फस्टाउँदै माछापालन व्यवसाय
धनगढी : एक वर्षअघिसम्म बाँझो रहेको धनगढी उपमहानगरपालिका–१८ ए गाउँको १२ बिघा जमिनको अहिले रुप फेरिएको छ।
वडा नम्बर १४ का युवा लक्ष्मी देवकोटाले बाँझो जमिन भाडामा लिएर व्यवसायिक माछापालन सुरु गरेपछि बाँझो जमिनको रुप फेरिएको हो।
उनले चार बिघा जग्गामा पोखरी बनाएका छन्। दुई वटा पोखरीमा माँगुर जातको माछा पालन थालेका छन्। भने अर्को पोखरीमा स्थानीय जातका माछा छन्। एक पोखरीमा भने पानी जम्मा गरेका छन्।
माछापालन पछि कुखुरा, बाख्रा पालन पनि सुरुगर्ने योजना उनले सुनाए।
अहिले एक लाख माछाका भुरा हालेका छन्। उनका अनुसार पोखरीहरूको संरचना निर्माण, भुरा र दाना लगायतका काममा ५० लाख रुपैयाँ बढी खर्च भइसकेको छ।
गोदावरी नगरपालिका–१४ का लक्ष्मण कुँवरले पनि धनगढी उपमहानगरपालिका–१४ मा तीन वर्षदेखि व्यवसायिक रुपमा माछापालन गरिरहेका छन्।
उनले माछापालनबाट वार्षिक २० लाख रुपैयाँको हाराहारीमा आम्दानी हुने गरेको सुनाए।
उनले सर्वोदय माध्यामिक विद्यालयको जग्गा १० वर्षका लागि भाडामा लिएर माछापालन शुरु गरेका हुन्।
रहु, विगेट र पंगासिस जातका माछापालन गरिरहेको उनले बताए।
चार बिघा जग्गामा चार वटा पोखरी बनाएका छन्। संरचना निर्माणमा मात्रै करिव ७० लाख रुपैयाँ खर्च भएको उनले सुनाए।
भुरा, दाना र अन्य खर्च वार्षिक ९० लाख रुपैयाँ जति खर्च भइरहेको उनले बताए। अहिले एक लाख भुराहरू पोखरीमा राखेका छन्।
धनगढी उपमहानगरपालिकाका विभिन्न वडामा पछिल्ला केही वर्षयता व्यवसायिक माछापालन व्यवसाय फस्टाइरहेको छ।
धनगढी उपमहानगरपालिकाका पशु विकास शाखाका अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा ६ दशमलव ४७ हेक्टर जग्गामा नयाँ पोखरी निर्माण र आठ दशमलव ५४ हेक्टर जग्गामा पोखरी मर्मत गरिएको थियो।
त्यस्तै, आर्थिक वर्ष २०७६÷७७ मा तीन दशमलव ६८ हेक्टर नयाँ पोखरी निर्माण भएको छ भने चार दशमलव छ हेक्टर जग्गामा पोखरी मर्मत गरिएको छ।
उपमहानगरपालिकाको पशु विकास शाखा अधिकृत पदमबहादुर रौलेले पछिल्लो समय माछापालनमा आकर्षण बढ्दै गएको बताए।
उनले भने–‘माछापालनमा आकर्षण बढेको छ। यही क्रम रहने हो भने नगर मात्र नभई प्रदेशलाई नै माछामा आत्मनिर्भर बनाउन सकिन्छ।’
मत्स्य विकास केन्द्रका अनुसार कैलालीमा हाल दुई सय हेक्टरमा व्यवसायिक माछापालन हुँदै आएको छ।
कैलालीमा वार्षिक ९ सय मेट्रिक टन माछा उत्पादन हुँदै आएको छ।
केन्द्रका प्रमुख सूर्य शाहीले वार्षिक १० प्रतिशतले नयाँ पोखरी निर्माण भइरहेको बताए। उनका अनुसार एक हेक्टरमा साढे चार मेट्रिक टन माछा उत्पादन हुन्छ।
कैलालीमा व्यवसायिकसंगै प्राकृतिक तालमा पनि माछापालन हुँदै आएको छ।
जिल्लामा एक हजार २८ हेक्टर क्षेत्रफलमा प्राकृतिक ताल रहेका छन्। शाहीले भने–‘प्राकृतिक तालमा प्रति हेक्टर दुई मेट्रिकटन माछा उत्पादन हुने गरेको छ।
समस्यामा कृषक
माछापालनतर्फ आकर्षण बढ्दै गए पनि माछापालक किसानहरुले विभिन्न समस्या झेलिरहेका छन्।
उनीहरुको प्रमुख समस्या भनेको बजारको अभाव हो। लक्ष्मण कुँवरले माछा उत्पादन भए पनि बजारको अभाव रहेको सुनाए।
किसानले उत्पादन गरेका माछ सजिलै बजारसम्म लैजान स्थानीय, प्रदेश र संघिय सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताए।
माछापालकलाई बजारसंगै उनीहरुले प्राविधिक जानकारी प्राप्त गर्न पनि समस्या रहेको छ।
माछापालक कुँवरले भने–‘हामी माछापालन त गरिरहेका छौँ, तर, यससम्बन्धी प्राविधिक ज्ञान दिने दक्ष जनशक्ति सहजै उपलब्ध हुँनैन्।
अर्का माछापालक किसान लक्ष्मी देवकोटाले दाना अभावको समस्या पनि किसानहरुले झेल्नु परिरहेको बताए।
धनगढी उपमहानगरपालिका पशु विकास शाखाका अधिकृत रौलेले यस वर्षको बजेटमा माछापालक किसानका लागि बजार व्यवस्थापन सम्बन्धी विशेष कार्यक्रम ल्याउने योजना बने पनि बजेट अभाव भएको बताए।
सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा उत्पादन गरिएका माछाहरु स्थानीय बजार र पहाडी जिल्लामा विक्री वितरण भइरहेका छन्।
अहिले कैलाली र कञ्चनपुरमा बढ्दै गएको माछापालनले केही हदसम्म भारतबाट आयात हुने माछालाई प्रतिस्थापन गरेको केन्द्रका प्रमुख शाहीले बताए ।
किसानले पाउँदैनन कृषि मिटर
कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने राज्यको नीति छ तर, कृषकलाई सिंचाई, मल र बीउको अभावले सधैं सताइरहन्छ।
देशको अधिकांश क्षेत्रका किसान खेतीका लागि वर्षाको पानीमा निर्भर हुन्छन् कि त विद्युतीय मोटर पम्पको प्रयोग गरी जमिनको पानी तान्ने गर्दछन्।
विद्युतीय मोटरबाट पानी तान्दा महंगो पर्ने गरेको किसानको गुनासो छ। माछापालनमा मोटर पम्पको प्रयोग बढी हुन्छ। कृषि
मिटरमार्फत विद्युतीय मोटर प्रयोग गर्दा किसानहरुले मिटर बिल निःशुल्क पाउने गर्छन्।
माछापालक किसान कुँवरले कृषि मिटर जडान गरिदिन विद्युत कार्यालयमा पटक–पटक निवेदन पेश गरे पनि सुनुवाई नभएको बताए।
जेनेरेटरमा डिजेल खर्च बढी हुने भएकाले अहिले सोलार मार्फत मोटर पम्प चलाइरहेको उनले सुनाए।
असोज ५, २०७७ सोमबार १२:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।