कोशीमा आकस्मिक सेवा निःशुल्क

कोशीमा आकस्मिक सेवा  निःशुल्क

 गरिब, असहाय, बेवारीसे र तत्कालै उपचार सेवा गराउनु पर्ने विरामीलाई लक्षित गरी आकस्मिक सेवा निःशुल्क उपलब्ध गराउन थालिएको हो।

उपचार सेवा नपाएर मर्नु पर्ने अवस्थाको अन्त्य गर्न अस्पतालमा  आकस्मिक सेवा निःशुल्क गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट(मेसु) डाक्टर चुमनलाल दासले जानकारी दिए। 

उनले भने,‘अबकसैले पनि उपचार नपाएर मर्नु पर्ने छैन।’ उनका अनुसार यो सेवा असोज ८ गतेदेखि अस्पतालले उपलब्ध गराउन थालेको हो।

अस्पतालले आकस्मिक सेवा निःशुल्क प्रदान गरेपछि असहाय, बेवारीसे, अत्यन्त गरिब, वेखर्ची भएका तथा  दुर्घटनामा परेका विरामीहरू लाभान्वित हुनेे छन्। अस्पतालमा आकस्मिक सेवा लिनेहरूले औषधिसहित,ल्याव, एक्सरेलगायतका सेवाहरू समेत निःशुल्क पाउने छन्।

अस्पतालले आकस्मिक सेवा उपलब्ध गराउँदा लागेको सम्पूर्ण खर्च स्वास्थ्य मन्त्रालयले अस्पताल विकास समितिलाई उपलब्ध गराउने छ। 

अस्पताल र स्वास्थ्य मन्त्रालयबीच निःशुल्क आकस्मिक सेवा उपलब्ध गराउने विषयमा सम्झौता भएर कार्यक्रम कार्यान्वयनमा आएको अस्पतालले जनाएको छ।

प्रारम्भिक आकस्मिक सेवा पाएर पनि अरु थप उपचार गर्नु परेको अवस्थामा अस्पतालको सामाजिक सेवा इकाइबाट थप उपचारको व्यवस्था गरिने मेसु डा.दासले जानकारी दिए।

अस्पतालले आकस्मिक सेवा लिन आउने विरामीका लागि टिकट काट्नु नपर्ने व्यवस्था गरेको छ। यस्ता विरामीलाई अस्पतालले सञ्चालन गरेको फर्मेसी मार्फत औषधि उपलब्ध गराउने व्यवस्था गरिएको छ। 

अस्पतालले उपलब्ध गराउने औषधि, ल्याव, एक्सरेलगायतका सेवाको रकम अस्पताल विकास समितिको खातामा क्रेडिट भएर बस्ने र सो रकम  अस्पताल विकास समितिले स्वास्थ्य मन्त्रालयलाई दाबी गरेर भुक्तानी लिने मन्त्रालयसँग सम्झैता भएको डा. दासले बताए ।   

प्रारम्भिक आकस्मिक सेवा सञ्चालनमा आउनु अघि अस्पतालको गेटमा वेवारीसे विरामीहरू छटपटाउनुपर्ने बाध्यता थियो। यस्तै आफन्तको टुंगो नभएका विरामीको उपचारसमेत हुन्थ्येन।

सरकारले प्ररम्भिक आकस्मिक सेवा निःशुल्क गरेपछि आधारभूत स्वास्थ्य सेवाबाट कोहि पनि बञ्चित नहुने अस्पतालका मेसु दासले दाबी गरे।

असोज ११, २०७७ आइतबार ००:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।