गुरुकुलीन शिक्षण पद्धतिमा प्रविधि
बदलिंदो परिस्थिति अनुसार प्रविधिलाई आत्मसात गर्दै अगाडि बढ्नु आजको पहिलो आवश्यकता हो। विश्वव्यापी कोरोना कहरका कारण नेपालमा मात्र विभिन्न उमेर समूहका लाखौं शिक्षार्थीहरू प्रत्यक्ष पठनपाठनको माध्यमबाट बञ्चित भएकाछन्। सबै भन्दा बढी प्रभावित हुने क्षेत्रमा शिक्षा क्षेत्र नै परेको छ।
अबका दिनमा यसले कस्तो स्वरुप ग्रहण गर्ने हो र यसले शिक्षा क्षेत्रलाई कुन अवस्थामा पुर्याउँदछ भन्ने विषय भविष्यले देखाउने पाटो हो। भविष्यका कर्णधार बालबालिकाहरूको मनमस्तिष्कमा यसले पारेको प्रभाव र प्रभावजन्य समस्याका बारेमा भविष्यमा हुने अनुसन्धानले आफ्नो रिजल्ट देखाउने छन्। यत्ति भन्दैमा शिक्षाक्षेत्र पूर्णरुपमा तहस नहस भने भैसकेको छैन र यस भित्र विभिन्न खालका सकारात्मक प्रयास भइरहेका छन्। शिक्षा मन्त्रालय यसको व्यवस्थापनका लागि विभिन्न माध्यमबाट अगाडि बढको छ।
पठनपाठनको वैकल्पिक व्यवस्था, विषय समायोजन, प्रविधिको उच्चतम प्रयोग, टेलिभिजन तथा विभिन्न एफएम रेडियोहरुबाट दृश्य तथा श्रव्य माध्यम सहित सबैलाई जोड्ने प्रयास गरिरहेको छ। अहिले आएर सञ्चार प्रविधि शिक्षाको अभिन्न अंग बनिसकेको छ। प्रविधि रहित शिक्षा अबका दिनमा अपुरो र अधुरो हुने निश्चितप्रायः भइसकेको छ।
यसकारण अहिलेको समय भनेको उपलब्ध प्रविधिलाई आत्मसात गर्दै अगाडि बढ्नु नै हो र यसको विकल्प छैन। यिनै विषयवस्तुलाई मध्यनजर गर्दै शैक्षणिक गतिविधिलाई प्रविधिसँग जोडी विद्यार्थीका बिच पुग्नु अहिलेको पहिलो आवश्यकता हो। यसको सहज व्यवस्थापनका लागि निम्नानुसारका विषयमा ध्यान दिनुपर्ने हुन्छ।
विद्युतीय व्यवस्था
नेपाल पूर्ण रुपमा विद्युतीय सञ्जालमा नजोडिएकोले केही चुनौती अझ सम्म पनि जस्ताको तस्तै छन्। देश लोडसेडिङ मुक्त भएतापनि विभिन्न कारणले बिच - बिचमा लाइन आउने जाने हुनाले विद्युतको दीगो व्यवस्थापन पहिलो आवश्यकतामा पर्दछ।
भौगोलिक विषमताका कारण अविरल वर्षा, चट्याङ, हावाहुरी र बाढीपहिरोले विद्युतीय क्षेत्रलाई तहसनहस पार्ने र मर्मत सम्भारका लागि हप्तौं कुर्नुपर्ने समस्याको समाधान हुनुपर्दछ। समग्र पठनपाठनको श्रोत विद्युतीय माध्यम भएकोले यसको वैकल्पिक व्यवस्था सहितको उचित व्यवस्थापनहुनु पहिलो आवश्यकता हो।
प्रविधिको पहुँच :
देशका दूरदराजमा टेलिभिजन र एफएम रेडियोहरूको पहुँच भएतापनि नेट - इन्टरनेट जस्ता आधुनिक प्रविधिको सञ्जाल विस्तार हुन सकेको छैन। अनलाइन मार्फत सहरी क्षेत्रमा निजी विद्यालयहरूले चालिस देखि सत्तरी प्रतिशत विद्यार्थीलाई समेटेको देखिन्छ भने सामुदायिक विद्यालयको उपस्थिति दश देखि बीस प्रतिशत सम्म रहेको छ भने दुर्गम क्षेत्रका विद्यालयहरू बेखवर नै छन्।
पठनपाठनका लागि लक्षित वर्ग र समुदाय सम्म पुग्न कम्प्युटर, ल्यापटप, ट्याब्लेट मोबाइल जस्ता आधुनिक प्रविधिको आवश्यकता पर्ने हुन्छ। यो आर्थिक रुपमा महंगो खालको प्रविधि भएकोले देशको दूरदराजमा बस्ने सबै वर्ग र समुदायलाई कसरी समेट्न सकिन्छ यसका लागि सरकारले छुट्टै नीति तर्जुमा गर्नु पर्दछ। यसका चुनौती र सम्भावनाहरू के-के हुन् यस विषयमा ध्यान दिनु जरुरी छ।
प्रविधिको गलत प्रयोग :
पछिल्लो समयमा पढाई र सिकाइको माध्यम नेट - ईन्टरनेट र सामाजिक सञ्जाल बनेका छन्। हिजोका दिनमा हामीले विद्युतीय माध्यमबाट चल्ने उपकरण र पठनपाठनका माध्यमलाई अवैधानिक भनेका थियौं भने बदलिंदो परिस्थितिमा पठनपाठनको अनिवार्य माध्यम यहीं नै बन्न पुगेका छन्।
विद्यार्थीका लागि पठनपाठन सम्बन्धि चाप त्यति सारो धेर नहुने भएकोले फुर्सदिलो समयमा फेसबुक, भिडियो गेम, सामाजिक सञ्जालको अनावश्यक प्रयोग र यसबाट पर्न सक्ने सम्भावित समस्या निराकरणका लागि अविभावक नै सचेत हुनुपर्दछ। प्रविधिको गलत प्रयोग र उत्पन्नहुने समस्या निदानका लागि पूर्व तयारी तर्फ ध्यानदिनु पर्ने पहिलो आवश्यकतामा पर्दछ।
सन्दर्भ सामग्री र शैक्षिक व्यवस्थापन :
शैक्षिकसत्र प्रारम्भ हुनु अगावै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्नु पर्ने थियो। महामारीका कारण त्यो सम्भव नभएकोले अहिले हाम्रा विद्यार्थीहरूको हातमा पाठ्यपुस्तकहरू उपलब्ध छैनन्।
यस्तो अवस्थामा पठनपाठनलाई सहजीकरण गर्दै गुणस्तरीयता प्रदान गर्नका लागि समय तालिका, पाठ्य सामग्री संकलन, भाषा छनोट, सिकाईको प्रभावकारिता, सीप सिकाई र यसबाट हुने उपलब्धिको मापन, आन्तरिक मूल्याङ्कन, जोखिम युक्त र मुक्त क्षेत्रको पहिचान, स्थानीय निकाय मार्फत सामुदायिक तथा निजी क्षेत्रका शिक्षकहरूको परिचालन र व्यवस्थापनका माध्यमबाट विद्यार्थीहरूसँग जोडिरहनु पहिलो आवश्यकता हो।
शैक्षिकसत्र खेरजान नदिने सरकारी घोषणालाई कार्यान्वयन गर्नका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कार्यान्वयन गर्ने र गराउने निकाय भनेको विव्यस, विद्यालय र शिक्षक नै भएकोले यसको व्यवस्थापनमा शिक्षकहरूको उपस्थिति र भूमिका महत्वपूर्ण हुनुपर्दछ।
समन्वय :
शिक्षक, अविभावक र विद्यार्थीको समन्वयकारी भूमिकाका लागि विद्यालय व्यवस्थापन समिति र स्थानीय निकाय क्रियाशील बन्नुपर्दछ। स्थानीय निकायको पहुँच जनस्तर सम्म हुने हुनाले त्यहाँ आइपर्ने समस्याको समाधान र उपलब्ध हुन सक्ने प्रविधिको कार्यान्वयन मार्फत पठनपाठनको समुचित व्यवस्था सहित शिक्षाको व्यवस्थापन मार्फत विद्यार्थीसँग जोडिरहनु पर्दछ।
कक्षा व्यवस्थापन:
राज्यको श्रोत तथा निजी लगानी भएका शिक्षण संस्थाहरूले औपचारिक तथा अनौपचारिक माध्यमबाट शिक्षकहरूलाई क्रियाशील बनाई विद्यार्थी भेटघाट, अघिल्लो कक्षापार गरेका विद्यार्थीहरूको पुस्तक, लेख्य तथा सन्दर्भ सामग्री सहित टेलिभिजन, रेडियो तथा स्थानीय एफएमका माध्यमबाट सञ्चालित कक्षाहरूको समय तालिका उपलब्ध गराई सहजीकरण गर्दै आफूमा रहेको वैकल्पिक शिक्षा धारलाई कार्यान्वयनमा उतार्नु पहिलो आवश्यकतामा पर्दछ। निरन्तरको सम्पर्कबाट विद्यार्थीमा हुने नैराश्यता, एक्लोपन र तनावबाट मुक्त गराई श्रृजनशिलता तर्फ अगाडि बढाउनु अहिले पहिलो आवश्यकता हो।
गुरुकुल र प्रविधि :
पालमा सञ्चालित गुरुकुलहरूको मुख्य श्रोत व्यवस्थापन भनेको मठमन्दिर, साधु - सन्त महन्तबाट शिक्षाका नाममा गरिने भीक्षाटन, कथाप्रवचन श्रद्धावान् भक्तजनहरूबाट गरिने अन्नदान, मुष्ठीदान यज्ञयागादिबाट संकलित रकम नै गुरुकुल सञ्चालनका मुख्य श्रोत हुन्। अपवाद बाहेक धेरै जसो गुरुकुलहरूमा राज्यको लगानी छैन।
दानदातव्यबाट सञ्चालित गुरुकुल व्यवस्थापन आफैमा चुनौतीपूर्ण छन् र यिनीहरूको व्यवस्थापन व्यक्ति वा समुदायसँग सम्बन्धित छ। यो क्षेत्रमा अध्ययन गर्ने विद्यार्थीहरू देशका विभिन्न दूरदराजबाट आउने भएकोले कोरोनाका कारण प्रत्यक्ष रुपमा हुने पठनपाठनको श्रृंखला टुट्न पुगेको छ। सम्भव भएसम्म यो विषम परिस्थितिमा आफ्नो सीप लगाई आधुनिक प्रविधिलाई आत्मसात गर्दै विद्यार्थीलाई जोड्ने कार्य धेर - थोर रुपमा सबै गुरुकुलहरूले गरिरहेका छन्।
शैक्षिक व्यवस्थापन :
बदलिंदो परिस्थितिमा उच्च र आधुनिक शिक्षा प्राप्तिका लागि बाहिरिने शिक्षार्थीको व्यवस्थापनका लागि उच्च प्रविधि युक्त शैक्षिक व्यवस्थापन नेपालमै हुनु जरुरी छ। स्वदेशमै खपत हुने खालको जनशक्ति निर्माणका लागि प्रविधि र व्यवसायी मैत्री शिक्षाको कार्यान्वयनमा विशेष जोड दिनु आवश्यक छ।
संकटापन्न अवस्थामा बाहिरी संसारसँग जुधेका विद्यार्थीहरूलाई स्वदेशमै रुचि अनुसारको विषय पठनपाठनको व्यवस्था मिलाउन सक्दाको अवस्थामा विद्यार्थीको बहिर्गमनलाई कम गर्न सकिन्छ। विद्यार्थीलाई परामुखी नभई अन्तर्मुखी गराउँदाको अवस्थामा देशले शैक्षिक क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्न सक्दछ भने उच्चशिक्षाका नाममा बाहिरिने पूँजी पलायन पनि रोकिनपुग्दछ।
यस तर्फ समयमै ध्यान पुर्याउँदको अवस्थामा शैक्षिक क्षेत्र आफैमा स्थापित र समुन्नत हुन पुग्दजान्छ। यसका लागि दृढ ईच्छाशक्तिका साथ समयमै उचित नीति तर्जुमा र कार्यान्वयन गर्दै अगाडि बढ्दा समयमै शिक्षा क्षेत्रलाई समुन्नत पार्न सकिन्छ।
शैक्षिक वर्षलाई खेर जान नदिन पठनपाठनको माध्यमका रुपमा चलाईएको अनलाइन पद्धतिलाई सरकारले वैकल्पिक आधारको मान्यता प्रदान गरेको र प्रत्यक्ष विधिद्वारा पढाउन सक्ने अवस्था नभएकोले तदनुरूप व्यवस्था मिलाई प्रविधि मैत्री बन्नु र बनाउनु अहिलेको पहिलो आवश्यकता हो।
(लेखक नेपाल वेदविद्याश्रम गौशाला काठमाडौंका नि.प्रधानाध्यापक हुन्)
असोज ४, २०७७ आइतबार १०:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।