स्कुल जानै मज्जा !

स्कुल जानै मज्जा !

काभ्रेपलाञ्चोक : स्कुल बन्द भएको छ महिना पुग्यो। कहिले खुल्ने हो अझै टुंगो छैन। शहर बजारका बालबालिका घरभित्रै सिमित छन्। अनलाईन कक्षा र ईन्टरनेटमा रमाउनु उनीहरुको दैनिकी बनेको छ। तर,गाँउघरका बालबालिका भने घरखेतका काममा अभिभावकलाई सघाउनु र उकाली ओरालीमै व्यस्त छन। र पनि लामो समय स्कुल जान नपाउनुको पीडा उनीहरुको मुहारमा झल्किन्छ।

रोशी गाँउपालिका –२ काफलडाँडाका बालबालिका अहिले त्यही स्कुले दिनको सम्झनामा दिन विताईरहेका छन्। गत साता काभ्रे पुग्दा उनीहरुले साथीभाईसँगै खेलेको र पढेको समय सम्झँदै स्कुल जानुमै मज्जा रहेको अनुभव साँटे। गोधुली साँझ काफलडाँडा बास बस्न पुग्दा उनीहरु आँगनमा खेलिरहेको र बाबुआमालाई काममा सघाईरहेको देखिन्थे।

भर्खरै कक्षा ५ बाट ६ कक्षामा पुगेकी पविना मगर स्कुलका साथीहरुसँग हाँसखेल गरेको सम्झना गर्छिन। ‘हजुरबा हजुरआमालाई काममा सघाउँछु। घरमा पनि पढ्छु।तर,स्कुलमा पढेजस्तो हुँदैन। सिकाउने मान्छै छैनन्।’ ‘छिट्टै सकुल जान पाए हुन्थ्यो’ उनी भन्छिन।

लक्ष्मिनारायण माविमा ७ कक्षा पढ्ने सविना जर्गा मगर पढाई भन्दा घरकै काममा व्यस्त हुने गरेको बताउछिन। ‘ईन्टरनेट छैन। पढाईमा ध्यान जाँदैन। स्कुलमा पढेको जस्तो नहुने रहेछ। मज्जा त स्कुलमै छ’ सविना निरास हुँदै भन्छिन।    

भर्खरै कक्षा १० टेकेकी सिर्जनाको गुनासो पनि उस्तै छ। उनी घरमा बसेर पढ्दा ध्यान नगएको गुनासो गर्छिन।‘घरमा पढ्दा पढाईमा ध्यान जाँदैन। कहिलेकाँही नबुझेका कुरा सरलाई फोन गरेर सोध्छु।’सिर्जनाले सुनाईन। त्यस्तै ८ कक्षाका नविन र ९ कक्षा पढ्ने सञ्जिना पनि स्कुल खुल्ने दिन कुरिरहेका छन्।

सपना बाटिका ईलिंस स्कुल बानेश्वरमा एक कक्षा पढ्दै गरेका साजन पनि स्कुलमा साथीसँग खेल्न नपाउँदा नमज्जा लागेको बताउँछन्।

पढ्नै विर्सेलान भन्ने चिन्ता 

अभिभावकहरु बालवालिका घरमै बस्दा दुःख दिने र सताउने नगरेको बताँउछन। तर,उनीहरुलाई छोराछोरीले पढाईको लय विर्सन्छन कि भन्ने चिन्ता भने छ।  

पविनाका बुवा बल वहादुर पढेका कुरा विर्सन्छन कि भन्ने चिन्ताले सताउने गरेको बताँउछन। ‘कहिलेकाँही सरहरु आउनुहुन्छ।लामो समय भयो स्कुल बन्द भएको पढेको कुरा विर्सन्छन भन्ने चिन्ता छ’ बल वहादुर गुनासो गर्छन।

साजनकी आमा संगिता लकडाउनमा काठमाडौंमा रहँदा केही दुःख दिएपनि गाँउ आएपछि बच्चाको स्वभावमा कुनै परिवर्तन नआएको र नसताएको बताउँछिन। ‘लामो समय कोठामै बस्नुपरेको भए गाह्रो हुन्थ्यो। चैत्रको अन्त्यमै गाँउ आईयो यतै रमाईरहेको छ।’

यो गाँउ पछिल्लो समय चर्चामा रहेको तीनधारे (बाहुवली) झरना नजिकै पर्छ । काफलडाँडामा करिव २५ मगर परिवारको बसोवास छ।

 

असोज ४, २०७७ आइतबार १२:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।