डा.केसीको स्वासप्रस्वासमा समस्या

डा.केसीको स्वासप्रस्वासमा समस्या

सुर्खेत : जुम्लामा अनसनरत् डाक्टर गोविन्द केसीको स्वासप्रस्वासमा समस्या देखिएको छ। डा.केसीलाई शुक्रबार रातीबाट छाती र स्वासको समस्या देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर अनुप मंगल समालले जानकारी दिए।

अनसनको छैठौं (शनिबार) डा. केसीमा कमजोरी, चक्कर लाग्ने, मांसपेसी बाउडिने र मुटुको चाल गडबडी भएको डा.समालले जनाए। उनका अनुसार पिसाबको मात्रा कमी भएको छ भने प्रेसर क्रमिक रुपमा कम भइरहेको छ। 

डा.केसीको पिसाबको मात्रा मध्यरातदेखि दुई सय मिलिलिटर कम हुँदै आएको छ। दिनमा तीन पटक सामान्य स्वास्थ्य जाँच गरी अस्पताल जान परामर्श  दिएपनि उनले अस्वीकार गर्दै आइरहेको डाक्टरको भनाई छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायत कार्यक्रम सञ्चालन गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश २, गण्डकी प्रदेश तथा डोटी, डढेल्धुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल सञ्चालनको लागि प्रक्रिया अघि बढाइनुपर्ने माग राख्दै केसी अनशनमा बसेका हुन्। 

२०७५ साउन १० गते भएको सम्झौता कार्यान्वयन हुनुपर्ने माग केसीको छ। डाक्टर केसी जुम्लाको बाविरामष्टो मन्दिरमा गत भदौं २९ गतेदेखि सत्याग्रहमा बसेका छन्। 

उनले मन्दिर नजिकैको डुडुलचैत्यमा अनशन बस्न खोजेका थिए। तर, प्रहरीले त्यहाँ जान नदिएपछि उनी मन्दिरमै अनशन बसेका हुन्।

असोज ३, २०७७ शनिबार १८:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।