा नागरिक स्वयंले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नुको विकल्प छैन।
असोज ११, २०७७ आइतबार ११:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।