घरमै पुगेर स्वाब संकलन

घरमै पुगेर स्वाब संकलन
विराटनगर महानगरपालिकाले संचालनमा ल्याएको स्वाब भ्यान।

विराटनगर महानगरपालिकाले कोरोना परीक्षण गर्न गरिने स्वाव संकलनका लागि विशेष किसिमको स्वाव भ्यान संचालनमा ल्याएको छ। विशेष गरी बृद्ध, अपाङ्ग, बालबालिका र सुत्केरी महिलाहरूको स्वाव  घरमै पुगेर संकलन गर्ने उद्देश्यले स्वाव भ्यान संचालनमा ल्याइएको हो। 

स्वाव भ्यानको माध्यमबाट घरमै पुगेर मोबाइल पीसीआर टेष्ट गर्न सहज हुने छ। स्थानीय स्रोतसाधनबाट अत्याधुनिक र सुविधासम्पन्न मोबाइल स्वाब भ्याननिर्माण गरी  विराटनगर महानगरपालिकाले मोबाइल पीसीआर टेष्ट  सेवा प्रवाह गर्न लागेको हो। 

विराटनगर महानगरपालिका र रोटरी क्लब अफ विराटनगरको संयुक्त प्रयासमा स्वाब भ्याननिर्माण गरिएको हो। नेपालकै पहिलो गाडी उत्पादन कर्ता हुलास कम्पनीले ४ लाख रुपैयाँ लागतमा मोबाइल स्वाब भ्यानको निर्माण गरेको महानगरपालिकाले जनाएको छ। भ्यानमा सेन्सर सेनिटाइजर, भित्रैबाट बाहिर निर्देशन दिन सकिने र वातानुकुलित व्यवस्था मिलाइएको छ। 

विशेष किसिमको भेनको प्रयोगबाट पीसीआर र आरडीटी गर्न  सहज हुन्छ। रोटरी क्लब अफ विराटनगरले जिम्मेवारी लिएर बनाएको उक्त मोबाइल स्वाब भ्यानको साँचो शुक्रबार विराटनगर महानगरका मेयर भीम पराजुलीलाई हस्तान्तरण गरेको थियो। 

स्वाब भ्यानको साँचो बुझ्दै मेयर पराजुलीले मोबाइल स्वाब भ्यानबाट विराटनगरका वृद्ध, बालबालिका, अपाङ्ग तथा सुत्केरीहरुलाई सेवा दिइने बताए। उनले चाँडै मोवाइल भ्यानको माध्ययमबाट घरमै पुगेर  सेवा प्रवाह गर्न मातहतका शाखालाई निर्देशन दिएका छन्।

मोबाइल स्वाब भ्यान आएसँगै सेवा लिन नसक्ने वर्ग लाभान्वित हुने स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए। उनले सेवा प्रवाहमा कुनै कसर बाँकी नराखिने बताएका छन्। 

यो भ्यान निर्माणका क्रममा विराटनगर महानगरका सामुदायिक विकास महाशाखा प्रमुख पुनम दाहाल, डा.प्रज्वल खतिवडाले प्राविधिक पाटोमा सहयोग गरेका थिए। संक्रमितको संख्या बढेसँगै विराटनगरमा स्वाव संकलनमा कठिनाई उत्पन्न भइरहेको थियो। 

स्वाव टेष्ट गराउनेको संख्या बढेपछि बृद्ध, आपाङ्ग, बालबालिकालाई स्वाव दिन समस्या भइरहेको थियो। धेरैबेर लाइनमा बस्नुपर्ने र भिडभाड पनि हुने भएकाले स्वाव दिएकै ठाउँबाट संक्रमण हुने खतरा पनि थियो। स्वाव भ्यानमार्फत घरमै पुगेर स्वाव परिक्षण हुने भए पछि बृद्ध, बाबालिका, अपाङ्ग, सुत्केरी र विरामीहरूको पीसीआर परीक्षण गर्न  सहज भएको छ। 

असोज ४, २०७७ आइतबार ०८:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।