कविता : अस्तित्व

कविता : अस्तित्व

सबैसँग हारिएर उनीहरुको जितमाथि 
थपडी मारीमारी नाच्न आएकी मान्छे हैन म ।
दमनलाई स्विकारेर खोट लगाउँदै भाग्य माथि 
गुनासो नै गुनासोमा जीवन बिताउन जन्मेकी मान्छे हैन म ।
आँसुहरुलाई कोशौं टाढा अपरिचितको संज्ञामा राखी 
ओँठमा मुस्कान र मनमा हर्षहरुलाई साँची  ।
जस्तोसुकै परिस्थितिमा पनि खुसी भएर बाँच्न 
हराउन तत्पर भएकाहरुसँग प्रतिकार गरी जित्न ।
दृढ विश्वासका साथ परिश्रमलाई अँगाली 
सम्भावना र आशाका किरणहरुलाई मूलमन्त्रको रुपमा सँगाली ।
दुःख र निराशाहरुलाई परचक्री ठानी 
मनमा पङ्गकिलपन भएकाहरुलाई कोशौं टाढा राखी  ।
सफलताहरुलाई आफूतिर आकर्षण गरेर 
आरिस गर्नेहरुबाट अलिक टाढा सरेर 
हरपल उल्लाशमय र खुसी जीवन जिउन 
हरेक दिनलाई उत्कृष्ट बनाई रमाउन 
जन्मेकी मान्छे हुँ म ।
सपनाहरुलाई मिहिनेतले विपनीमा परिणत गर्न 
अथक प्रयासहरुबाट सार्थक बनाउन 
सत्यतामा अडिग भएर 
हरेकपल सत्चरित्रको मार्गलाई अनुसरण गर्दै 
जिउन आएकी मान्छे हुँ म ।
जिउन आएकी मान्छे हुँ म ।


 

असोज १०, २०७७ शनिबार १५:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।