महत्वाका‌ंक्षा : विनाशको प्रतीक

महत्वाका‌ंक्षा : विनाशको प्रतीक

(मेरो पहिलो निबन्धसङ्ग्रह २०४८ सालमा छापियो –बालक हराएको सूचना। २०५३ सालमा नारीभित्र त्यस्तो के छ हजुर छापियो। २०५५ सालमा उत्तमजङ्ग सिजापतिको आलु छापियो। अनि निकै लामो अन्तरालपछि २०६८ सालमा आँधी नआउने घर छापियो। अहिले पाँचौँ निबन्धसङ्ग्रह तयारी अवस्थामा छ। मैले कविताबाट साहित्यिक यात्रा थालेको भए पनि पहिलो कृति प्रकाशित भएको थियो निबन्ध। मलाई धेरै मन पर्ने विधा पनि निबन्ध नै हो। निबन्ध मन पर्नुको कारण हो त्यसमा आफ्ना विचारहरू मज्जाले राख्न पाइन्छ। अरू विधामा पात्रका मुखबाट भनाइने कुरा निबन्धमा आफैंले भन्न पाइन्छ। मेरो पहिलो निबन्ध जसलाई मैले आजसम्म कुनै सङ्ग्रहमा समावेश गरेको रहेन छु। यो निबन्ध चालीस वर्षअघि २०३७ सालमा गणेश निरौलाको सम्पादनमा इलामबाट प्रकाशित कन्दरा साहित्यिक सामयिक सङ्कलनमा प्रकाशित मेरो पहिलो निबन्ध हो। जसमा पहिलोपल्ट नामका पछि धरावासी छापिएको थियो। मेरो निबन्धको प्रथम पाइलो कस्तो रहेछ भन्ने जाँच्न पाठकसमक्ष प्रस्तुत गरेँ।)

हाम्रो तिर्खा मेट्नका लागि हैन, नत्र त पानीले घाँटी भिजेपछि तृप्ति भई जाने थियो ; हाम्रो खोजी प्राप्तिका लागि हैन, नत्र त प्राप्तिपछि विराम चिह्न देखिने थियो। त्यसो भए केका लागि त हाम्रो खोजी र तिर्खाहरू ? सायद यसको जवाफ छैन। हामीले जीवनमा कहिल्यै पनि आफ्नो वास्तविक अभाव, आवश्यकता र तृष्णालाई चिन्न सकेका छैनौँ। हामीले कहिल्यै पनि हाम्रो दुर्भाग्यको कारणलाई खोजेका छैनौँ। केवल हामी चिच्याइरहेछौं सत्य र वास्तविकताभन्दा धेरै टाडा उभिएर।

हामी सत्यलाई कुल्चेर सत्य खोज्छौं, हामी वास्तविकतालाई नाघेर अघि बढ्छौं, हामी जीवनको घाँटी निमोठेर बाँच्न चेष्टा गर्छौं। सायद त्यसैले होला सृष्टिको आरम्भदेखि नै हामीले यथार्थ र सत्यका पुजारीहरूलाई क्षमा गर्न सकेनौँ। सायद त्यसैले होला क्रस, वीष र फाँसीमा हामीले हाम्रो जीवन र सत्यलाई झुण्ड्याएर हाँस्न सक्यौँ।

हामी शान्तिका लागि युद्ध गर्छाँै, स्वार्थका लागि अपराध बटुल्छौँ, चोरीको आरोपबाट जोगिन हत्या गरिदिन्छौँ। हामी जीवन खोज्दै दर्शनको ठेलीमा शरण लिन पुग्छौँ, उत्थान खोज्दै राजनीतिका बुँदा रट्न पुग्छौँ, ज्ञान खोज्दै साहित्य पछ्याउँछौँ तर हामी कहिल्यै पनि आफूभित्रको ‘म’–लाई चिहाउने चेष्टा गर्दैनौ। हल्ला, हो–हल्ला नारा र जुलुसमा हामी त्यो खोज्छौं जो हाम्रो रछ्यान, पेटी र भण्डारमा पाइन्छ। कृत्रिमता र आडम्बरभित्र हामी त्यो खोज्छौँ जो हाम्रै वरिपरिको प्रकृतिमा विद्यमान छ। हामी दौडधुप भित्रै केही पाउँदैछौँ भन्ने धारणामा सारा आयुलाई रित्तै मृत्युसँग फिर्ता पठाइदिन्छौँ। साथी ! हाम्रो महत्वाकाङ्क्षाले हामीलाई सधैँ जलन दिइरहेछ, पोलिरहेछ, पिल्साइरहेछ।

केही गर्ने र केही हुने अभिप्साभित्र दिनप्रतिदिन हाम्रो जीवन खिइँदै गइरहेछ, असफलताहरूको फोस्रो चोट खपेर तैपनि हामीले किन ? भन्ने प्रश्न सोच्न सकेनौँ। कल्पनाको संसारलाई वास्तविकताको रूप दिन खोज्दा–खोज्दै हाम्रो आयु बितिसक्छ। आफूभित्रको शक्तिलाई चिन्नै नपाई हामी मृत्युसँग बितिसक्छ। वास्तवमा हामीले आफूलाई कहिल्यै पनि चिन्ने धृष्टता गरेनौँ, चेला भएर अरूबाट केही लिने साहस गरेनौँ। केवल महत्वाकाङ्क्षाको दासत्व स्वीकारेर एक अर्काको आलोचना र प्रत्यालोचना, सङ्घर्ष र क्रान्ति, पीडा र क्रन्दन यही मात्र हुन सक्यो हाम्रो कर्तव्यको दायित्व।

यथार्थभन्दा टाढा वास्तविकता हुँदैन, सफलताभन्दा टाढा असफलता हुँदैन, बरू हामी आफँै यी सबै कुराबाट टाडा हुँदै गइरहेका छौँ। हामी एक थोक बोल्छौँ र अर्काे थोक गर्छौैँ। हामी शान्ति चाहन्छौँ र युद्ध गर्छौँ, हामी अन्न खोज्छौँ र ढुकुटी जलाउँछौँ, हामी जीवन खोज्छौँ र मृत्यु अँगाल्छौँ। साथी ! अब हामीले तथ्यको खोजी गर्नुपर्छ जहाँ जीवनले सत्यको दीपशिखा प्राप्त गरोस, जहाँबाट हामीले आफ्नो हृदयको गहिराइसम्म चिहाउन सकूँ।

आदिमकालदेखि हामीलाई तथ्य कुराहरूको ज्ञान नदिएर गर्न हुने र गर्न नहुने कुराहरू रटाइएका छन्। अनि यिनै हुने र नहुनेको बन्धनबाट फुत्कने चेष्टा गर्दा हामीले आफू, जीवन, सत्य, वास्तविकता, चरित्र, नैतिकता, कर्म, कर्तव्य, न्याय, उचित र अनुचित जस्ता कुराहरू गुमाएर केवल एउटै कुरा मात्र प्राप्त गर्न सक्यौँ ‘महत्वाकाङ्क्षा’। अनि यही महत्वाकाङ्क्षाले सारा मानवीय उन्नतिलाई खरानी बनायो। रातदिन हामी भित्रका इच्छाहरू म्याग्मा भएर भित्र–भित्र बगिरहन्छन, लावाको रूप लिन नपाउँदै हामी मरिसक्छौँ। कल्पनाको संसारभित्र बालुवाको महल निर्माण गर्दै भत्काउँदै हामीले आफूलाई समय सँगै मारिरहेछौँ।

हामीले आफूमा त्यो कुराको खोजी गर्नुपर्छ, जुन कुरा हामी चाहन्छौँ। अरूलाई कुनै कुरा सिकाउनुभन्दा पहिले हामी आफैँ त्यो कुरामा दक्ष छौँ छैनौँ, अरूलाई बाटो देखाउनुभन्दा पहिले हामी स्वयं त्यो ठाउँमा पुगेका छौँ, छैनौँ आदि कुरामा हामीेले ध्यान दिनुपर्छ। साथी ! हामीलाई नियम, कानुन, अनुशासन र नीतिका चौघेराको आवश्यकता छैन, हामीलाई केवल आफ्नो परिष्कारपूर्ण ‘स्वयं’ मात्र चाहिएको छ। हामीलाई पाप र पुण्य जस्ता शब्द चाहिँदैनन् केवल यस कुराको आवश्यकता छ कि हामी आफूभित्रको ‘म’ को जागरण गर्न सक्षम छौँ कि छैनौँ।

जहाँ हाम्रो ‘म’ ले परिष्कार पाउँछ, त्यहाँ हाम्रा सम्पूर्ण इच्छा, आवश्यकता र महत्वाकाङ्क्षाहरू पनि परिष्कृत हुन पुग्छन् र प्रत्येक परिष्कृत वस्तुको प्राप्ति पनि सफल र स्वस्थ्य हुनसक्छ। जहाँ हामीभित्रको ‘म’ स्वच्छ बन्दैन त्यहाँ प्रत्येक कर्म असफल र त्रुटिपूर्ण हुन्छन्। शारीरिक क्रान्ति विनाशको प्रतीक मात्र हो जहाँ मानसिक क्रान्ति एउटा भीषण परिवर्तनको चिराग हुनसक्छ। आफू भित्रका विसङ्गतिहरुद्वारा एउटा–एउटा चोटहरूको सङ्ग्रह बन्न पुग्छ जिन्दगी।

हामी आफ्नो स्वार्थसिद्ध गर्न अरूलाई भए नभएका कुरा फलाकी दिन्छौँ। हामी आफ्नो सुखका लागि अरू धेरैको सुखको हत्या गरिदिन्छाैँ, हामी मानवीय अधिकारको नारा दिएर उसको स्वाभाविक बचाइको नै मार्ग च्यूत गरिदिन्छौं। हामी मान्छेको स्वाभाविक अधिकारमाथि अनेकन लाञ्छना लगाएर आफू अघि पुग्ने चेष्टामा जुर्मुरिन्छौँ। त्यसैले हामीले सर्वप्रथम आफ्नै अध्ययन गर्न सिक्नुपर्छ। आफैँमा परिष्कार ल्याउन सक्नुपर्छ। यदि हामीले आफ्ना विचार र व्यवहारको जाँच गर्न सक्यौँ भने, न हाम्रो आवाज अस्वाभाविक हुन्छ न महत्वहीन।

एउटा परिपक्क मानिसले परिपक्क सोचाइ सोच्न सक्छ र परिपक्क सोचाइले एउटा सुखद् सफलता अञ्गालेको हुन्छ। स्वस्थ्य दिमाग र स्वस्थ्य विवेक बोकेर स्वास्थ्य प्राप्तितिर अघि बढे त्यसका लागि कहिल्यै ठूला–ठूला व्यूहका रचना गर्नुपर्दैन। जहाँ परिपक्वता छैन त्यहाँ दह्रो अठोट छैन र जहाँ आफ्नो त्रुटि देख्न सक्ने आँखा छैन त्यहाँ संयम र सहनशक्ति छैन र त्यहाँ सफल जीवन जिउन सक्ने आशा पनि छैन। शारीरिक शक्ति सबै थोक होइन। धन र बल क्षणिक हुन्छन् जो छिट्टै पाउन र नासिन सक्छन् तर विवेक त्यो हो जो एकपल्ट पाएपछि दिन प्रतिदिन थपिँदै जान्छ। हामीले विवेकको सङ्ग्रह गर्न सक्नुपर्छ, विचारको परिष्कार गर्न सक्नुपर्छ र हामीले कण–कणलाई छुट्याउन सक्ने ज्योति मानसिक चक्षुमा संकलन गर्न सक्नुपर्छ। तब हामी आफू समाज, देश र संसारका लागि केही गर्नसक्ने हुन्छौँ।

आफूभित्र महत्वाकाङ्क्षाको जन्म हुनुभन्दा पहिले आफूभित्र त्यसको जन्म भइसकेको होस् जसद्वारा संसारको जीवनमाथि दया गर्न सकियोस् र अरूको दुःखको निवारण गर्ने भावको विजय भएको होस्। महत्वाकाङ्क्षा भनेको त असन्तोष र अप्राप्तिहरूको परिवर्तित रूप मात्र हो तर स्वविवेक भनेको समस्या समाधानको अदालत हो। त्यसैले जबसम्म हामी भित्रका एक–एक मानसपटलले आफूभित्र संर्घष गर्न थाल्दैन र विजयी हुँदैन तबसम्म त्यो संसारको कल्पना गर्न सकिँदैन जुन संसारमा एकता, समानता, न्याय र सत्यको दीप जल्छ।

(पहिला जस्तो छापिएको थियो त्यसलाई कुनै संशोधन गरिएको छैन।)

             

 

 

असोज ३, २०७७ शनिबार ११:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।