डिग्री पास कृषकको सफलता

डिग्री पास कृषकको सफलता

२०६८÷६९ सालमा उनले एक हजार रुपैयाँमा पाँच पोका च्याउका बीऊ खरिद गरे। त्यसलाई घरभित्रै उमारेर बजारमा लगे। अहिले उनी एउटा सफल च्याउ खेती व्यवसायी बनेका छन्।

च्याउँ खेतीबाट कृषि पेशामा प्रवेश गरेका उनले कुरिलो खेती, कुखुरापालन, माछापालन पनि गरिरहेका छन्। 

‘एक हजार रुपैयाँको च्याउको बीउ किनेर कृषि कर्म अगाडि बढाए,’ उनले भने,‘६ वर्षमै कृषिबाटै एक करोड बढी रुपैयाँको कारोबार गर्न थालेको छु।’

उनले कृषि व्यवसायबाटै ६ वर्षमै कुखुराका दाना बिक्री गर्ने थोक पसल सञ्चालनसमेत गरेका छन्। 

६ बिघा जमिनमा कुरिलो खेती, एक विघामा माछापालन गरेका छन्। भट्टले २६ टनेलमा च्याउ खेती र ६ हजार कुखुरा पालन गरेका छन््। ‘कृषिमै हात हालेको छोटो समयमै सन्तोषजनक छु,’ उनले थपे।

प्रेमराजले जडिबुटीलाई टेवा पुगोस् भनेरै कुरिलो खेती सुरु गरेको बताए। ‘कुरिलोको जरा महँगोमा बिक्री हुने भएकाले अहिले ६ बिघा जमिनमा खेती गरेको छु,’ उनले भने। चिम्ट्याइलो माटो र पानी नजम्ने जमिनमा कैलालीमा कुरिलो खेती राम्रो हुने उनले बताए । 

‘यहाँको जमिन र हावापानी कुरिलोका लागि उपयुक्त छ,’ उनले भने,‘त्यही भएर ६ बिघा जमिनमा यो खेती थालेको छु।’
कृषि पेशाबाटै मासिक चार लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनले सुनाए।

आफूले कृषि पेशालाई अँगालेदेखि नै जीवन परिवर्तन भएको उनी बताउँछन्। ‘जानेपछि कृषिमै पैसा फालाफाल रहेछ।’

जेटिए अध्ययन गरेका प्रेमराजले शिक्षा शास्त्र संकायमा स्नातकोत्तर गरेका छन्। ‘कृषिलाई निरन्तरता दिनकै लागि जेटिए पढेँ,’ उनले भने,‘पछि शिक्षा संकायमा स्नातक पनि गरेँ।’ 

जेटिए पढेका उनलाई जागिरका लागि तमामौ अवसर पनि आए। तर, उनले जागिर भन्दा पनि आफ्नै व्यवसाय महत्वपूर्ण ठाने। 

‘अरुकोमा गएर काम गरेबापत पाउने मासिक तलब भन्दा थोरै भए पनि आफ्नै गर्नुपर्छ भन्ने लाग्थ्यो त्यो बेला’ उनले भने,‘जागिरका तमामौ अवसर छोडेर स्वरोजगारको निर्णय लिएको हुँ।

सरकारले कृषिमा अनुदान दिएको बताउँदै आए पनि आफूले अहिलेसम्म एक पैसा अनुदान नपाएको उनको गुनासो छ। 

‘हामीजस्ता वास्तविक किसानलाई सरकाले हेर्दैन,’ उनि भन्छन्,‘पहुँच र जिम्दार (जमिन भएका तर काम नगर्ने) किसानलाई भने अनुदान दिने गरेको छ।

पहुँचका आधारमा मात्रै कृषिको अनुदान पाउने प्रावधानले आफुजस्ता वास्तविक किसान मारमा परेको उनको गुनासो छ । 

स्वदेशमा केही अवसर छैन भनेर अर्काको देशमा गएर सस्तोमा पसिना बगाउनेहरुका लागि प्रेमराज सफल उदाहरण बनेका छन्।


 

असोज ७, २०७७ बुधबार २०:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।