कथा : रूपान्तरण
कोरोना कम भएको छैन । बाहिरी संसार कस्तो छ त्यो पनि बिर्सन लागियो । उमेर हद पार गरेकालाई घरकाहरूले बाहिर जान कडा निषेध गरेका छन् । साठी पार गरेकाहरू घरबाहिर ननिस्कन सरकारले समेत मनाही गरेको छ । त्यसै थन्किएर बसिएको छ । वरिपरि सब सुनसान छ । घरबाट निस्केर काममा नगई नहुनेहरू धेरै छन् । घरमा म मात्र एक्लो छु । छिमेक भन्नु पनि को छ र ?
साथी हुन्छ भनेर कुकुर पाल्न खोजेको हो तर जनावरबाट झन् सजिलै कोरोना सर्छ भनेर निषेध गरियो । कुकुर पाल्नु पनि झमेलै हुन्छ । ख्वाऊपियाऊ र दिसा गराउन साङ्लो तान्दै बाहिर लैजानुपर्ने । जनावरलाई हानि गर्नु हुन्न भन्ने पनि छ, विश्वकै नाराका रूपमा । म मात्र किन कुकुरलाई यातना दिने हुने ? म बाहिर जान सकिनँ भने कुकुरले कसरी दिसा गर्न पाउला ?
दिउँसो सुनसानमा आवाज आइरहन्छन् । कता हो केही बनिरहेछ । कीलमाथि घन ठोकेको डङडङको आवाज । विद्युतीय आरी पनि चलाइरहिएको छ काठ चिर्न— कर्रर्र । धनीमानीहरूको काम चलिरहेको होला । पैसाले काम गराउँछ । वातावरण जीवन्त गराउने मिश्रित आवाज छन् । डकर्मीहरू होलान् त्यहाँ । तर मान्छे बोलेको सुनिन्न । माइक लगाएर बोल्ने कुरो भएन । आपसमा बोलेको यहाँ घनले कीलाको टाउकोमा हानेको र विद्युतीय आरी चलेजस्तो गरी मैले सुन्न पाउने कुरो पनि भएन ।
मान्छे बोलेको भन्नाले टिभी छ । त्यसमा बेलाबेला समाचार आइरहन्छ । नाचगान पनि । केही नचनिया केटीहरूलाई मैले चिन्न थालेको छु । अचम्म यो छ, केटीहरू जति सजिलै चिनिन्छन् केटाहरू पहिचानमा आउँदैनन् । मभित्र जीवित रहेको भालेपनले त्यसो भएको हुन सक्छ । मान्छे बुढो भए पनि मन बुढो हुँदैन । यही होला । टिभी पनि कति हेर्नु । तर हेर्छु । नृत्याङ्गनाहरूको शारीरिक लास्य हेर्न लायक हुन्छ । नाइटोमुनि देखिएला जसतो गरी सारी बाँधेर नाचेको हेर्दा कता खसिहाल्ने पो हो कि भनेजस्तो विकृति पनि उम्रिन्छ । त्यो बाहेक अरू हेर्ने कुरो छैन । समाचारमा उही हो । प्रसेब्रिफिङमा प्रवक्ता आउँछन्, सुनाएर जान्छन् । कोरोना संक्रमितको गणना र केही दिन बिराएर भाइरस लागेर मृत्यु हुनेको समाचार ।
टिभीभन्दा मलाई सम्झना भयो, टिभीपछाडिको झ्याल बिग्रेको छ । त्यहाँबाट हावा भित्र छिरिरहन्छन् । जाडो पनि आउने हो । त्यसपछि चिसो सिरेटोको मार । कोरोना विन्टरमा झन् बढेर जानेछ भन्छ विश्व स्वास्थ्य सङ्गठन । सिरेटोबाट ठिहिरिनुभन्दा बच्नु बेस भनेर माइलो मिस्त्रीलाई झ्याल मर्मत गरिदिन पेस्की रकम दिइएको छ, उसको अत्तोपत्तो छैन । छोरोले भन्यो, ‘बाबाले चिनेका मानिस सबै यस्तै हुन्छन् । पैसा माग्नु पर्दा कपाल कन्याउँछन् त्यसपछि बेपत्ता । कतै दारु खाएर पल्टेको होला ।’ हात माथि पारेर रकम प्रदान गर्नेहरूको गुनासो यस्तै हुन्छ । माइलोको बानी पनि छ, दारु खाने । दारु खाए पनि मान्छे मिहेनेती हो, दारु नखाएको बेलामा । तर पात्र विश्वासिलो छैन ।
म उड्न थालेको छु । अतीत यात्रामा निस्कन लागेको छु । बुढाहरूसित अतीतबाहेक अरू के नै हुन्छ र ? मेरो बुझाइ यस्तो छ ।
कसैले अगाडिको ढोका ढकढकाएको छ । कसैले चिठीपत्र ल्याएको छ कि ? अचेल मेलको जमाना छ । कागजमा कलम घोटेर चिठीपत्र गर्ने चलन हराएको छ । घरमा कम्प्युटर त छ तर मलाई चलाउन आउँदैन । फेसबुक खोलेर बसे पनि हुन्थ्यो । फेरि ढोका ढकढक गरिएको छ । कोही अवश्य छ बाहिर । दिउँसै केको डर । तर टोलामुहल्ला सुनसान छ । चोरचकार लुट्नै भनेर आएको रहेछ भने ? गुहार–गुहार भनेर जति चिच्च्याए पनि कसैले यसो चियाउने होइन । बुढाहरूकै नम्बर लाग्छ । चोरले पनि सही घर छनोट गरेछ भन्ने पर्न जान्छ कि ? गुहार लगाउने ताकत पनि छैन बुढोमा । चोरले पनि दया नै गर्ला । केही लुटलाट गरेर छाडिदेला । चोरले पनि गरोस् के ? मुलुकका ठूलाठुला चोरहरू हेरेर उत्प्रेरित हुँदो हो ।
ढोका खोलेँ, जाली खोलिनँ । यो सुविधा थियो । बाहिर माइलो उभिएको रहेछ । ह्वास्स दारु गनायो । माइलो मोटोमोटो छ । तर कोरोनाले दुब्लाउनतिर लागेको छ । ओरालो लागेको । कोरोना छ । भित्र आउन दिन पनि डर लाग्यो । मानवताको नाताले किन के काम पर्याे भित्र आऊ भन्नु पर्ने हो । एक त कोरोना दोस्रो यो दिउँसै घरमा कोही नभएको समय पारेर आएको छ । म एक्लै छु । घरमा बस्ने र सुरक्षित रहने भने पनि जे नगर भन्यो उही गर्न तम्सिने बानी छ हाम्रो । मान्छे बाँदरबाटै विकसित भएको हो भन्ने पत्यार लाग्यो । दिउँसो कोही घर नबस्ने भएपछि म मात्र किन घरमा खुम्चिएर बसेको छु । बुढा ! दरबानी गर्नु छ । सेक्युरिटी ! यो पनि सोच्दैनन्, एक दनकमा बुढो यस संसारबाट गमन गर्न सक्छ ।
त, माइलो ढोकामा उभिएको छ । अलि पर सरेर उभिऊ भन्न पनि सकिनँ । पुरानो मान्छे । हातमा निभेको ठुटो चुरोट छ । टोपी लगाउने गरेको छैन । लगाउन त मास्क पनि लगाएको छैन । मास्कको ठूलो प्रचार छ ।
‘बाजे ?’
उसले मलाई सम्बोधन गर्याे । तरिका यस्तो थियो, सबै कुरो बुझ्नुहोला भनेजस्तो गरी । बुझ्न त सकिन्थ्यो तर गर्न सकिन्नथ्यो । आफ्नो हातमा केही छैन ।
‘के हो ? मास्क पनि लगाएका छैनौ । किन ?’
‘बाजे बूढो भो ।’ मलाई उसले चेतायो । मान्छे जन्मेपछि बुढो पनि हुन्छ र...। अगाडि यो भन्न सकिन्थ्यो, उसको अवसान पनि हुन्छ, तर भनिएन । मनमा एउटा डर सधैँ रहिरन्थ्यो, अवसान अवश्यम्भावी छ । माइलो के मलाई बुढो भइयो भन्न मात्र आएको हो त ?
‘हो, लौरो टेक्ने भएको छैन । भन माहिला तिमी यति बेला किन ?’ पूर्णतः सचेत भएर मैले यहाँ यस बेला किन आयौ भनिन । त्यस भनाइमा मभित्रको भय व्यक्त हुने आशङ्का थियो । डरलाई पुँजी बनाएर आक्रमण गर्न सकिन्छ ।
‘बाजे मलाई अलिकति पैसा चाहियो ।’
दारु खानलाई ? यो प्रश्न मेरो मुखबाट फुत्त निस्किसकेको थियो । दारु त आफू पनि खाइन्छ । कति भयो खान नपाएको । माहिलाको मुखबाट निस्कने दारुको ह्वास्सको कडा गन्ध मेरो नाकमा परेपछि एकछिन म दारुमा भिजेजस्तो भएँ । लागू पदार्थको लत लागेकाले पेट्रोलै सुँघेर भए पनि काम चलाउनेझैं भएको छु म । कोरोनामा दारु पनि क्षम्य हुनु पर्छ । तर मेरा लागि दारु कसले ल्याइदिने ? यस्तो सोचेँ । केही टेकोभरो छैन । मान्छे विवश छ । मैले पनि विवशता जनाउँदै भनेँ, ‘बाबु पहिले जस्तो छैन । मसँग पनि पैसा छैन ।’
माइलो अनपेक्षित हाँस्यो, भन्यो, ‘पैसा त निकाल्नु पर्छ बाजे अनि हुन्छ । ननिकाली कससँग हुन्छ र ?’
‘म तिमीलाई ठग्दिनँ । तिम्रो बाबु र मसँगै पढेलेखेका साथी थियौँ ।’ यद्यपि यति भनेपछि मैले पाएँ, यो भनाइमा कुनै वजन छैन । उसको बाबु र म सँगै पढेलेखेका भए पनि त्यसले के हुने ? उसको बाबुले चाँडै पढ्न छाडेको हो । काठ ताछ्ने कामतिर लाग्यो । नाम पनि कमायो । ऊसँगै पढ्ने म कलम समात्ने भएँ । संशोधनमा मैले भनेँ, ‘म बुढोसित कहाँबाट पैसा आउनु ?’
‘हहह...बाजेले पनि यस्तो भन्ने ? पैसै छैन ! यस्तो भन्नु उचित हुँदैन ।’ यति भनेर ह्वासह्वास दारुको हस्को छाड्दै ऊ हाँसिरह्यो ।
म कममा पनि उसलाई एक हास्योत्पादक व्यक्ति लागेँछु । उसको बाबुको सन्दर्भ कोट्याएपछि केही दया त मनमा आउनु पथ्र्यो भन्ने सोच्यो होला ऊ । दया त परै, यहाँ त पैसै छैन भन्ने जवाफ दिन्छ बुढो ! बुढाहरू हास्यास्पद नै हुन्छन् । तिनलाई समयको सम्झना हुँदैन । परिस्थितिको पनि । मानिसको अवस्थाको पनि सम्झना हुँदैन । केकस्तो एउटा सुखद अतीतको झझल्को उनीहरूको दिमागमा सलबलाइरहन्छ ।
‘पैसा कसरी हुनु ?’
‘हुन त बाजेलाई पैसा किन चाहियो ? खान पाएकै छ, बस्ने बास छँदै छ । नातिनातिना पनि छन् । तर घरमा म कोही देख्दिन नि । बाजे एक्लै ?’ उसको सोधाइमा कुटिलता थिएन ।
सिङ्गो घरमा बुढो एक्लै भएको बेला मौका यही हो भन्नेतिर उसले सोचेन । मैले को कता गएका छन् यो कोरोनामा पनि भन्ने जस्टिफाइ हुने जवाफ दिइनँ । घरकाहरू बेलामौकामा यस्तै गर्छन् । को कता किन समूह बाँधेर गए भन्ने विवरण पनि दिन चाहिनँ । थाहा भए पो, थाहा छैन, के विवरण दिनु । चुपै उभिइरहेँ । बीचमा जालीवाल ढोका थियो । माइलोले नै बनाएको, त्यसैले छेकबार दिएजस्तो लाग्यो ।
माइलो हमला गर्ने प्रकृतिको व्यक्ति होइन । उसको भनाइमा बाजेलाईं घरमा एक्लै छाडिएको रहेछ, के गर्नु बुढाबुढी घरकुरुवा नै हुन्छन् भन्ने बुझाइ थियो । फकाउन खोजेको पो हो कि ? भित्र आऊ भन्न पनि सकिएको छैन । शिष्टाचार नै भत्कियो ।
तर माइलोको घर छ । उसले घर र त्यसले चर्चेको जग्गा निश्चय पनि बेचेको छैन । ऊ दुब्लाएको देखेर मैले सोचेँ । मानिस दारुले माते पनि दूरदर्शी छ । काम छैन, कोरोनामा । कता पर निर्माण भइरहेको डाङडुङको आवाज आइरहेन्छ । तर के ठेगान । माइलोले बास भुट्यो कि ? सङ्कटमा ब्ल्याकमा दोब्बर मोलमा सामान बेच्नेहरू छन् । सरकार पनि तिनीहरूकै अधिनमा छ भन्छन् । दलाल पुँजीवाद कि के भन्छ टिभीले, तिनैको बाहुपाशमा । माइलोले संकटमा सस्तैमा घरजग्गा बेचेपछि भन्ट्याङभुन्टुङ लिएर भाडामा बस्न थाल्यो कि ?
छोराहरू बढेका छन् । भन्ट्याङभुन्टुङ छैनन् । तैपनि यथार्थ के हो ? भाडा दिन नसकेर उठिबास पो लाग्यो कि ? घरबेटीहरूले भाडा माफ गरेको कताकता सुनेको छु । त्यसैले सबै घरधनीहरू निर्दयी हुन्छन् भनेर तोक्न पनि सकिनँ । एउटा आलु कुहिएपछि बोरै गनाउने गराउँछ भन्छन् । पूरै बोरो आलु कुहिए पनि बीचमा एक सद्दे आलुको दाना बाँकी रहन सक्छ । मैले कुहिएका आलुबारे सोचिनँ ।
माइलो आफ्नै घरमा होला । यो सोचले ढाडस दियो ।
‘तिमी झ्याल बनाउन आउँदैनौ ?’
‘बाजे तपाईं कहाँ छौ । बाहिरी संसारमा धेरै परिवर्तन भइसक्यो ।’
एउटा झ्याल मर्मतको कुरोमा माइलोले संसारै परिवर्तन भएको कुरो झोस्यो ।
‘त्यस्तो के भयो र ?’
‘के भयो र रे ? लकडाउन भएको चार महिनाभन्दा बढी भइसक्यो । हामीजस्तो मानिसले के खाएर बाँच्ने ? काम छैन । मैले बेचेँ, सबै औजार बेचेर खाएँ । तर धरोधर्म त्यो पैसाले दारु खाइनँ । केटाकेटीको बिचल्ली छ ।’
‘छोराहरू पनि त बढिसके होलान् ।’
‘एउटा छोरो कतार र एउटा साउदी गएको अत्तोपत्तो छैन ।’
‘फर्कलान् ।’
‘खै ।’ माइलोको स्वर शिथिल थियो । विश्वास भाँचिएजस्तो । दुःख पनि एक्लै आउँदेन । साथीसङ्गाती जम्मा गरेर आउँछ । सुखको सन्दर्भमा यो भन्न सकिन्न । बिब्ल्याँटै अर्थ छ सुख र दुःखमा ।
चिन्ता यो पर्याे, झ्याल नबन्ने भो । जाडोसम्म के हो कसो हो ? माइलोको के ठेगान ? छोरो मनोजलाई यो खबर दिन लायक छैन । झ्याल नबन्ने कुरो र माइलो आएको त थियो तर दारु खाएर भन्ने ? ऊ कराउन थाल्ने हो । माइलो मैले नै पुलपुल्याएर बिग्रेको हो भनेभैmँ । पैसा पनि खाने भो, झ्याल पनि नबन्ने भो । मलाई लक्षित गरेर भन्न पनि सक्छ- कस्ताकस्तासँग सङ्गत गरिएको छ ?
‘अनि अहिले के गर्दै छौ ?’
‘के गर्दै छौ ?...के गर्नु नि । रिनसापट लिनेजति लिइसकियो । कामै छैन । यसो टिपटाप ग¥यो बेच्यो खायो । राहत पाइने भए लाइनमा बस्न गयो । कान टाठा पारेर बस्छु ।’ माइलोले कान छाम्दै भन्यो ।
यहाँ ऊ के, उसकै भाषामा टिपटाप गर्नै भनेर आएको रहेछ ? मैले उसलाई भित्र आउने आग्रह पनि गर्न सकेको छैन । राम्रै भयो ।
टिपटापको अर्थ विस्तार गरेर मैले बुझ्न सकिनँ । आशयकरणी जस्तो बोलिरहेछ माइलो । तर त्यस्तो भावभङ्गिमा छैन । निराशाले जर्जर भइसकेको रूपान्तरतिर गइरहेछ । जे होस्, जालीवाल ढोकाले छेकेको छ । तर ऊ बोलेपिच्छे दारु ह्वास्सह्वास्स गनाइरहेछ । केही हदसम्म आपूmले दारु खान नपाएको कालान्तर भइसकेकाले मिठो अनुभूति पनि भइरहेछ ।
‘तर म बाजेको झ्याल बनाइदिने हुँ । माइलो आफ्नो वचनको पक्का छ ।’
‘कहिले आउँछौ त ? घरमा मान्छे भएको बेला आऊ न ।’
‘हैन, हुँदैन बाजे, मान्छे नभएको बेला आउँछु । मनोजले मलाई हप्काउँछ । मलाई मन दुखाउनु छैन उसका कुरा सुनेर ।’ ढिठ छ माइलो । पेस्की पनि लगेको छ र मन दुखाउनु पनि छैन भन्छ ।
‘गरिबको मन असाद्धे दुख्छ नि बाजे ।’
उसले आफ्नो इमानदारी देखाउन त्यसो भनेको होला । यसै बेला भित्र फोनको घण्टी बजेको छ । मलाई एउटा मोबाइल पनि किनिदिएका छैनन् । कोरोना पनि छ । केही खतरा प¥यो भने ? अहिले मात्रै आएको त हो कोरोना भन्छन् । खतरा त पहिलेदेखि नै छ । ल्यान्ड लाइन छँदै छ, किन चाहियो मोबाइल ? वाहियात ! घरभित्र बसेपछि कोरोनाबाट सुरक्षित भइन्छ । वास्तवमा मोबाइलको उपयोगिता देखिएन ।
कोराना पनि छ भन्नु तर्कसङ्गत भएन । यसो सोचेँ, मलाई मोबाइल किन चाहियो ? मेरा लागि बाहिर जान रोक लागेको छ अहिले ।
माइलो आएको छ । ढोकाबाहिर ऊ छ र भित्र म । त्यस्तै हो । कोही साँच्चै नै लुट्न भनेर आएछ भने प्रतिरोध गर्न म सक्ने होइन ।
जालीवाल ढोका फोरफार गरेर भित्र पसिवरी मलाई खुम्य्राएर एउटा कुनोमा फालिराखेर वा मलाई टाउँकैमा रडले हानेर मारेपछि भएभरिका लग्यो भने पनि फरक पर्ने होइन । मलाई नमारेकै बेस ठान्नु प¥यो । चोरेको भन्दा हत्या गरेको जघन्य अपराध ठहरिन्छ । सजाय भए पनि हत्याभन्दा चोरेको सजाय कम हुनेछ भन्ने बुझाइ राख्ने बौद्धिक चोर आएछ भने त हो तर चोरले अरू सबै थोक चोरे पनि बुद्धि चोर्ने गर्दैन । यस्तो मेरो मान्यता छ । खोइ कुन्नि कि हो ?
पछि प्रहरी त आउला । त्यति बेलासम्म चोर वा हत्यारा कता पुगिसक्छ । अनुसन्धान जारी छ भन्ने हुन्छ । बारतेह्र वर्षपछि चोर वा हत्यारा समातिन पनि सक्छ । द्रुत गतिमा अपराध अनुसन्धानको प्रगति असम्भव हुन्छ । चोर वा हत्यारा भनेर पहिचान गरिसकिए पनि प्रमाण चाहियो । झमेलै छ ।
तर एउटा कुरो म बुझिरहेको थिइनँ, माइलोले भनेको त्यो टिपटाप भनेको के हो ? माइलो त्यस्तो भयो त ?
भित्र फोनको घण्टी दोहोरिएर–तेहोरिएर बजिराखेको छ । कुनै ठाउँबाट कसैले फोन गरेको होला । अफिसबाट छोरोले फोन गरेको हुन सक्छ । सरकारी खर्चको फोन जति थिचे पनि भो— दोहो¥याएर–तेहो¥याएर । सोच्यो होला— बा फोनको घण्टी नसुन्ने गरी भुसुक्कै निदाएको मात्र हो वा अरू केही ? समयसमय फोन गरेर उनीहरू जाँचिरहन्छन् । मेरो चिन्ता छ उनीहरूलाई । घरको चिन्ता पनि संलग्न छ ।
भित्र गएँ र फोन उठाएँ ।
‘बाबा, के भइरहेछ । अगि फोन किन उठेन ?’
‘माइलो आएको छ । ढोकाबाहिरै छ ।’ भित्र बसालेको छु भनेँ भने ? मैले बसालेको छैन । कोरोनै बोकेर आएको रहेछ भने । मास्क पनि लगाएको छैन ।
‘के भन्छ ? झ्याल मर्मत गर्न आएको हो कि ? कस्तो समय छानेर आएको हो त ऊ ?’
‘भन्छ, अलिकति पैसा पेस्की थपिदेऊ ।’ माइलो दिनुस् भन्न जान्दैन- ‘बाजे पैसा देऊ’ भन्छ । पिएमले मलाई तपाईं भनेनन् भनेर रिसाएझैं रिसाउनु भएन । कामले सम्मान दिने हो । माइलोको भाषा मिठो हुन्छ । अपमानबोध गराउँदैन ।
‘पैसा ? पैसा के रूखमा फल्छ ।’
क्या कल्पना छ, पैसा रूखैमा फल्ने भए ? छोरोले भनेको कुरो यथावत् मैले माइलोलाई भन्न मिलेन ।
त्यसो भन्यो भने माइलो भन्न सक्छ- ‘त्यस्तो रूख पनि हुन्छ र बाजे ? रूखसुख भन्नुभन्दा पैसा दिन्न भने भैगो । दिन सबैका आउँछन् बाजे । यो नसोच बाजे मेरा दिन गए भनेर, मेरा दिन आउँदै छन् ।’
यस्तो भनाइ खाएर ङिच्रिक्क पर्नुभन्दा चुपै बस्नु बेस । बुढेसकालमा अपमानित हुनु छैन ।
‘होइन, केटाकेटी भोकै भए भन्छ ।’
‘भोकै भए भन्छ कि दारु खान पैसा छैन भन्छ । तपाईं पनि बाबा, मान्छे चिनेपछि ।’ ऊ अरू केके थप्दै थियो- हलेदो भनेर जानेपछि...।
हलेदो भनेर जाने पनि पहेँलै हो नजाने पनि पहेँलै हो । केटाकेटी नै भोकै छन् भनेपछि द्रवित हुने खण्ड आइहाल्छ, गोजीमा छ भने, मेरा सन्दर्भमा । मान्छे म कठोर हुन सक्दिनँ । उसका केटाकेटी भोकै बस्नुमा म पनि दोषी छु भन्ने भाव पैदा भयो । उसका केटाकेटीलाई भोकै बस्न नदिएर केही पुण्य कमाइ पो हाल्छु कि ? पुण्य कमाउने लोभ त भइहाल्छ । भोलि साथमा जाने त पुण्य नै हो भन्छन् ।
म फर्कँदा माइलो उसरी नै ढोकामा उभिएको थियो । मलाई लागेको त माइलो गइसक्यो । गएको भए मैले बोलाउने थिइनँ । भित्र फोन उठाउन गएको मान्छे फर्कुञ्जेल पर्खनु पर्दैन ? फोन उठाउने निहुँले तर्केर गएको हो कि भन्ने गम्यो होला । खाँचो परेको बेला कसैले सहयोग गर्दैन । माइलोले सोचेको हुन सक्छ तर उसको श्वासबाट ह्वास्ह्वास्स आउने दारुको गन्धको अवरोध पनि छ, आकर्षण पनि छ ।
कसरी भन्ने कि उसले पैसा लगेर केटाकेटीको मुखमा माड लाउने हो ? धर्मसङ्कट छ । धर्मै गर्नु छ, सङ्कट छाडिदिऊँ, जे त गर्ला । दारु खाए पनि केटाकेटीको पेटमा जाउलो हाले पनि पाप-धर्म उसको ।
कहिलेदेखि हो मैले लुकाएर राखेको बिटोबाट एउटा पाँच सयको नोट थुतेर साथमा ल्याएको थिएँ । पाँच सयको मूल्य नै के हुन्छ र भन्ने भइसकेको छ । तैपनि केही त पाइन्छ । खाली हात माग्नुभन्दा पैसा देखाएर किन्नुमा फरक छ ।
‘बाजे, खाली हातै फर्कुँ त ?’ मैले उसलाई पैसा दिन्छु भनेर बोलाएको होइन । मनमा रिस उठेको त हो । तैपनि जालीवाल ढोकामुनिबाट पाँच सयको नोट छिराएँ- ‘लौ, मसँग भएको यत्ति हो ।’
‘त्यसो भन्नु हुन्न बाजे । कहिले मुखमा सरस्वती बसेकीे हुन्छिन् ।’
उसले पाँच सयको नोट टिपेपछि उभिँदै भन्यो । उपदेश पनि पाइयो । राम्रै भयो ।
‘झ्याल बनाउन कहिले आउने ?’
‘कोरोना छ बाजे । फेरि लकडाउन होला जस्तो छ । कोरोना सकियोस् र अनि ।’
‘हैन यो तिमी के भन्दै छौ माहिला ?’
तर ऊ अलि पर पुगिसकेको छ । उसको पिठ्ठिउँ हेर्नुबाहेक अरू गर्न पनि के सक्थेँ म ? मैले अगि पनि भनिसकेँ, ऊ विश्वासिलो पात्रता भएको जीव होइन ।
असोज १०, २०७७ शनिबार ११:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।