निबन्ध : देवदूतका आँखा
कति–कति सम्झनाहरु त छुटी जान्छन् बसको यात्रामा छुटिएका यात्रुझैं तर कति त झलझली याद आइरहन्छन् । कहाँ बगी जान्छन् र नदी बनेर, कहाँ झर्छन् र झरना बनेर ? जमी बस्छन् ताल बनेर हृदयको कुनामा ।
भीड जतिसुकै ठूलो होस्, चिनिहाल्छ आफ्ना आत्मीय मनहरुलाई । यदि चेतन मनले देखेन भने पनि अवचेतन मनले देखिहाल्छ प्रियहरुलाई ।
मैले परैबाट देखें डा. प्रिटिसिया एस आइरहेकी थिइन् । किन किन मनमा अजिब तरङ्ग पैदा भयो । त्यति ठूलो मानव भीडलाई छिचोलेर उनका आँखा मेरा आँखामा ठोक्किए । मुसुक्क मुस्कुराइन् मलाई हेरेर । साँच्चै ! रसिला करुणाले भरिएका आँखा थिए उनका । कथामा पढेजस्तो देवदूतका जस्ता प्रेम छल्किरहेका शान्त, स्निग्ध । आफ्नै तालमा हिँडिरहेकी उनी टक्क अडिइन् ।
अभिवादन गरें बिस्तारै शिर झुकाएर । फर्काइन् मुस्कुराएर उस्तै लचकताका साथ । नियालेर हेरेँ उनलाई । सधैझैं उस्तै शालीन तरिकाले मिलाएर लाएको सारी । मिलाएर बाटेको कालो चुल्ठो । लरक्क पारेर छाडेको ।
झण्डै तीन महिनाको बसाइमा मैले उनलाई सारी या लामो पञ्जाबी कुर्ता सलवार मात्र लाएको देखेको थिएँ । सायद यति ठूलो प्रोफेसर भएर पनि छोएको थिएन आधुनिक फेसनले पटक्कै । केश मात्र हुन्थ्यो कहिले छोड्ने र बाट्ने । सायद लामो, मोटो र बाक्लो भएर होला ? नुहाउँदा नसुकेको केश छोडेकी होलिन् ।
हेरेँ ! श्यामवर्ण निश्च्छल अनुहारमा दिव्य आभा झल्किरहेको थियो पूर्ण चन्द्रको जस्तो । छोएको थिएन पटक्कै बजारको सौन्दर्य प्रसाधनले । या भत्काइरहेको थियो सौन्दर्यका तमाम मानकहरुलाई उनको सुुन्दर हृदय र प्रज्वल व्यक्तित्वले ।
हामीचाहिँ के बिघ्न सौखिन भएका हौं फेसनका ? सायद सजिलोका लागि भनौँ भने उनलाई सजिलो छैन होला र ? कति सहज तरिकाले छिटो छिटो हिँड्थिन् सारी लगाएर । खै त उनलाई रोकेको पहिरनले कामको लय समात्न ?
के–के सोच्दै थिएँ उनलाई हेरेर । मेरो ध्यान भङ्ग गर्दै अनुहारमा आश्चर्य भाव ल्याएर सोधिन् । ‘अब तक यहीं हो ? गए नहीं हो नेपाल ?’
(अहिलेसम्म यहीँ छौ ? गएका छैनौ नेपाल ?)
उनले हिन्दीमा सोधेको प्रश्नको उत्तर मैले हिन्दीमै दिएको थिएँ ।
‘ट्रेनको टिकट पाइएन नि ? अब भोलिको छ ।’
उनको पनि हिन्दी साह्रै राम्रो थिएन म पनि त्यस्तै काम चलाउ ।
‘पेसेन्टलाई अहिले कस्तो छ’ आत्मीयताका साथ सोधिन् ? अहिले त ठीक छ । आफूले हेरेको बिरामीको जिम्मेवारी महसुस गर्छिन् यी डाक्टर । छक्क परेर उभिएँ । साँच्चै पे्रम र दयाकी प्रतिमूर्ति नै लाग्यो डा. प्रिटिसिया एस । तर यसभन्दा अगाडि पनि मैले तिनका सजल नेत्रमा दया, प्रेम, करुणा, स्नेह र ममता पाएको थिएँ ।
भन्छन् नि दयालु हृदय भएकाहरुका आँखा रसिला हुन्छन् भनेर । त्यस्तै थिए तिनका आँखा ।
सानोमा जब म सिरकले मुख छोपेर आँखा चिम्लन्थेँ तब विभिन्न रंगका किरिङ्ग मिरिङ्ग फूूल, चक्रहरु देख्थेँ । अनि सोध्थेँ हजुरआमालाई ती फूलहरु देखिनुको रहस्य । दयालु, कमलो र दैवी हृदय भएकाहरुले त्यस्तो देख्छन् भन्नुहुन्थ्यो । त्यस्ताहरुको आँखामा हरदम प्रेम छल्किरहेको हुुन्छ भन्नुहुन्थ्यो । केटाकेटीमा त दैवी भनेको बुझ्दिनथेँ । तर अहिले सोच्छु असल मानिस भनेको रहेछ । या सेवा भावना भएको भनेको होला ? त्यही छापले होला रसिला उनका आँखामा केही देवत्व गुण अनुुुुभूत गरेकी थिएँ ।
‘मेडिसिन लिया ?’ (दबाइ पायौ?) मेरो ध्यान भङ्ग गर्दै फेरि सोधिन् उनले । ‘पायौँ ! मेडिसिन स्टोरमा फ्रिजमा राखेका छौँ, भोलि जाँदा लान्छौं ।’
वास्तवमा महँगो औषधि किन्दा किन्दा हैरान भएकाले उनले फ्रीको औषधि मिलाइदिएकी थिइन् । त्यसैको पुछताछ गर्दै थिइन् । ‘फ्रिजर बक्समा राखेर लानू नभए मेडिसिन खराब हुन्छ,’ उनले भनिन् । ‘पेसेन्टको ख्याल राख्नू ।’ ‘राम्ररी जानू ! केही अप्ठ्यारो परे इमेल गर्नू ।’ ‘अच्छा गुड बाइ !’ हात हल्लाइन् । सरासर आफ्नो गति लिइन् । मैले नमस्कार गरें। हात उठाएँ ।
कस्तो आमाले छोराछोरीलाई ख्याल गरे जस्तै गरेको । मूर्तिवत् उभिएर उनी गएको हेरिरहेँ परसम्म । उठाको उठाइ रहेछु हात । छोराले झस्काउँदा पो थाहा पाएँ ।
‘मामु ती डा. प्रिटिसिया एस हुन् ? अस्ति राति वार्डमा बाबालाई हेर्न आउने,’ सोध्यो छोराले ।
‘कस्तो वर्षाैंदेखि चिनेजस्तो गरी सोधेको !’
‘हो त, एसोसिएट प्रोफेसर हुन् तर कति भद्र र नम्र छिन् । वर्षाैं थुप्रै एमडी गर्दै गरेकाहरुलाई पढाउँछिन्, गाइड गर्छिन् । अस्ति ट्रेनको टिकट पनि गल्ती भएर फेरि बनाउनुपर्ने भयो । यिनलाई अनुरोध गरेँ क्याबिनमा आएर तुरुन्तै सही गर्दिइन् ।’
जीवन भनेकै सुखदुःखको खेल त हो नि ? जब मान्छेलाई दुःख पर्छ तब अरुले गर्ने साना साना व्यवहारले पनि फरक पर्दो रहेछ । मेरो पीडा धेरै कम भएको थियो आफन्तहरुको सहयोगले नै ।
चित्त पनि कति सानो हुन्छ नदुखोस् भन्दा पनि दुखिहाल्छ । को आफ्नो, को अर्काको चिन्ने बेला पनि रहेछ यो । बिरामी र आफन्तलाई फरक पर्छ अरुले गर्ने आचरणले । झन् डाक्टरको असल व्यवहारले बिरामीको आधा रोग निको हुन्छ । दक्षिण भारतको भेल्लोरको सिएमसी हस्पिटलमा प्रत्येक कर्मचारीहरुमा सेवा भावना पाएकी थिएँ । अस्पतालको लामो बसाइमा देखेकी थिएँ प्रत्यक्ष रुपमा । कति धैर्यपूर्वक चुपचाप भएर बिरामीको निगरानी गर्थे । डा. प्रिटिसिया एस जस्तै थुप्रै अरु डाक्टर र नर्सहरु ।
त्यतिखेर म खप्तड स्वामीको ‘विचार विज्ञान’ पढ्दै थिएँ । विचारले व्यवहारमा पर्ने प्रभाव र बिरामी र आफन्तसँग गर्ने व्यवहार लेखिएको थियो त्यसमा । साच्चै ! धेरै डाक्टरहरु बिरामीको अनुुहारै नहेरी उपचार गर्छन् । बिरामीलाई सोधिखोजी गर्दा सानो भइन्छ जस्तो लाग्छ एकाधलाई छोडेर ।
भारतमा उपचार गर्न जानुभन्दा अगाडि काठमाडौंको एक प्रतिष्ठित अस्पतालमा डाक्टर आउदा राजा महाराजा जस्तो गार्डले मान्छेहरुलाई ठेलेर बाटो खालि गरिरहेको दृश्य देखेकी थिएँ । म पनि धकेलिएर लडेकी थिएँ झण्डै । त्यतिखेर टेलिभिजन र पत्रपत्रिकामा पढेर बनाएको ती डाक्टरको छवि सीसा फुटेजस्तै चकनाचुर भएको थियो मेरो मस्तिष्कमा । माला चुँडिएर छरिएजस्तै छरपष्ट भएको थियो मन अस्पतालभरि । डा. प्रिटिसिया एस र यस्तै ठूूला डाक्टरहरु जो मान्छेका भीडमा पनि तर्किँदै, कुम बङ्ग्याउँदै हिँडिरहेका हुन्थे आफ्नै लयमा ।
वास्तवमा डाक्टर केवल मेसिन मात्र नभएर मानव पनि हो । उसका पनि दुःखसुखका भावना हुन्छन् । एकनास नरहन सक्छ मुड सधैँभरि । तर डाक्टर पेसा अँगाल्ने मान्छेले थोरै भए पनि सेवा भावना राख्नै पर्छ । थुप्रै असल र इमानदार डाक्टरहरु हाम्रै देशमा पनि छन् । ठूला डाक्टरहरु त धेरै हुन्छन तर असल, दयालु र सेवा भावनाले ओतप्रोत भएका डा. गोविन्द केसीजस्ता त धेरै कम हुन्छन् । जब मनमा पद र पैसाको दम्भ, अहङ्कार भरिएको हुन्छ ऊ असल बन्नै सक्दैन । तेह्रौं शताब्दीका सन्त कवि रुमी भन्छन्, ‘मेरा शीश नवा दो अपनी चरण धुल के तल मे, देवः डुवा दो अहंकार सब मेरे आँसु जल मे ।’
हो नि रुमीले भनेझैँ जब अहंकार आँसु बनेर झर्छ तब मात्र मान्छे मानव बन्छ नभए त दानव शिवाय केही हुँदैन ।
डाक्टर र बिरामीको औपचारिक सम्बन्धमा पनि प्रेम, स्नेह, आत्मीयपन पाइयो भने कुन बिरामी र आफन्तले सम्झँदैनन् र ? ती दिनहरुको स्मरणले मन छियाछिया भए पनि सिएमसी अस्पतालको डाक्टर र नर्सहरुको व्यवहारले भने कृतज्ञ छु अहिलेसम्म । त्यस अस्पतालमा उपचार गर्दा अजीव शान्ति महसुस गरेकी थिएँ ? करिब छत्तीस घण्टा रेल यात्रा गरेर उपचार गर्न जाँदा यदि प्रेम, सद्भाव पाइएको थिएन भने कस्तो भावना आउँथ्यो होला ? मनमा । तर धन्यवाद गर्नै पर्छ त्यो ठाउँ अनि त्यहाँका मान्छेलाई । जो खस्रो बोल्छन् तर दयालु छन् । उपचार गर्न आउनेलाई सहयोग गर्न तयार छन् हरघडी ।
यस्तै जीवनको दौडमा दौडिँदै गर्दा भेटिएकी थिइन् डा. प्रिटिसिया एस । अस्पताल बसाइमा अनि पटक–पटक फेरि जाँदा उनी हृदयमा यसरी बसिन् कि, निकाल्नै सकिएन । त्यसैले त उनी बसिरहिन् दिलमा एउटा आदर्श पात्र भएर कहिल्यै नमेटिने गरी । म आशा गर्छु नेपालमा पनि हरेक बिरामीले अस्पताल र डाक्टरबाट राम्रो व्यवहार पाऊन् । सबै डाक्टर प्रिटिसिया एस जस्तै होऊन् । सस्तो उपचार र राम्रो व्यवहारका लागि नै कोही पनि परदेशमा भौतारिनु नपरोस् ।
लेखनाथ पौड्यालले नैतिक दृष्टान्तमा भनेझैँ
‘उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर ।
फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ।।’
जब जब म डा. प्रिटिसिया एसलाई भेट्थेँ माथिको कविताको वास्तविक पात्र यिनै हुन् जस्तो लाग्थ्यो । रत्ति पनि दम्भ नभएको उनको अनुहारमा सदैव मधुर मुस्कान झल्किन्थ्यो । म हेरिरहन्थेँ उनका आँखामा । उनी पनि मेरो आँखा पढ्थिन् कि ? सोध्ने गर्थिन् प्रेम देखाए जसरी कहिलेकाहीँ ।
सायद मेरो भित्री मन अशान्त देखेर होला ? देवदूतका जस्ता मृद स्वरमा । ‘च्यापल गएकी छौ प्रार्थना गर्न ?’ नाइ, उत्तर भएर मौन बसिरहन्थेँ म । सायद मेरो मौनतालाई उनी पढ्थिन् कि ?
लजबाट अस्पताल आउँदाजाँदा बाटैभरि मन्दिर थिए । ती सबैमा पूजाअर्चना गरेकी थिएँ । तर अस्पतालभित्र रहेको च्यापलमा भने टाढैबाट हेरेकीे मात्रै थिएँ । तर, भित्र कहिल्यै गएकीे थिइनँ । सबै धर्मावलम्बी त्यहाँ जान्छन् भन्ने थाहा थियो मलाई ।
‘गएर शिर झुुकाइदिनू ! मैनबत्ती बाल्नू शान्त हुन्छ मन ! प्रार्थना गर्नू आँखा बन्द गरेर । अब सबै उसको हातमा छ । हामी त कर्म गर्ने मात्र हो । असली डाक्टर त माथि हामीलाई हेरेर दिशानिर्देश गरिरहेका छन् । छोराछोरीको पनि चिन्ता नलेऊ । प्रभुले नै यस पृथ्वीमा ल्याएका हुन्, उनले नै पालनपोषण गर्छन् ।’
एउटा चिकित्सा विज्ञान पढेको आधुनिक डाक्टरको कुरा सुनेर म छक्क पर्थेँ र मनमनै गम्थेँ । महसुस गरिरहेकी थिएँ । उनको बोलीमा एउटा संभावित अनिश्चितताको । गला अवरुद्ध भयो । भरिएर आयो मन । आखाँभित्र लुक्न सकेनन् आँसु, तप्प खसे । तर फेरि कता–कता विश्वास थियो कुनै अदृश्य शक्तिको । मनमनै सोचँे जानु पर्ला भरे ? तिनै येशुले सुनिहाल्छन् कि पुकार ! आखिर आपत पर्दा कहाँ रहन्छ र धर्म धर्मबीच भेद ।
बेलुकीपख ठूलो मैनबत्ती किनें र फटाफट अस्पतालतिर लम्काएँ पाइला । अजीव फूर्ति आएको थियो शरीरमा । मन्दिर गएर भगवान्लाई बेस्सरी गाली गरिसकेकी थिएँ । अब चर्च गएर मन फुकाएर रुन्छु र प्रभुलाई पनि सोध्छु सायद मेरो के दोष थियो र ? सजाय दिँदै छौं।
चर्चभित्र पसेँ चिसो मन लिएर । हेरें दौडाएर मनलाई चारैतिर । शान्त भएर कुर्सीमा बसेका थिए केही मान्छेहरु । भुइँमा लडिबुडी गरेर रुँदै थिइन् एउटी महिला । भित्तामा क्रसमा टाँगिएर हेरिरहेका थिए प्रभु येशु । छेउमा आमा मरियम मुस्कुराइरहेकी थिइन् छातिमा येसु टाँसिएका थिए ।
यसो हेरें के हिन्दु, के मुस्लिम, के शिख, के ईशाइ ? पुकार गरिरहेका थिए सबै ! म मात्रै कहाँ एक्लै थिएँ र ? म मात्र कहाँ दुःखी थिएँ र ? साच्चै मान्छेले बल शक्ति र सामथ्र्य हुन्जेल रहेछ घमण्ड गर्ने भनेको । धर्म, जात र सम्प्रदायले मान्छेले मान्छेलाई छुट्याउने भनेको ।
आपत पर्दा त कहाँ रहन्छ र धर्मको विवाद । कहाँ कोरिन्छ र ? जातको, देशको सिमाना । सबै विभेदहरुकोे सीमा सकिएर मात्र रहन्छ, मानव धर्म । मनसँग मात्र मन जोडिएर रहन्छ केवल मानवताको नाता ।
हेर्दा सिङ्गै हात्ती पछार्छु भन्ने जस्ता मान्छेहरु पनि ईश्वरको अगाडि शिर निहुराएर झुकेका थिए लाचार भएर ।
मैनबत्ती बालेर बिस्तारै अगाडि लगेर राखेँ । मौन बसेँ कुर्सीमा । कोही बलिन्द्र आँसु झारिरहेका थिए । कोही घुँक्क घुँक्क गर्दै थिए, आँसु भित्रभित्रै निलेर । हेर्नै सकिन मान्छे यति निरीह भएको यस्तो कहालीलाग्दो दृश्य । श्वास फुले जस्तो भयो । पड्केला जस्तो भयो मुटु । हात छातिको छेउमा लगेर राखें।
थरथर कापिरहेको थियो सम्पूर्ण शरीर । सन्त्रासले बाहिरैसम्म सुनिदै थियो मुटुको स्पन्दन । निधारमा चिट्चिट पसिनाका फोका उठे । दिमाग शून्य होलाजस्तो भयो । फुट्ला जस्तो भयो टाउको । लामो लामो श्वास फेरेँ आँखा चिम्लेर । छिटो छिटो श्वास तान्दै छोड्दै सोहम् सोहम् मनमनै भन्दै आत्मोत्सर्गतिर लागेँ । हेरिरहेँ बलिरहेको मैनबत्तीको ज्योतिलाई । आँखामा लगेर राखेँ त्यसको प्रकाश । आँखा चिम्म गरेँ । बिस्तारै भृकुटीमा ज्योति धपधप बल्न थाल्यो । मनलाई एकाग्र गरेर ज्योति ध्यानको क्रिया गरें ।
धन्न सहायता मिल्यो ध्यानले तनाव मुक्तिका लागि । च्यापलभित्र विरहका अनेक ध्वनिहरु गुन्जिरहेका थिए कानमा । गाह्रो भइरहेको थियो आफैँलाई सम्हाल्न । मुटु दह्रो पारेर बसेँ । मनले जे सोचे पनि एउटा स्थायी सत्ता पक्कै दयालु छ भन्ने कल्पना गरेँ । मनमनै जति आउने मन्त्र थिए सबै भनेँ, ईश्वरलाई सम्झेर । वास्तवमा जप, ध्यान, मन्त्रोच्चारण भनेका त तनाव मुुक्तिका साधन रहेछन् । हुने कुरा त भएरै छोड्छ त्यसलाई कसैले टार्न सक्दैन ।
अडिग विश्वास बनाएँ मनमा । आखिर भगवान् भए पनि नभए पनि एउटा निराकार अदृश्य शक्ति त पक्कै छ । नभए यत्रा मान्छेका विश्वास कसरी जितेको छ, सोचें। घरीघरी लाग्थ्यो- ईश्वर पनि तानाशाह पो छ कि ? पुकार नसुन्ने पो हो कि ? चिच्याएर सोध्न मन लाग्थ्यो । त्यो ईश्वरीय सत्तासँग । तर के गर्नु विवश थिएँ । करिब आधा घण्टाजति मौन बसेँ । अलिक शान्त भयो । बिस्तारै खोलेँ आँखा । मन केही हलुका भएको थियो ।
फेरि क्रसमा टाँगिएका येशुलाई हेरिरहेँ । धन्यवाद गरेँ येशुलाई अनि आमा मरियमलाई । अघिका मान्छे कोही थिए भने कोही नयाँ अनुहार थपिइसकेका थिए । बिस्तारै उठेँ र उही लजतिर लम्काएँ पाइला । भोलि हिँड्नुु थियो नेपाल । सामान मिलाउँदै सोचिरहें नेपालका अस्पतालको अवस्था ।
असोज १०, २०७७ शनिबार १५:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।