धान पहेँलियो, मल छैन
मल ल्याउने क्रममा भारतीय सीमामा रहेका एससवीले उनलाई लखेटे। नेपाल आउँदा नेपाल प्रहरीले दूई बोरा युरियाको एक सय रुपैयाँ लिए।
धनुषामा एकातिर सहज रुपले मल पाइदैन। अर्कोतर्फ भारतबाट लुकीचोरी मल ल्याउँदा पनि दुबै देशका सुरक्षाकर्मीको हैरानी खेप्नुपर्ने मारमा किसान छन्।
आफ्नो देशमा मल सहज रुपमा उपलव्ध नहुँने र भारतबाट ल्याउँदा हैरानी खेप्नु परेकाले कतिपय किसानले यो वर्ष धानमा मल नै राख्न पाएका छैनन्।
‘कि त सरकारले स्वदेशमै सहज रुपमा मल उपलब्ध गराओस् नत्र भने भारतबाट ल्याउँदा अबरोध नगरोस्’ अर्का किसान मो.सहजादले भने।
एक जना किसानले नाम नलेख्ने शर्तमा भने, ‘रातिको समयमा ट्याक्टर, ट्रक समेतमा बोराका बोरा मल पारीबाट प्रहरीको मिलेमतोमा नै व्यापारीदेखि तस्करहरूले सजिलै ल्याइरहेका हुन्छन्। तर, किसानले १० किलोदेखि २० किलोसम्म मल किनेर ल्याउँदा पनि मल समात्ने, फालिदिने, कुटपिट गर्ने काम हुन्छ।’
सशस्त्र प्रहरी वल धनुषाका प्रहरी उपरीक्षक नरेन्द्र सेन भने अहिले सीमा नाका नै सिल हुँदा कसैलाई भारतबाट मल ल्याउन नदिएको बताउँछन्।
‘हामीले कुनै व्यापारी वा तस्करलाई मल ल्याउन दिएको भने आरोप सत्य होइन,’ सेनले भने, ‘किसानलाई समेत मल ल्याउन नदिएको भएर उक्त आरोप लगाएको हुन सक्छ।’
विक्रेताहरूले चर्को मूल्यमा भारतीय मलसमेत विक्री गर्ने गरेको किसानहरू बताउँछन्।
धान रोपाईको बेलामा डीएपी, युरिया, पोटास तथा क्याल्सियम सहित मलको आवश्यक्ता पर्दछ। रोपाईं भएको एक महिनाभित्र युरिया मलको आवश्यक्ता हुन्छ।
धानको बिरुवाको हरितकण बढाउन तथा बिरुवालाई बलियो बनाउन, बिरुवालाई हुर्काउन युरिया मलको आवश्यकता हुन्छ।
यो वर्ष मल नपाउँदा धानको बोट पहेँलो हुनथालेको किसानहरु बताउछन्। यस वर्ष धनुषामा ५९ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको छ।
धानखेतीमा १ हेक्टरमा एक सय ९२ किलोग्राम युरिया मल आवश्यक हुन्छ।
त्यसअनुसार धनुषामा धान खेतीका लागि मात्रै ११ हजार तीन सय २८ मेट्रिक टन युरिया मल आवश्यक पर्छ।
धनुषामा हालसम्म आधिकारिक रूपमा साल्ट ट्रेडिङ कोर्पोरेसन लिमिटेड शाखा कार्यालय जनकपुरले तीन हजार ६ सय ६० बोरा युरिया मात्र वितरण गरेको छ।
१ बोरामा ५० किलोग्राम हुन्छ, त्यसअनुसार धनुषामा हालसम्म १८.३ मेट्रिक टन युरिया मल मात्र वितरण भएको छ।
कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ गरी दुईवटा संस्थानले सरकारी अनुदानको मल उपलव्ध गराउँदै आएका छन्।
कृषि समाग्री कम्पनीले कुल मलको ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत मल विक्री वितरण गर्ने गर्छन्।
साल्ट ट्रेडिङको शाखा कार्यालय जनकपुरका निमित्त कार्यालय प्रमुख बासुदेव उपाध्यायले चार सय ८६ मेट्रिक टन युरिया मल आउने क्रममा रहेको बताए।
त्यसमध्ये कुल सात हजार दुई सय ७९ बोरा मल आएको छ। गत आइतबार र सोमबार गरेर धनुषामा ३ हजार ६ सय ६० बोरा मल डिलरलाई विक्री गरिएको उपाध्यायले जानकारी दिए।
यस्तै दुई हजार ७ सय १९ बोरा मल महोत्तरीका डिलरहरूलाई विक्री गरिएको छ भने ९ सय बोरा विक्री भैरहेको उनले बताए।
धनुषामा ९० जना र महोत्तरीमा ८१ डिलरलाई मल विक्री गरिएको तथा प्रत्येक डिलरलाई ५०–५० बोरा मल दिएको उनले बताए।
मल विक्री गर्ने ७० प्रतिशत कोटा पाएको कृषि सामग्री कम्पनीले भने हाल सम्म धनुषा, महोत्तरीमा एक किलोग्राम पनि युरिया मल विक्री गरेको छैन।
साल्ट ट्रेडिङले ७ सय ५२ रूपैयाँ प्रतिबोरा युरिया मल डिलरलाई विक्री गर्दछ। डिलरले किसानलाई गाउँमै गएर विक्री गर्नुपर्नेमा डिलरहरूले कालोबजारी गर्ने गरेको किसानको गुनासो छ।
लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोडाका किसान कामेश्वर यादवले गाउँमा भुजंगी बाबा सहकारी सस्थाका अध्यक्ष लक्ष्मेश्वर साहले लगेको सबै मल कालोबजारी गरेर आरोप लगाए।
चार सय ८० बोरा डीएपी र ५० बोरा युरिया मल साल्ट ट्रेडिङबाट किनेर २५ सय रूपैयाँमा डीएपी र १२ सय रूपैयाँ प्रतिबोरा युरिया मल विक्री गरेको साहले बताए।
गाउँपालिकाको कृषि शाखामा गएर कुन–कुन किसानलाई कति मल कुनकुन दरमा विक्री गरेको भनेर हिसाब माग्दा समेत नदिए साहले बताए।
उपाध्यायले सहकारी सस्थाहरुले ढुवानी चार्ज तथा सञ्चालन खर्चसमेत जोडेर प्रतिबोरा थप एक सय रूपैयाँ भन्दा बढी लिनु भनेको कालोबजारी भएको बताए।
‘हाम्रो काम मल विक्री गर्ने हो। अनुगमनको काम प्रहरी प्रशासन, स्थानीय तह र प्रदेश सरकार मातहत रहेको कृषि ज्ञान केन्द्रको हो’ उपाध्यायले भने,‘विक्री गरिएका डिलरहरूको सूची, नाम, मोबाइल नम्बरसहित कृषि ज्ञान केन्द्रलाई उपलब्ध गराइसकिएको छ।’
कृषि ज्ञान केन्द्र धनुषाका कृषि प्रसार अधिकृत राजेन्द्रप्रसाद यादवले भने विभिन्न स्थानीय तहमा गएर मलको अनुगमन गरिएको बताए।
अनुगमनका क्रममा भेटिएका केही त्रुटिलाई सच्याउन भनेको उनले जानकारी दिए। करिव ४५ वटा डिलरमा गरिएको अनुगमनका क्रममा प्रायले पहिले नै मल विक्री गरिसकेको पाइएको झाले जानकारी दिए।
‘अनुगमनका क्रममा केही किसानले सहकारीले मल विक्री गरेको बारे जानकारी नै नपाएको गुनासो गरे’ झाले भने,‘केहीले मल पाएको वताए पनि सहकारीले के कति मुल्यमा मल विक्री गरेको भन्ने तथ्यांक भने पाउन सकिएन।’
धनुषाको मिथिला बिहारी नगरपालिकाको ठेरा गाउँमा माँ भवाणी कृषि सहकारी संस्थाका सञ्चालक भरोसी दासले नेपाली मलका साथसाथै भारतीय मल पनि किसानलाई बेचेको स्वीकार गरे।
किसानले यो वर्ष समयमै मल नपाउँदा धान उत्पादनमा कमी आउने चिन्ता व्यक्त गरेका छन्।
असोज ७, २०७७ बुधबार १२:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।