झुटो बोलेको फल

हामीले कहिल्यै झुटो बोल्नु हुँदैन । झुटो बोल्नाले आफ्नै हानी हुन्छ ।

एकादेशमा एकजना माधव नाम गरेका बालक थिए । उनको घरमा थुप्रै बाख्रा पालेका थिए ।  हुन त अरु दिन बाख्रा चराउन उनका बाबा नै जानेगर्थे तर शनिबार शनिबार भने स्कूल जान नपर्ने भएकोले माधव नै बाख्रा चराउन जाने गर्थे ।  माधब अलिकति चकचके पनि थिए । उनलाई बदमाशी गर्दा निकै रमाईलो लाग्ने गथ्र्यो । शनिबार बाख्रा चराउन जाँदा पनि कहिले बाख्राको रौं काटिदिन्थे त कहिले जंगलमा चराहरुको फुल चोर्ने गर्थे । उनको रुखमा चढने बानी पनि थियो त्यसैले कैयौंपटक त रुखबाट खसेर माधवलाई चोट पनि लागेको थियो ।

एकदिन उनी जंगलमा बाख्रा चराउन गएका थिए । त्यसैबेला उनले गाउँलेहरुले खेतमा काम गरिरहेको देखे । माधवको मनमा बदमाशी गर्ने योजना फुर्न थाल्यो । जंगलमा पुगिसकेपछि बाख्राहरु चर्न लागेपछि उनी एउटा रुखमा चढे । अनि केही सम्झेजस्तो गर्दै जोडसँग गुहार गुहार बाघले मेरा बाख्रा खाईदियो भन्दै चिच्याउँन  थाले । त्यहाँ खेतमा काम गरिरहेका मान्छेहरुले त्यो आवाज सुनेपछि हतारिँदै त्यहाँ आईपुगे ।

त्यहाँ आउँदा त्यहाँ कुनै बाघ आएको थिएन । बाख्राहरु मजाले चरिरहेका थिए अनि माधव रुखमा बसेर गाउँलेहरुलाई झुक्याएकोमा निकै रमाईलो मानेर हाँसिरहेका थिए । गाउँलेहरुलाई यो कुरा मन परेन । उनीहरु रिसाउँदै अनि माधवलाई गाली गर्दै त्यहाँबाट गए । माधव भने हाँसिरहे । घरमा उनका बाबाले पनि माधवको बदमासीको बारेमा थाहा पाईसकेका रहेछन् । उनले माधवलाई सम्झाउँदै यसरी झुटो बोल्नु हुँदैन भने । माधवलाई बाबाको कुरा सुनेर उल्टै हाँसो लाग्यो ।

अर्को शनिबार पनि माधवलाई बाख्रा चराउन जानुपर्यो । यसपटक पनि उनी त्यही खेतको बाटो भएर बाख्रा चराउन गए । आजपनि गाउँलेहरुलाई झुठो बोलेर झुक्याउने बिचार माधवको मनमा आयो । कुनै कुनै गाउँलेहरुले त रिसाएर हेरे माधवलाई ।  तर उनी भने मुसुमुसु हाँस्दै बाख्रा धपाउँदै त्यहाँबाट अघि बढे । आजपनि उनी रुखमा चढे,एकछिन गीत गाएजस्तो गरे । अनि फेरी गाउँलेहरुलाई झुक्याउने बिचार गरेर पहिलेजस्तै गुहार माग्दै चिच्याउन थाले ।

- गुहार गुहार, बाघले मेरो बाख्राहरु खानलाग्यो म पहिला झुटो बोले पनि अहिले साँचो बोल्दैछु !..... गुहार !

यसपटक भने साँचो कुरा गरेको हो कि जस्तो लाग्यो गाउँलेहरुलाई त्यसैले उनीहरु माधवको सहयोगका लागि दौडिएर फेरी त्यहाँ आईपुगे । यसपटक पनि माधव रुखमा बसेर हाँसिरहेका थिए अनि गाउँलेहरुलाई झुक्याएकोमा आनन्द मानिरहेका थिए ।  एकजना गाउँलेले त रिसाउँदै माधवलाई पिट्न पनि गए तर माधव भने झन रुखमाथी चढेर आफुलाई बचाईहाले । यसपटक भने घरमा बाबाले खाना खान पनि दिएनन् माधवलाई । तर पनि उनलाई भने कुनै पश्चाताप थिएन ।

त्यसपछिको शनिबार पनि माधवलाई बाख्रा चराउन जानुपर्यो । यसपटक भने उनी निकै ज्ञानी भएर बाख्रा चराउन गए । गाउँलेहरुलाई हेर्दापनि हेरेनन् । बरु केही गाउँलेहरुले नै उनलाई रिसाउँदै हेरे । आज भने उनी रुखमाथी चढेर बाँसुरी बजाईरहे । यत्तिकैमा त्यहाँ खस्र्याकखुस्रुक आवाज आयो । बाख्राहरु आत्तिदै यहाउता दौडिन थाले । त्यहाँ साँच्चिकै बाघ आएको थियो । माधवको सातोपुत्लो गयो । उनी आत्तिदै गुहार माग्न थाले, तर गाउँलेहरुले माधवको विश्वास गर्न छाडिसकेका थिए त्यसैले अहिले पनि माधवले झुटो नै बोलेको हो भन्ने ठानेर सहयोगका लागि त्यहाँ कोही पनि आएनन् । बाघले पालैपालो उनका सबै बाख्रा खाईदियो र अन्त्यमा दुःखी भएर खुट्टा लतार्दै माधव घर फर्किए । आफु झुटो बोल्नाले आफुलाई कसैले विश्वास नगरेको कुरा उनले राम्रैसँग बुझे  ।
झुटो बोल्ने बानीले गर्दा माधवले आफ्ना सबै बाख्राहरु गुमाए ।

शिक्षा : हामीले कहिल्यै झुटो बोल्नु हुँदैन । झुटो बोल्नाले आफ्नै हानी हुन्छ ।

 

असोज ५, २०७७ सोमबार ०७:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।