सामाजिक इतिहासको चिर्कटो :  स्मृतिकथामा सत्त्व

सामाजिक इतिहासको चिर्कटो :  स्मृतिकथामा सत्त्व

वर्ग, समुदाय, जात र यौनिकताका कारण बहिष्करण र विभेदमा परिरहेकाहरु बग्रेल्ती छन् हामी छेउ । र त्यस विभेदपूर्ण भोगाइमा केही न केही भाग्गेदारी हामी सबैको नै छ । अर्चना थापाद्वारा सम्पादित पुस्तक स्मृतिकथामा सत्त्वले हामीमाझकै भिन्न जीवन भोगाइ भएका चौबीसजनाको स्मृतिकथालाई समेटेको छ ।

विश्व जगतले स्मृति कथनलाई विशेष महत्वका साथ हेर्न थालेको निकै भइसक्यो । नेपालमा ढिलै भए पनि अब काम थालिएको छ ।यसैको उदाहरण हो, यो पुस्तक । स्मृतिकथाले कसैको अस्तित्व, जीवन र पहिचानको संघर्षको कथासँगै सामाजिकता र सामयिकता पनि बाहिर ल्याइदिन्छ । ती कथाहरुमा तत्कालीन समाजको सामयिक चेतना र समाजको परिदृश्य समेटिने हुनाले यसलाई वैकल्पिक इतिहास लेखनको एक पाटोको रुपमा पनि लिन सकिन्छ । यस पुस्तकमा समेटिएका विभिन्न व्यक्तिका निजी भोगाइले नेपाली सामाजको मनोविज्ञानलाई पनि उजागर गरिदिएको छ । 

यौनिक अल्पसंख्यकका कुरा

व्यक्तिको अस्तित्वसँग जोडिएको यौनिक परिचय आजको एक पेचिलो मुद्दा हो । महिला पुरुष इतरको यौनिकतालाई स्वीकार नगर्ने सामाजिक मनोविज्ञानले धेरै यौनिक अल्पसंख्यकहरुको मानमर्दन र मानव अधिकारको हनन गरेको छ । स्मृतिकथाले यौनिक परिचयको स्थापनामा संघर्षरत केही व्यक्तिको संघर्ष कथा समेटेको छ ।

अनुज पिटर, पिङ्की गुरुङ र सुदीप गौतमले फरक यौनिक परिचयका लागि परिवारभित्र र बाहिर समाजमा गर्नु परेको लडाइँ साह्रै मार्मिक छन् । खोटाङको दिक्तेलमा जन्मिएका अनुज पिटरमा केटीकोजस्तो (मानिएको) गुण भएका कारण स्कुलका साथीहरुबाट सधैँ खिसिट्युरीमा पर्थे । दिदी बहिनीसँग अति मिल्ने उनलाई पछि त परिवारबाट राम्रै भयो तर पहिला भने बिहेको दबाब दिई आफन्तहरुको मिलेमतोमा इन्गेजमेन्ट गर्न बाध्य पार्नेसम्मका घटना भए । तर उनले त्यस सम्बन्धलाई अघि बढाउन सकेनन् । नीलहीरा समाजसँग आबद्ध भएपछि भने उनलाई आफू समलिङ्गी पुरुष हुँ भनी सार्वजनिक हुन सहज भयो । 

पिटरको सकस जस्तै छ यौनिक अल्पसंख्यक पिङ्की गुरूङको कथा पनि । लमजुङमा जन्मिए पनि हुर्काइ काठमाडौंमा भएको उनी भिन्न यौनिक व्यवहारका कारण कतिपटक कुटपिटमा पनि परेकी छिन् । एक समय फूपूको छोरीसँग बिहे गर्नुपर्ने भयंकर दबाब परे पनि पछि परिवारले उनको मर्म बुझिदिए । आफ्नो यौनिकताका बारे टेलिभिजनमा अन्तर्वार्ता दिएपछि सन् २००८ बाट भने उनी पूर्णरुपमा केटी भई हिँड्न थालेकी छिन् । तर परिचय यात्रा उनका लागि निकै सकसपूर्ण थियो । संघर्षपूर्ण समयको प्रतिफल आज उनी नील हीरा समाजकी अध्यक्ष छिन् । आजकल राजनीतिमा पनि लागेकी उनी आफूलाई ट्रान्सउमन भनी चिनाउँछिन् । समलिङ्गी समाजलाई वैवाहिक मान्यता दिलाउन, यौनिक विविधताको पहिचान र राजनीतिक अधिकार स्थापनाका लागि निरन्तर आवाज उठाइरहेकी छिन् । 

छोरी भए पनि सानैबाट छोराजस्तै हलो जोत्ने घरमा छोरा मान्छेले गर्ने सबै काम गरिदिने हेटौँडाकी सुदीपा गौतमको परिचय स्थापनाको सकस ठूलो थियो । स्कूल पढ्दापढ्दै आफ्नै कक्षाको केटी साथीको प्रेममा परेका उनीहरुलाई समाजले नस्वीकार्दा विष सेवनसम्म गरिन् । सौतेनी मामला भएको घरको सदाको किचलो र समाजको नमीठो व्यवहारले आजित भएर गाउँ छाडी काठमाडौं पसिन् । सन् २०११ मा नील हीरा समाजसँग जोडिएपछि उनले आफ्नो जीवनको लक्ष्य र यौनिकताका विषयमा खुला भई अगाडि बढ्न सकेका छन् । सुदीपाबाट सुदीप बन्नुको उनको संघर्षको कथाले नेपाली सामाजको संकुचित चरित्रलाई प्रस्ट पारिदिन्छ । आज उनी आफूलाई ट्रान्सम्यान भनी परिचित गराउँछन् । 

फरक यौनिकता भएका यी तीन व्यक्तिले आफ्नो परिचय स्थापनार्थ लामो संघर्ष यात्रा तय गरेका छन् । समाजको संकीर्णता र पितृसत्ताले स्थापना गरेको महिला पुरुषको दुईलिङ्गी संरचनाले त्यस इतरको यौनिकतालाई अझै सहजरुपमा स्वीकार्न सकेको छैन । आज कानुनतः अरु नागरिकसरह हक अधिकार पाए पनि सामाजिक व्यवहारमा खास परिवर्तन आउन सकेको छैन । नील हीरा समाज, मितिनी नेपाल लगायत यौनिक अल्पसंख्यकको हकहित अधिकारका लागि धेरै संस्थाहरु निरन्तर संघर्षरत छन् । स्मृतिकथामा सत्त्वले फरक यौनिकता भएका उनीहरुको नित्तान्त व्यक्तिगत अनुभूति प्रस्तुत गरी परिचयको मुद्दालाई बल प्रदान गरेको छ ।

हामी धेरैका कुरा

संरचनागत लाभांशको माथ्लो तहमा पर्छन् पुरुषहरु भने महिलाहरु सहायकमै थन्किन्छन् । अझ महिलाभित्र पनि अनेक भिन्नता छन् र उही अनुसारका सामाजिक व्यवहार बेहोरिरहेका छन् । यस पुस्तकले विभिन्न जाति र वर्गका महिलाको विविध भोगाइ उठाएको छ । आदिवासी जनजाति समुदायका कैलाश राई, बिना थिङदेखि लाक्पा फुटी शेर्पाका जीवनका केही पक्षहरु उजागर गरेको छ । मधेसी समुदायकी रीता साह साथै दलित समुदायका धनकुमारी सुनार र पवित्रा सुनारका भोगाइहरू पनि मार्मिकताका साथ आएका छन् । 

पुस्तकमा केही पुरुष भोगाइ पनि पाइन्छ । पुरूषत्वको सामाजिक मान्यताले पिरोलिएका सञ्जीव उप्रेती र रुद्र चुडालदेखि स्मृति नै गुमाएका दौलत झाको विस्मृति कथाको मर्म एकातिर छ भने बिवणु सापकोटाको ठाउँ विशेषको सम्झना साथमा बहुत कट्टर र जातिवादी परिवार र परिवेशमा हुर्किएका प्रमोद मिश्रका संगीन भोगाइ पनि यसभित्र छन् । यी पात्रहरु कुनै न कुनै क्षणमा पितृसत्तात्मक सामाजिक मान्यताको कठघरामा उभ्याइएका छन् । बेसक, पितृसत्ता दुईधारे तलवार हो जसले यस समाजका सबै तह तप्का, जात, वर्ग, लिङ्गलाई केही न केही मात्रामा चोट पारेकै देखिन्छ । पितृसत्तात्मक मान्यताको कसिले महिला मात्र नभई पुरुषलाई पनि बेस्सरी बाँधेकै छ । 

अन्य जातिका महिलाहरुभन्दा सामाजिक सांस्कृतिक संरचनाका हिसाबले ओभानै ठाउँ ओगटेका खस आर्य महिलाका अत्यन्त कसिला अनुभवहरू यस पुस्तकमा आएको छ । श्रीमान्को देहावसानपछि रञ्जना निरौलाले बेहोरेको परिवारको बुहार्तन, साच्चै कथा जस्तो मात्र लाग्छ । तर त्यो कुनै काल्पनिक कथा नभई काठमाडौंका एक शिक्षित र धनी घरकी बुहारीले बेहोरेको यथार्थ हो । परिवार पूरै वैरी भएपछि आफ्ना दुई छोरीसहित घर छाड्नुको विकल्प रहेन उनलाई । आज पनि उनी सम्पत्तिका लागि लडिरहेकी छिन् । संकीर्ण सामाजिक मान्यता र ढोँगी परिवारको कारण उनले यी नमीठा भोगाइहरू मनभरि लिएर न्यायको ढोका ढक्ढकाउन बाध्य छिन् ।

उनको ‘पीडादेखि सपनासम्म’ मा पोखिएका पीडा खासमा धेरै एकल महिलाले भोगिरहेकै व्यथा हो । उनी सम्झिन्छिन् परिवारले लाएका वचन । उनीहरु भन्थे ‘छोरीहरू लिएर पोइला जा’ (पृ.१५८)। महिलाको अस्तित्वमाथिको योभन्दा ठूलो उपहास के होला ? लोग्ने मरेकै दिनदेखि सकिजाने रैछ त्यस घरपरिवारसँगको नाता पनि । निरौलाको तीतो भोगाइ हाम्रो समयको एक बिझ्ने काँडा हो । महिलालाई अझै लोग्नेको अस्तित्वसँग मात्र जोडी हेर्ने एक अपराधी दृष्टिकोणका शिकार हुन् रञ्जना । 

साली ताक्ने भिनाजुको प्रवृत्ति यही पितृसत्तात्मक समाजको देन हो । प्रभा बराल त्यस्तै भिनाजुकी साली हुन् जसले दिदीको मृत्यु भएपछि भर्खर जन्मेको छोराको बहाना गरी धेरै पछिसम्मै उनको पछि लागिरहेका थिए । छोरी जन्मँदा अत्यन्त दुःखी भई सुत्केरी आमालाई बेवास्ता गर्ने प्रभादेवी कैनीका बुवा जस्ता पात्रहरु आज पनि छन् जो छोराका लागि मरिमेट्छन् । वंश धान्न र वैतर्णी पार गराउन छोरा चाहिने मान्यताले गाँजेको हिन्दु समाज अझै त्यस रुढीभावबाट ग्रस्तै छ । छोरी भ्रुण हत्याको अत्यासलाग्दो समयका हामी नै त हौँ साक्षी । 

देवकी विष्ट र रोजिता बुद्धाचार्यको विशेष यात्राका बखत भएको रजश्वला अनुभव महिला भोगाइकै एक पाटो हो । पासाड. ल्हामु शेर्पासँग सगरमाथा आरोहणमा निस्किएकी लाक्पा फुटी शेर्पाको पूरा हुन नसकेको यात्रा कथा र त्यस बीचका उतारचढाव एक विशिष्ठ अनुभूतिका पल हुन् । फरुवाको लयमा जीवनका केही पलहरु बिताएकी सरिता तिवारीको आँटी, हठी र कर्मशील समय वर्णनले यस स्मृति कथामा नयाँ स्वाद थपिदिएको छ । दुर्गा कार्कीको किशोरकालीन साथी संगती, भेटाई छुटाइका कुरा होस् या विनिता बरालको मोडलिङ र सिनेमा क्षेत्रमा संघर्ष गर्दाका अनुभव, ती जीवन्त उभिएका छन् । नारायणी देवकोटाले पढाइका मामलामा थामेको असफलताका पहाडहरु एकातिर छन् भने अर्कातिर उनको हिम्मत अग्लो छ जसले उनलाई अघि बढिरहन मद्दत गरेको देखिन्छ । राधा पौडेलको विद्रोही बानी व्यवहार खासमा आजका छोरीहरुले लिनुपर्ने बाटो हो । दागबत्ती छोराले नै दिनुपर्ने मान्यतालाई चुनौती दिँँदै आमाको दागबत्ती उनैले दिन लिएको अडान सामान्य होइन । यस्तै फरक अनुभवहरु संगालिएका छन् यस पुस्तकमा । 

सांस्कृतिक उदारताको पगरी गुथेका जनजाति समुदायभित्रका महिलालाई खास सजिलो छैन । भोजपुरको अनकन्टार गाउँमा आमाको मायाको आशमा सौतेनी आमाकै छायालाई पनि आँगाल्न तयार कैलाश राईले काटेको दुःखपूर्ण बालककाल यसैको एक उदाहरण हो । सौतेलो पाराको अर्घेलोले उनलाई दिनु दुःख दियो । विद्यालयमा हाजिरभन्दा गएल बढी हुँदै स्कुल पार लाउने बेला बेस्सरी बिरामी भइन् । अन्तिम अवस्था भएपछि अचेत अवस्थामा डोकोमा बोकी धरान झारे उपचारमा । बिरामीबाट तङ्रिँदा मात्र पुगनपुग दुई महिना थिए उनीसँग एसएलसी दिने । बेस्सरी मिहिनेत गरी जाँच दिइन् । रिजल्ट आएको हप्ता दिनपछि बल्ल गाविसमा गोरखापत्र आइपुग्यो । र थाहा पाइन् पास भएको कुरा । घरमा आनाकानी थियो उनलाई पढाउने कुरा । उनले आफैँ त्यस माहोलबाट बाहिर निस्किन कम्मर कसिन् र भनिन्, ‘चाहिँदैन तिमेरुको पैसा । मलाई जा भनिदिए पुग्छ’ (पृ. २०) । एउटी कलिली युवतीको त्यो आँटले नै आज उनलाई आजको नयाँ क्षितिजका लागि बल दियो । आफ्नै संघर्षहरूको साक्षी उनलाई साँच्चै माया गर्ने पनि कोही थिएनछ त्यस बखत । आमा नहुनुले धेरै कुरा उनको बाल्यकाल र किशोर अवस्थाबाट छिनेको थियो । उदार देखिने जनजाति परिवारभित्र पनि कहाँ हुन्छ र छोरीलाई सजिलो समय । कैलाशले बेहोरेको समयको घेराभित्र जनजाति सांस्कृतिक स्वतन्त्रताले खास काम गरेको देखिन्न । 

सोह्र वर्ष मात्र टेक्दै गर्दा विवाह बन्धनमा बाँधिएकी बिना थिङ बालविवाहमा परेकी पात्र हुन् । कलिलो उमेरमै बिहे भई अर्काको घर पुगेकी युवतीको भोगाइका क्षेत्रमा के–के पर्लान् आँकलन गर्न गाह्रो छैन । काठमाडौंको केटा, एक्लो छोरो, जग्गाजमिन भएको धनी घर । त्यति भएपछि पुगिहाल्थ्यो त्यसबेलाका लागि छोरी सुम्पिन । एउटी किशोरीले उमेरै नपुगी घरधन्दा, नयाँ परिवार र सारा व्यवहार सम्हाल्नुको गोलचक्कर । सजिलो कहाँ थियो र । आज पनि त छोरीलाई कुटुम्बको जिम्मा लगाई आफ्नो जिम्मेवारी पूरा गर्न हतारिएकै देखिन्छन् धेरै बाआमा । सामाजिक संरचनागत बुझाइ र यी पारम्परिक जकडाइले आज पनि महिलाको जीवनमा खेल खेलेकै देखिन्छ । पहाडी मूलकी बिनाको भन्दा अलिक बेग्लै भए पनि मधेसी मूलकी रीता साहलाई पढाइ अघि बढाउन र बिहेको कुरा टार्न साह्रै हम्मे परेको देखिन्छ । सप्तरी जिल्लाको दक्षिणी भेकको जमिन्दार घरमा जन्मिएर पनि उनले आफ्नो निजी निर्णयहरुका लागि निकै संघर्ष गरेकी छिन् । छोरीका लागि उति खुकुलो देखिन्न मधेसी समाज । त्यसमा पनि आजभन्दा अढाई दशकअघिको समाजको संकुचन कल्पना गर्न सकिन्छ । उनले प्यान्ट लगाएको कुरा पनि निकै कुरा कटाई विषय बन्थे त्यसबेला । एसएलसी परीक्षामा सामेल हुने उनी गाउँकै पहिलो युवती । परिवारसँग कटाक्षे गरेरै पनि पढाइ त अलिक अघि बढाइन् तर बिहेका लागि उनी राजी हुनै पर्याे । उनी भन्छिन्, ‘मैले जीवनमा पढ्नका लागि धेरै संघर्ष गरेँ तर अन्तमा हारेँ’ (पृ.१८१) । महिलाका जीवनमा सम्झौताका चाङ हुन्छन् नै । शाहले आफ्नो पढाइ र जागिरभन्दा पनि अटिजम भएको नानीको स्याहारमा नै समय दिनु पर्ने भयो । धनीमानी घरकै भए पनि शाहको जीवन संघर्ष र सम्झौताहरुले भरिएको छ । 

देशले सामाजिक राजनीतिक मामलामा ठूलै छलाङ मारिसक्दा पनि जातका कुरा भने अझै उही ठाउँमा जमिबसेको जस्तो लाग्छ । हाम्रा मानसिकतामा रोपिएको तल्लो र माथ्लो जात, छुत अछुतलगायतका जातीय विभेदले निम्त्याएका घटनाहरु दिनदिनै सतहमा तैरिन थालेका छन् । नवराज विक, अजित मिझार, अंगिरा पासीहरुको ज्यान फोसामै लिइँदै छ । र समाज आज पनि जातीय अहंकार उत्तिकै मात्रामा ओकलिरहेछ । धनकुमारी सुनारको जातीय अनुभूति र पवित्रा सुनारको जातले बिझाउँदाका कुराले आजपर्यन्त बद्लिन नसकेको नेपाली सामाजको जात मानसिकता प्रस्ट पार्छ । राजधानी सहर काठमाडांैमै जातका कारण घरभाडामा नपाइने समस्यादेखि, छरछिमेकले नजानिँदो पारामा गर्ने गरेको विभेदले पवित्रालाई बिझाउँछ अझै । धनकुमारीले धेरै ठाउँ सामना गरेकी छिन् बौद्धिक जमातभित्र दलितमाथि गरिने विभेद र व्यक्तिको कमजोरीलाई जातसँग जोडेर गरिने गाली । मान्छे उस्तै भएर पनि पानी नचल्ने, छोइछिटो गरिने जस्तो अमानवीय काम आज पनि हुँदै छ । खासमा धर्म संस्कृतिको आडमा हुने यस खाले विभेदले ती निश्चित जातिलाई त बेस्सरी बिझाएकै छ नि । 

आफ्ना कुरा

स्मृतिकथामा सत्त्वभित्र समेटिएका जीवन भोगाइमा उप्काइएका कथाका चिर्कटोमा आएका इमानजमान लेखकहरुलाई नै सुम्पेको छु । अर्काको मनको कुरा, भोगाइको कुरा नाप्ने जिनिस खोइ मसँग छैन । तर जे जति आएका छन् ती हाम्रै वरपरका घटनाहरु हुन् । विभेदको पर्खाल खडा गर्ने मूल जरो  पितृसत्तात्मक संरचना र त्यसले निर्माण गरेको सामाजिक मनोविज्ञान हो नै । समय परिवर्तन भएको ठूलो स्वरहरु उसै बिलाएझैँ लाग्छन् जब एकल महिला रञ्जना निरौलाको पीडा सार्वजनिक हुन्छ । यो भ्रान्तिपूर्ण समय छलाङ पो हो कि जस्तो लाग्छ जब दलितहरुमाथि धमाधम अमानवीय व्यवहार हुन्छ । अनि खोइ त समय बद्लेको भनी आफँैलाई भन्न मन लाग्छ जब फरक यौनिकता भएका व्यक्तिहरुलाई हामी कर्के आँखाले पनि हेर्न सक्दैनौँ ।

समस्याग्रस्त छ समाज आज पनि । प्रगतिशीलताको नाममा समाज भ्रष्टिकरणको मार्ग लिएको हो कि भन्ने पिरलो छ्याप्छ्याप्ती छ जनमनमा । यस्तै धुमिल समयमा यस पुस्तकले स्मृतिकथामार्फत सामाजिक इतिहास चिह्याउने एक आँखिझ्याल दिएको छ । धन्यवाद सबै लेखकहरु र सम्पादक अर्चना थापालाई । 

असोज १०, २०७७ शनिबार १५:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।