पुरिँदै पोखरी, गुम्यो नगरको सौन्दर्यता

पुरिँदै पोखरी, गुम्यो नगरको सौन्दर्यता

प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिर छेउमै रहेको तेल्हा मरहा पोखरीलगायतका थुप्रै पोखरी संरक्षणको अभावमा जीर्ण छन्।

नगर क्षेत्रभित्र रहेका पोखरीको उचित संरक्षणमा कसैको ध्यान नपुग्दा ऐतिहासिक सहरको सौन्दर्यता नै गुमेको छ। 

जानकी मन्दिरमा पूजापाठ गर्न प्रत्येक वर्ष हजारौं व्यक्ति आउँछन् तर, नजिकैको पोखरीको अवस्था हेर्दा श्रदालु भक्तजनमा नराम्रो असर पर्ने गरेको छ।

पोखरीको डीलमा थुप्रिने फोहोरको डंगुरले त झन मन्दिर क्षेत्रलाई नै दुर्गन्धित तुल्याएको छ। तेल्हा महहा पोखरीको रामायणकालीन इतिहास रहेको छ। 

पोखरी नै पोखरी भएको शहरको रुपमा परिचित प्राचिन मिथिलाको राजधानी जनकपुरधामको ऐतिहाशिक महत्व बोकेका पोखरी संरक्षण गर्न स्थानीय सरकार पहल नगरेको स्थानीयको आरोप छ। 

चेम्बर अफ कर्मश जनकपुरधामका वरिष्ठ उपाध्यक्ष सरोज मिश्रले नगर प्रमुख लालकिशोर साह, उपप्रमुख रीताकुमारी मिश्रलाई कयौँ पटक कुरा गर्दा पनि पोखरीहरु संरक्षणमा चाँसो नदिएको बताउछन्।

सो पोखरीको जिम्मा नगरपालिका र गुठीको हो। गुठीले पनि पोखरी संरक्षणमा खासै ध्यान दिएको छैन। 

पानी सुक्दै गएको पोखरीको छेउछाउको जमिन मिचेर थुप्रै घर निर्माण गरिएका छन्। जसले गर्दा पोखरी अतिक्रमणको चपेटामा परेको छ।

जनकपुरमा ५२ कुटटी ७२ कुण्ड रहेका छन्। जनकपुरमा अवस्थित राम सागर, तेल्हा, मड़हा, चरण पादुका सर, पुरनदर सर, जानकी सरोवरलगायतका थुप्रै पोखरीहरु जीर्ण छन्। 

उपमेयर रीता मिश्रले वडा वडामा रहेको पोखरीको संरक्षणको लागि कार्य अगाडि बढाएको बताइन्।

जमकपुरधाम उप–महानगरपालिकाले हाल पोखरीको अवस्था बारे अध्ययन भैरहेको बताइन्।

जनकपुरधामको ऐतिहासिक गरिमा बचाईराख्न पोखरीको संरक्षण र सम्बर्धन गर्नुपर्नेमा सरोकारवालाको भनाइ छ।

ऐतिहासिक पोखरीहरुको सरसफाइ तथा सौन्दर्यकरण गर्न सके उप–महानगरपालिकाको लागि राम्रो आम्दानीको स्रोतसमेत बन्ने देखिन्छ।
 

असोज ८, २०७७ बिहीबार १३:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।