अलबिदा ‘हिमचितुवा’ !

अलबिदा ‘हिमचितुवा’ !

७४ वर्षीय शेर्पाले गत सोमबार काठमाडौंको जोरपाटीस्थित छोरीको घरमा अन्तिम सास फेरेका थिए। बिहान १० बजेर ४० मिनेट जाँदा उनले प्राण त्यागेको छोरी डोमाले जानकारी दिइन्। 

सन् ८० देखि ९० को दशकसम्म सगरमाथामा एक छत्र राज गरेका थिए, आङरिताले। उनी त्यस बेलाका एक बलिया र साहसिक पर्वतारोही थिए। नाम्चे बजारबाट देब्रे कुनाको यिलाजुङ (थामेभन्दा अलि माथिल्लो गाउँ)मा जन्मेका आङरिता १० पटकसम्म अक्सिजनबिना सर्वाेच्च शिखर सगरमाथामा चढेका थिए। 

सन् २०१२ मा छोरा कार्साङ शेर्पासँग आङरिता। सन् २०१२ मा छोरा कार्साङ शेर्पासँग आङरिता।  तस्बिरहरू : चक्र कार्की। 

‘सगरमाथा मेरो बाल्यकालको घरमाथिको डाँडा हो। म जन्मेको सानो  गाउँ  नै सगरमाथाभन्दा आधा अग्लो छ, त्यसैले मलाई अक्सिजन भरेको बोतल जरुर पर्दैन्थ्यो,’ उनले पंत्तिकारसँग भनेका थिए। 

यिलाजुङ गाउँ चार हजार मिटर अग्लो छ। आङरिता त्यही गाउँमा जन्मेका थिए। आमा छोकी र बाबु आइला शेर्पा सामान्य किसान थिए। त्यो जमानामा उनी चौंरी थपाउँदै नेपाल र तिब्बतको सिमाना नाङपाला पुग्थे। पाँच हजार आठ सय मिटर उचाइको नाङपाला पास गरेर नुन बोक्न गएको जोवनलाई सगरमाथा घर मास्तिरको कान्लो जस्तै लाग्नु अस्वाभाविक होइन। त्यसैले उनले १० पटकसम्म आठ हजार आठ सय ४८ मिटर अग्लो सगरमाथा टुप्पोमा प्राकृत अक्सिजनकै भरमा फनफनी नाचे। 

पारिपट्टि तेन्जिङ नोर्गे जन्मेको गाउँ थामेतेङ अनि वारिपट्टि आङरिताको थातथलो यिलाजुङ। तेन्जिङ नोर्गे विश्वको अग्लो टाकुरा सगरमाथामा पहिलो पाइला राख्दा आङरिता यिलाजङमा टुकुटुकु हिँड्ने बेलाका थिए। तेन्जिङले सगरमाथामा पहिलो पाइला टेकेर इतिहास रचेका थिए भने आङरिता चौंरी धपाउँदै हिँड्ने सानो केटो।

सन् १९८३ मा सगरमाथामा आङरिताले अक्सिजनबिना बोतल सगरमाथामा पाइला राख्दा तेन्जिङ नोर्गे जीवनको उत्तरार्धमा पुगेका थिए। त्यसैले जीवन वारिपारि भए पनि पाइला एउटै शिखरमा लगे। र, फरक विश्व कीर्तिमान कायम गरे। सगरमाथामा पहिलो पाइला र अक्सिजनबिना सगरमाथा शिखरमा सबैभन्दा बढी १० पटकसम्म आरोहण गरेका तेन्जिङ नोर्गे (टाइगर अफ स्नो) सन् १९८६ मा अस्ताए भने स्नो लियोपार्ड उदाएका थिए।  

‘सागारमाथा मेरो घरको छात हो,’ आङरिता मौलिक लबजमा उनी भन्थे।

‘मेरो घरको छतमा जानलाई किन अक्सिजन ?’ आङरिताले मलाई उल्टै प्रतिप्रश्न गरें।

त्यसबेला उनी कपनस्थित रोलवालिङ टोलमा बस्थे। करिब डेढ दशकअघि म र आङरिता पारिलो घामको किरणमा बसेर गफिएका थियौं। त्यतिबेला मैले उनीसँगको भलाकुसारी गरेर ‘कान्तिपुर’ दैनिकमा लेखेको थिए।

त्यतिबेला मैले थाहा पाएँ- उनी साहसिक पर्वतारोही मात्र थिएनन्, एक रसिक पनि थिए। छकालमै छयाङले झुम्म हुन्थे र उनको जमानाका सगरमाथा आरोहण गर्दाका साहसिक मुटु नै काप्ने मिथजस्तो लाग्ने यथार्थ कथा सुनाउँथे।

सगरमाथा चढ्न, त्यो पनि अक्सिजनबिना एक पटक होइन, १० पटक। सुन्नेलाई आङरिताका वीरगाथा किम्बदन्ती जस्तो लाग्थे। तर, ती यथार्थका गाथा थिए। त्यसपछि मेरो आङरितासँग थुप्रै पटक अनौपचारिक गफ भए। उनी सरल र साधारण व्यवहार गर्ने असाधारण र्वतारोही थिए। यस्तै, कुशल आरोही पनि। सधैं लो प्रोफाइलमा बस्ने र सिजनमा हिमाली टाकुरामा रम्ने बलिष्ठ पनि। 

‘सगरमाथा चढेर विश्व कीर्तिमान राख्छु भन्ने लक्ष्य थिएन,’ उनी भन्थे।

गाउँ वरपरबाट पर्वतारोही ओहोरदोहोर गरेको देखेपछि उनलाई लाग्यो- म पनि एक दिन मेरो सगरमाथा चढ्ने हो।

 ‘१५ वर्षसम्म गाउँमै चौंरी चराए। त्यसपछि मलाई चौंरीभन्दा सगरमाथाफेदीतर्फ जाने रहर जाग्यो। म पर्यटकको सामान बोकेर त्यता लागे,’ केही वर्षअघि उनले पंक्तिकारलाई आरोहणको कहानी सुनाएका थिए। 

उनी सन् १९८३ मा जर्मनी र अमेरिकन दलको क्लाइम्बिङ शेर्पाको रूपमा साउथकोलबाट सगरमाथा शिखरमा अक्सिजनबिना पाइला राख्न सफल भए। त्यसपछि आङरिताले पछाडि फर्केर हेर्नु परेन।

उनले सन् १९८७ को जाडो याममा अक्सिजन बोतलबिना सगरमाथामा पाइला राखेर संसारलाई चकित बनाए। त्यसबेला खास विन्टर एक्सपिडिसन सगरमाथामा बिरलै हुन्थ्यो र आज पर्यन्त पनि। 

एडभेन्चर गर्ने क्रेजी हुन्छन् र सफल पनि। आङरिता कोरियन विन्टर एक्सपिडिसनको क्लाइम्बिङ शेर्पा थिए। ‘सन् १९८७/८८ एभरेस्ट विन्टर एक्सपिडिसनबाट फर्कदा बाटो बिराएको थिएँ, हिउँले बाटो पहिल्याउन मुस्किल भएको थियो,’ उनले सुनाएका थिए। 

सन् १९९६ मा सगरमाथामा इतिहासमै ठूलो वियोगान्त भयो। हिमपहिरो आएर आठ जनाले ज्यान गुमाए। त्यही वर्षदेखि आङरिताले आरोहण त्यागेका थिए।

आङरिताले सगरमाथामा विभिन्न देशका नागरिकलाई सफलतापूर्ण आरोहण गराए। सन् १९९६ मा सगरमाथामा दशौं र अन्तिम पटक अक्सिजनबिना पाइला राखेर संसारलाई चकित पारेका थिए। 

आठ हजार मिटरमाथि पुगेपछि अक्सिजनबिना पाइला पनि सार्न सकिँदैन। जसलाई ‘डेथ जोन’ भन्छौं। आङरिताले अरुका लागि अक्सिजन बोकेर लगे। तर, आफूले कहिल्यै प्रयोग गरेनन्। 

गिनिज बुक अफ वर्ल्ड रेकर्ड होल्डर आङरिताले औपचारिक शिक्षा लिन पाएका थिएनन्। त्यसबेला खुम्बुमा बिद्यालय खोलिएकै थिएन। 
सन् १९६१ मा सर एडमण्ड हिलारीले खुम्जुङमा स्कुल स्थापना गरेपछि मात्रै खुम्बुले पढ्न जान थालेका थिए।

प्रकृतिमाथि सधैं एकैनाशको साथ दिँदैन शरीरले पनि। त्यही कुरा आङरिताको जीवनमा पनि लागू भयो। उनको स्वास्थ्यमा समस्या देखा पर्याे। कलेजोमा खराबी देखियो।

त्यसबेला तत्कालीन राजा वीरेन्द्रले उनलाई भेट्न बेलाए। उनकै डेरामा तत्कालीन युवराज दीपेन्द्रलाई लिन पठाए। र, दीपेन्द्रले उनलाई आफूले गर्नु पर्ने सहयोगबारे सोधे। 

आङरितालाई ठूलो महत्त्वकांक्षा जागेन। उनले सरल र सुखी जीवन बिताउने कुरा दीपेन्द्रलाई बताए। राजा बीरेन्द्रले नै आङरितालाई ‘हिउँचितुवा’को उपाधि दिएका थिए। यस्तै, जोरपाटी र गोकर्णको बीचमा घर बनाउन थोरै जग्गा पनि दिएका थिए। 

उनी वीरेन्द्रप्रति ज्यादै अनुग्रहित पनि थिए। वीरेन्द्रले आफूलाई सगरमाथा चढेर देशलाई विश्वसामु थप चिनाएको भन्दै हौसला दिएको सम्झना सुनाउँथे, उनी। सन् १९९० मा वीरेन्द्रले आफूलाई ‘त्रिशक्ति पट्ट प्रथम’ र ‘गोरखा दक्षिण बाहु’द्वारा विभूषित गरेका थिए।

आङरिताले सगरमाथा मात्र होइन, आठ हजार अग्ला कञ्चनजंघा, धौलागिरी, मकालु र चोयु हिमालको सफल आरोहण गरेका थिए। 
त्यसबेला पर्वतारोहण आजको जस्तो प्रविधिमय, माउण्टेन इक्यिुमेण्टले चुस्त थिएन। खुम्बु आइसफलमा बढेमान्का काठका भर्याङ ठडाएर आधार शिविरबाट क्याम्प एकतर्फ उकालो लाग्नुपर्थ्यो।

९० को दशकपछि सगरमाथामा बिस्तारै प्रविधि र हिमाली कपडाको विकास हुन थाल्यो। आङरिताले त्यसको स्वाद नजिकबाट लिन पाएनन्। उनी हिमाल भनेको प्रकृति हो, यसलाई उसकै लयमा रहन दिनुपर्छ भन्थे। ‘हिमालमा हावाहुरी आयो भने तल फेदीतर्फ ओरालो लाग्नुपर्छ।  वातावरणले साथ दिए फेरि माथि जानुपर्छ,’ उनी भन्थे। 

पछिल्लो पुस्ता पर्वतारोहणमा जम्दै गर्दा रिस्क फ्याक्टर बढी छ। त्यो भनेको प्रकृतिलाई कम ठानेको जस्तो मान्थे उनी। ‘सधैं प्रकृतिले नै जित्छ, हामीले उसमासथ क्षणिक विजय हासिल गर्ने हो,’ उनी भन्थे। 

पछिल्लो समय आङरिता आरोहणबाट उमेर र स्वास्थ्यका कारण निबृत्त भएका थिए। बाल्यकालमा यिलाजुङमा चौंरी चराउ“दै हुर्केका शेर्पा विश्व कीर्तिमान कायम गरेपछि पनि चौंरी चराउन यिलाजुङ फर्केका थिए। ‘मलाई अमेरिका, युरोप लगायतका बिकसित देशबाट उतै बस्ने गरी अफर आएको छ, तर मलाई मेरै गाउ“ प्यारो लाग्छ र चौंरी थपाउनु नै मज्जा आउँछ,’ उनी भन्थे। 

जसले यो देशलाई हिमाली पौठेजोरीबाट विश्वमा चिनाए। विश्वमा चर्चा कमाएका आरोही र हिमालप्रेमी उनलाई भेट्न यिलाजङ गाउँमै पुगे। अपसोच ! सधैं राजनीतिक खिंचातानी र भागबण्डामा रमाउने शासकको दृष्टि उनकोमा कहिल्यै पुगेन। 

जोश, शारीरिक शक्ति नाम कमाएको बेलामा आङरिताले  उक्त अफरलाई पनि नकारेर यो देशमै बसे। विश्व विख्यात नेपाली पर्वतारोहीका लागि यो राज्य कदापि जिम्मेवार बन्न सकेन। पाखुरीमा बल हुञ्जेल हिमालय पर्वतमा भिडेर देशलाई ख्याति दिए।

उमेर ढल्केपछि राज्यले हेर्दैन भन्ने अधिकांश आरोहीको गुनासो छ। हिमाल आरोहणकै क्रममा जेठा छोरा कर्साङ एक दशकअघि गुमाएका आङरिताले त्यसको केही वर्षपछि जीवनसंगिनी पनि गुमाउन पुगे। सन्तान र जीवनसाथी गुमाउँदाको पीडालाई पनि सहेर कलेजो र टाउकोसम्बन्धी रोगसँग लड्दै बसेका हिमचितुवा अन्ततः रोगसँग हारेर परलोक भए। 

आङरिता राजनीतिक अस्तव्यस्ताले हुँडलिएको समाजभन्दा पर हिमालजस्तै अटल, शान्त थिए। यो राज्यसँग उनको ठूलो गुनासो थिएन। राज्यले आफ्नो रेखदेख तथा औषधी उपचार गरोस् भन्ने मात्रै उनी चाहान्थे। राजनीतिकमा सगरमाथाभन्दा अग्ला खोक्रा राष्ट्रवादका गफ गर्नेभन्दा सगरमाथा चढेर प्रसिद्धि कमाएर समुद्रजस्तै अटल र स्थिर भएर यही माटोमा विलय हुने भए। यसबाट पर्वतारोहणको एक बिख्यात इतिहासको अन्त्य भएको छ। अलबिदा महान पर्वतारोही हिमचितुवा ! 

असोज १०, २०७७ शनिबार १४:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।