सपरिवार कलाकार

सपरिवार कलाकार
कलाकार उदिराम खड्का सपरिवारका साथ।

परिवार त परै जाओस्, आफू पनि कला क्षेत्रमा क्रियाशील हुँला भन्ने उनले सोचेकै थिएनन्।

तर, तत्कालीन नेकपा माओवादीले २०५५ सालमा रोल्पा, जुघाँरस्थित जलजला इंग्लिस बोर्डिङ स्कुल बन्द गरिदिएपछि उनको जीवनले नयाँ मोड लियो। गाउँमा जमेका उदिरामलाई स्कुलको जागिर छुटेपछि भविष्यको चिन्ताले सताउन थाल्यो।

र, उनी हानिए, दाङतिर। दाङमा पनि उनले बोर्डिङ स्कुलमै पढाउने काम पाए। तर, उनी त्यहाँ ६ महिनाभन्दा बढी टिक्न सकेनन्। र, जागिर छाडेर चितवनतिर लागे। त्यहाँ पनि उनले ५–७ महिना मात्रै एक स्कुलमा पढाए। र, काठमाडौं हानिए।

‘त्यतिबेला स्कुल बन्द नभएको भए सायद जलजलामै पढाइरहेको हुन्थे,’ उनले सुनाए।

काठमाडौं जानुअघि उनको योजना थियो– राष्ट्रिय नाचघरमा नाच सिकेर चितवन फर्किने। र, स्कुलमा नाच सिकाउने। तर, ६ महिना नाच सिकेपछि उनलाई चितवन फर्कन मन लागेन।

‘यति सिकेर नाच सिकाउन अपुग हुन्छ जस्तो लाग्यो। त्यसपछि यही संघर्ष गरें,’ उनले सुनाए।

त्यसयता नृत्यमा निरन्तर क्रियाशील रहेका उनले आफूलाई कुशल नृत्यकारको रुपमा चिनाइसकेका छन्।

उनको विशेषता हो– संस्कृतिमूलक नाच नाच्नु। त्यो पनि कुनै एउटा ठाउँ विशेषको होइन, सुदूरपश्चिमदेखि सुदूरपूर्वसम्मको। देशभरका झन्डै ४० प्रकारका संस्कृतिमूलक नाच नाच्ने गरेको उनी बताउँछन्।  

देउडा, छलिया, हुड्केली, झ्याउरे, टप्पा, ट्यापुली, सोरठी, थारु, कौडा, पश्चिमको सोरठी, सालैज्यू, थकाली, भोजपुरी, मैथली, झिझिया, घाँघर, नेवारी, तामाङ सेलो, शेर्पा, धान नाच, हापरे, चन्डी, सतार, लाखे, मञ्जुश्री, कुमारी, मयुरलगायतका नाच नाच्ने गरेको उनले बताए।

उनी स्वदेशमा मात्रै होइन, विदेशमा पनि नाच प्रदर्शन गर्ने गरेका छन्।

‘नाच देखाउनकै लागि १६ देश पुगिसकें। त्यहाँ २०–२५ प्रकारका नाच देखाइसकेको छु,’ उनले भने, ‘विदेशमा आफ्नो देशको संस्कृति देखाउन पाउँदा आनन्द लाग्छ।’

उदिराम आफू मात्रै कला क्षेत्रमा क्रियाशील छैनन्, उनको पूरै परिवार यस क्षेत्रमा जमेको छ। 

उनकी पत्नी बिर्मा खड्का नृत्य सिकाउँछिन्। त्यति मात्र होइन, उनी ड्रेस डिजाइनर पनि हुन्।

जेठो छोरा विवेक वाद्यवादनसँगै म्युजिक भिडियो निर्देशन गर्छन्। कान्छो छोरा मनोज म्युजिक भिडियो एरेन्जर र छोरी विन्दु सर्ट मुमी निर्देशक हुन्।

पत्नीले २०६३ सालदेखि नै संस्कृति झल्कने नाच सिकाउन थालेको उदिराम बताउँछन्। ‘यहाँ आएपछि दुई वर्षसम्म कल्चरल (संस्कृति झल्कने) नाच सिकिन्। त्यसपछि यसमै क्रियाशील छिन्,’ उनले भने।

छोराछोरीले यस क्षेत्रमा सफलता हात पार्न थालेको उनले सुनाए।

‘जेठो छोरा विवेक र छोरी विन्दुले निर्देशन गरेका केही म्युजिक भिडियो ट्रेन्डिङ वानमा पुगेका छन्,’ उनले भने।  

जेठो छोरा ५ वर्षको उमेरदेखि नाच सिक्न थालेको उनी बताउँछन्। छोरीले तीन वर्षको छँदा नाटकमा अभिनय गरेको उनले सुनाए। ‘छोरीको कल्चर डान्स एकदमै राम्रो छ। सबैले प्रशंसा गर्छन्,’ उनले सुनाए।

जेठो छोराले १०/१५ वटा म्युजिक भिडियो निर्देशन गरेको तथा ५० भन्दा बढी अफिसियल म्युजिक भिडियो र सयभन्दा बढी कभर म्युजिक भिडियो एडिटिङ गरेको उदिराम बताउँछन्।

छोरी र कान्छो छोराले गीत पनि गाउने गरेको उनले बताए।

पारिवारिक वातावरणले छोराछोरी कला क्षेत्रमै क्रियाशील भएको र यसले आफूलाई गौरवको अनुभूति भइरहेको उनी सुनाउँछन्।

संगीतकार तथा निर्देशक नारायण रायमाझीको उत्प्रेरणा तथा सहयोगले आफूहरु कला क्षेत्रमा जम्न सफल भएको उनले बताए।

तपाईंहरूको भावी योजना के छ त ?

उनी भन्छन्– कला क्षेत्रमै क्रियाशील हुुन्छौं।

 

असोज १०, २०७७ शनिबार ०७:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।