गाउँमा कुटोकोदालो चलाउँदै मेरी बास्सैका सभामुख 

गाउँमा कुटोकोदालो चलाउँदै मेरी बास्सैका सभामुख 

लकडाउनले राजाधानी थलिने हल्ला चलेपछि धेरै मान्छेले कर्मथलो छोडेर जन्मथलो फर्किए। कोही वाध्यताले फर्किसकेका छन् भने कोही राजधानी फर्कने बाटो हेरेर बसिरहेका छन्। 

गत चैत ११ गतेदेखि देशभर लागेका लकडाउनले घर पुगेकाहरु घरका बाँजो खेत खनेर उब्जाउन गर्न थाले। यही हुलमा काठमाडौंलाई कर्मथलो बनाउँदै आएका कलाकार कल्याण राई पनि आफ्नै गाउँ फर्किए। 

एक समय हास्य टेलिशृखला ‘मेरी बास्सै’मा सुवास नेम्वाङ जस्तै अनुहार गरेका कलाकार चर्चित थिए। मेरी बास्सैमा सभामुखको अभिनयले चर्चामा आएका राईलाई अरु भूमिका भन्दा पनि सभामुखको उपनामले बढी चिन्छन्। उनको यही हाउभाउ र ठ्याक्कै अनुहार मिलेको कारण धेरै पटक प्रहरी पनि झुक्किएको कल्याणको भनाई छ।  

तिनै सभामुख अर्थात् कल्याण राई यति बेला आफ्नै  घर ओखलढुंगाको रुम्जाटारमा खेतीपाती गरिरहेका छन्। उनी लकडाउन सुरु हुनुभन्दा दुइदिन अगाडी गाउँ पुगेका उनी खेती किसानीमा लागेका हुन्। अहिले उनी घरमा बसेर कुटो कोदालो चलाइरहेका छन्। 

फोन कुराकानीमा उनी भन्छन्,‘अहिले राजधानी फर्किहाल्ने अवस्था छैन, घरमा नै बसेर श्रीमतीलाई काम गर्न सघाइरहेको छु, एक दुइ वटा बाछाबाछी पालेर बसेको छु, यसैलाई हेरचाह गर्ने विहान बेलुका घाँस काट्ने काम गरिरहेको छु।’

गाउँ फर्किएपछि उनले घरछेउको बारीमा सुठुनी (सखरखण्ड) रोपेका छन् भने अढाई सय बोट स्ट्रबेरी, भुइँस्याउको बोट र दर्जनौं फलफूलका बोटहरू हुर्काइ सकेका छन्। आफुले लगाएको बाली हेर्दै मख्ख परेका कल्याण काठमाडौं आइहाल्ने अवस्था नरहेको बताउँछन्। 

‘काठमाडौं फर्किएर सुटिङमा व्यस्त हुने समय छैन, गाउँमा बसेर घरकी श्रीमतीलाई यसो सघायाृे भने उनी पनि खुसी, आफुलाई पनि आनन्द हुने रहेछ’, उनी भन्छन्। 

उनले घरमा बसेको बेला गोडा चारेक सुँगुर पनि पाल्न भ्याएका छन्। ‘घरको लामो बसाईका कारण केही त गर्ने पर्यो नि हैन, शरीरलाई जति तह लगायो उति राम्रो’, उनी भन्छन्। 

घरमा नै बसेका बेला फिल्म, टेलिफिल्मलाई चटक्कै छोडेका पनि छैनन् उनले। विहान बेलुका फुर्सदको समयमा सिरियल पनि लेखिरहेका छन्।

‘घरमा बसेको बेलामा सिरियल पनि लेखिरहेको छु, सायद तिहारपछि धानबाली थन्काएर काठमाडौं एक पटक आएर सुट गर्नुपर्ला, यता त कलाकार नै हुँदैनन्, कलाकारीतामा त गाउँ एउटा खहरे हो, काठमाडौं त समुन्द्र हो, त्यसैले सुटिङका लागि भने म त्यता आउँछु होला, अन्त सिरियलमा पनि खबर आइरहेको छ, अहिले कृषिमा लागेकोले र काठमाडाैं आउन असहज भएकाले सकेको छैन,’ कल्याणको भने। 

उनले सय भन्दा बढी गीत गाइसकेका छन्। दर्जनाैं फिल्म, टेलिफिल्म तथा फिल्ममा अभिनय पनि गरिसकेका छन्। तर, मेरी बास्सैको सभामुख पात्रबाटै उनी चिनिएका हुन्। 

असोज ३, २०७७ शनिबार १४:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।