नियात्रा ‍: आकाशको बाटो 

नियात्रा ‍: आकाशको बाटो 

त्रिभुवन विमानस्थलको आधा रातको झिलिमिली ! ठूलो झोला अघि नै बोर्डिङ पासको कागज टाँसिएर गइसकेथ्यो। म उद्वव भट्टराईसँग दायाँबायाँ हुँदै अध्यागमन कार्यालय कक्षमा पुगेँ। 

विदेश उड्ने छाप लगाउनु अघि कर्मचारीले सोधे— ‘अनि यत्ति पाँच सय डलरले पुग्ला त ?’ 

‘यो पनि फिर्तै हुन्छ। खाने बस्ने ठाउँ छ। सुताउन नि साथीहरुले सकिहाल्छन्। अनि के काम यत्रो पैसा मलाई ?’ 
उनी पो मुसुक्क हाँसे। 

दुई पाइला अघि सर्ने बित्तिक्कै मैले आफ्ना क्याम्पसका सहपाठी मित्र किरण सापकोटालाई भेटेँ। उनी पनि त्यहीँका कर्मचारी रहेछन्। 
उनलाई आफू घुम्न जान लागेको ठाउँबारे सुनाएँ। गर्मीले गर्दा पानी घुटुक्क निलिरहेका थिए धेरै जसो। 
‘त्यो पनि घुम्न जाने ठाउँ हो र ?’ 

मित्र किरणले अचम्म माने म गइरहेको देशको नाउँ सुनेर। 
उद्धवले यसो कोट्याएपछि म अगाडि लम्केँ। गर्मी निकै बढेको थियो। पातलो ज्याकेट पनि फुकालेँ। ज्यानमा हलुका पातलो फिलफिले सर्ट मात्र हाँस्यो। 

‘यो आरएको पनि भर परेर हुन्छ ?’ 

कल्याङमल्याङ भीडमा गुनासो गर्नेहरु छँदै थिए। भीड पनि के साह्रो अचाक्ली। कोही कतै सुतिरहेका, कोही कतै अडेसिएर, कोही घुँडामा चेपिएर उङिरहेका, कोही अर्काको ज्यानलाई सिरानी हालेर घुरिरहेका। एक खालको उकुसमुकुस। वैशाखको हपहपी गर्मी। 

‘कति पटक त बिदावारीको माला ओइलाएर कुहिसक्दा पनि जहाजै उड्दैन। कत्ति कुर्नु एअरपोर्ट ! खुबै धोका पाइन्छ आरएबाट।‘ 
नेपाली जहाज पर्खिनेको गनगन सुन्छु। म पनि त्यसमै उड्नु छ। त्यसकै बारेमा नराम्रो कुरा सुनिरहेको छु। दिक्क लागिरहेको छ। 
‘ओहो, अरु पसिना पो आए !’ गर्मी मात्रै होइन होला— यो त पिरकै पसिना पो होला। 

लौ, रातिको साढे एघार बजे जहाजमा पसियो। संंसारका मान्छे धर्तीमा घुरिरा’का छन्। आपूm भने आकाशतिर उडिँदैछ। 
जिन्दगीको तिरीमिरी भनेकै यै होला गाँठे ! 
आफ्नो सिटमा बसेर एकछिन आँखा चिम्लेँ। पशुपतिनाथलाई सम्भेmँ। घरका नानीहरुलाई सम्झना गरेँ। अनि बिस्तारै आँखा उघारेँ। 
जहाजभरि टन्नै नेपाली नै नेपाली ! 

अगाडि–पछाडि सबैतिर नेपालीको लर्को। धेरै जसो खैनी माडिरहेका छन्। कतिले अगाडि–पछाडि लम्केर हात मिलाइरहेका देख्छु। 
तराई मूलका नेपालीहरुको कल्याङमल्याङ छ। मनै खल्बलिने हल्लीखल्ली छ। निदाउन बल गरिरहेको छु। निद्रा हजारौँ किलो मिटर पर पुगिसकेको छ। म उड्ने आकाश जत्तिक्कै टाढा गइसकेको छ निद्रा। 

‘जहाजमा यो केको गन्ध ?’ 

आफैँलाई सोध्छु। 

‘ए, मोजा गन्हाएको पो हो त यो !’ उत्तरपट्टिको एउटा युवकले जुत्ता खोलेर लमतन्न भएको देखेकै थिएँ। 
‘वीर नेपालीको पौरख यहाँ फैलिएको रहेछ !’ पसिना चुहाई–चुहाई कामका लागि विदेशिएको नेपाली देखेर कुरा खेले मनमा। 

जहाजले भुइँ छोडेको धेरै भयो। कुन बाटो उडिरहेको छ ? हाम्रा पहाड, हिमाल, ताल, फाँट र खोँचहरु कता हराए कता ! महा अन्धकारमा जहाज उडेको उडै छ निरन्तर। 

पूर्व–पश्चिम, उत्तर–दक्षिण कता उडिरहेको छ। थाहा  छैन। अन्दाज गर्छु, पश्चिमतिरै उडिरहेको छ। 
‘बाटो जम्मा तीन घण्टाको हो नि !’ 
तल भुइँमै भनेका थिए अरुहरुले। 

तर जहाजभित्र पसेर सिटबेल्ट कसी पाइलट र एअर होस्टेजको कब्जामा परेपछि एउटी सुन्दर परिचारिकाले अत्यन्तै कठोर निर्णय सुनाएकी थिइन्— ‘झण्डै चार घण्टाको हाम्रो उडान हुनेछ !’ 

अर्काको करकापमा एक घण्टा जीवनको अनिश्चय फेरि थपियो। आफ्नो पखेटा नभइकन आकाशमा उडनु भनेको ‘अनिश्चय’ नभएर के हो त ?

छेवैका साथी भट्टराई। उनी ओर्कीफर्की निदाइरहेका छन्। एक निद्रा, दुई निद्रा पु¥याइसके। पृथ्वीमा रुखका चराले प्रहर फेरिएको सुइँको दिइसकेका होलान्। 

तर मेरा आँखामा फिटिक्कै निद्रा छैन। छैन, कसैगरी पनि निद्रा ओर्लिन सकेन। कति फकाएँ, कति लोरी सुनाएँ— आएन निद्रा। 
कति पापा दिएँ, कति गीत गाएँ— फर्किएन निद्रा। 

निदाए जस्तो गरे पनि आँखाभित्रको नानीले निहु खोजेर परेली खोलिहाल्दो रहेछ। आँखा मास्तिरका ढक्कन जति नै गरे पनि खुल्लै हुन मन गर्दा रहेछन्। 

हैन, यो निद्रा भन्ने तत्व पनि उल्कै हुँदो रहेछ। ज्यानको कुन ठाउँमा बस्दो रहेछ ? 
तल हेर्छु म घरी–घरी। 

एक घण्टा उडिसकेपछि बेला–बेलामा झलमल्ल शहरहरु देखिन्थे। वरिपरि पूरै अँध्यारो। माझमा रङ्गीविरङ्गी घरको लस्करले मन एक छिन भए पनि झलमल्ल हुन्छ। 

उडेको जहाजसँग तलको शहरको के नातो होला र ? तलबाट हेर्दा एउटा झिल्को मास्तिर गएको मात्र त देखिन्छ। तर त्यो जहाजमा त सयौँ नेपालीहरु आफ्ना अँध्यारा घरमा उज्यालो ल्याउन उडिरहेका छन्। यो जहाजमा धेरै श्रमिक छन्। धेरै तन्नेरीले धन कमाउने सपना साँचेर उडेका छन्। धेरै युवाका पिँढीमा उज्यालो उतार्ने सपनाले तान्निएर यो जहाजमा उडिरहेका छन्। 

म पनि एउटा त्यस्तै सपना देख्ने मानिस थिएँ— ती युवाजस्तै। 

अँध्यारोमा आकाशबाट तल हेर्दा बेग्लै संसार देखिरहेको छु। एउटै, उस्तै, उही रङ्गको रुपसँग। तल झिलिमिली देखिने बस्तीले बेला–बेला भिन्नता देखाउँछन्। नत्र धर्ती, आकाश सरोबरी। एकथोपा फरक नभएको। 

उडिरहेको जहाजमा मलाई किन यति धेरै अप्ठ्यारो भइरहेको छ यतिबेला। मलाई श्वास फेर्न किन असजिलो भइरहेको ? के मलाई मुटुमा अक्सिजन नपुगेकै हो त ? 

के मलाई आकाशमै पनि श्वास फेर्न अपुग भएकै हो त ? कुराले घेरा हालेका छन् मलाई। 
‘एउटा न एउटा काम त गर्नै पर्यो आँखाले। कि निदाउनु प¥यो, कि तलको झिलिमिली संसार हेर्नु पर्यो !’ 
जहाजको झ्यालबाट आँखालाई तल लाँदै भन्छु। 

तलतिर नि अचम्मैका टापुजस्ता देखिन्छन्। वरिपरि पानीले भरिएका अनि झलमल्ल भएका केही बस्तीहरु। यस्ता त देखिएका–देखिएकै भए। सबैतिर अन्धकार मात्र देखिएपछि बत्ती झल्मलाएको ठाउँ टापु हुने नै भयो नि ! लगालग उज्यालोले अँगालो हालेका बस्तीहरु देखिन थाले। 

दुई घण्टा उडेपछि पृथ्वीमा नयाँ रङ्गरुपका बस्ती र उज्यालो चहक देखियो। तातो र रातो फलामे सुइरो धर्तीभरि जताततै कुदेको देख्न थालियो। ‘यी त सडक पो रहेछन् !’ 

जहाज अलिक तल ओर्लिंदा गाडी हुइँकिएको देखेपछि मलाई अड्कल गर्न सजिलो भयो। 
निद्रैमा उद्वव बोल्छन्— ‘दुबई पुगियो होला !’ 

‘कता हो कता !’ 
मेरो उत्तर छ। 
म तल हेरिरहेको छु। झिलिमिली बाटो लमतन्निएर पृथ्वीभरि दगुरेको देखिरहेको छु। कतै नागबेली, कतै बेपत्तै सिधा। धागो तानेजस्तो सिधा। 

लोड सेडिङले मेरा आँखा कति साह्रै निस्ताएछन्। तल देखिएका झलमल्ल उज्याला बस्ती हेरेकोहेरै भएँ। 
निद्रा पनि छैन। आँखा थाकेनन् पनि। 
ठूला–ठूला शहर टुप्लुकिन्छन्। 

लमतन्ने राजमार्गका दुवै किनारमा उज्यालो हाँसेको देखिन्छ। कति लामा बाटाहरु हुन् यी ! माथि आकाशको अँध्यारोबाट पृथ्वीको उज्यालो देख्नु पनि गजबकै कुरो हो। 

झुरुप्प–झुरुप्प बस्ती देखिन्छन्। उज्यालो र अँध्यारोले आफ्नो–आफ्नो तुजुग देखाउन छोड्दैनन्। तीन घण्टा पूरा भएपछि अब बत्ती नै बत्तीले डोर्रिंदै सिँगारिएका बाटाहरु निकै देख्न थालियो। ठाउँ–ठाउँमा गोलाकार उज्यालोले राजमार्गहरु निकै भव्य र प्रकाशमय देखिन्थे।  
जहाजले तल र माथि गर्न छोडेन। म पनि ओर्किन र फर्किन छोडिनँ। सुत्नेहरु आङ खुम्च्याएरै भए पनि सुतिरहे। 
म मात्र सिङ्गो रात सुत्नै सकिनँ झिमिक्कै। 

आकाशमा बादलसँग ठोक्किँदा थर्थराएको जहाजसँग डराएँ। भुइँतिर स्वात्तै खसेको जहाजको गतिसँगै अत्तालिएँ। उडिरहेको जहाजलाई धुँवाको मुस्लोले छेकेन। कुइराको वेगले रोकेन। ऊ हावाको गतिलाई पछारेर उडिरह्यो... उडिरह्यो...। 
‘अब हामी ओर्लने बेला भयो !’ 

जहाजमा काठमाडौँबाट उड्ने बेलामा सुनिएको नारी स्वर सुनियो। 
‘यहाँको तापक्रम छ यति। यो हो हमाद अन्तर्राष्ट्रिय विमानस्थल !’ 
अरु के–के आवाज आइरहेथ्यो जहाजमा। 

जहाजले आफूलाई तल लग्यो... झन् झन् तल लग्यो। फेरि माथि लग्यो... फेरि माथि लग्यो। यस्तै भइरहेको छ। निकै बेरदेखि जहाजले यस्तै तल–माथि तल–माथि गरिरह्यो। 

म झ्यालबाट तलको झिलिमिली शहर, समुद्र, बाटा र गगनचुम्बी महलहरु हेरिरहेको छु। 
के विचित्रको उज्यालो ! 
‘यो मरुभूमिमा पनि बालुवा पेलेर यत्तिका बिजुली निकालेका हुन् ?’ 
मनको चर्को खसखस छ। 
जहाज तल ओर्लियो। 

मैले जिब्रो टोकेँ। विकास देखेर, प्रगति देखेर, सरसफाइ देखेर। आँखाले नभ्याउने बेपत्तै फराकिलो धावनमार्ग ! जहाजबाट ओर्लेर बाहिर आउँदा चिसै थियो। जताततै रुखपात छन्। झिलिमिली लस्करै रुखपात। रुखका पात बलेका, हाँगा बलेका, फेद बलेका— खजुरका सुरिला, अग्ला बोटहरु। रङ्गीचङ्गी उज्यालोले झलमल्ल भएका खजुरका बोट। 

अनौठो मानेका आँखामा अरु थप अचम्मले पाहुना लागेर भनिरहेका छन्। अध्यागमनमा झमेला हुन्छ कि भन्ने पिरलो थियो। कालै बुर्का लगाएकी महिलाले मलाई राहदानी हातमा दिएर बाहिर जान भनिन्। म फेरि कहाँ लगेर के–के सोधपुछ गर्लान् भनी पाइला लम्काइरहेकै थिएँ। 

‘सुट्केसमा टन्न किताब थिए। यत्तिका किताब किन ल्याएको भनेर सोध्छन् कि !’ मनमा हैरानीको खिचडी फत्काइरहेको थिएँ। 
‘ए बाहिर पो !’ 

कालो बुर्कावालीले देखाएतिर लम्कँदालम्कँदै एकै चोटि म बाहिरै पो पुगेँ। बाहिर पुग्दा स्वागत गर्न बसिरहेका देखिए मेरा मित्रहरु— खेम भट्टराई र कृष्ण दाहाल। दुवैले अँगालो हालेर, हात मिलाएर र नमस्ते गरेर हार्दिकता पोखे। 

‘तपाईंलाई कतारमा स्वागत छ !’ 

दुवैले एउटै शैलीमा भने। 

छिनभरमै भट्टराई पनि आफ्नो झोला र ब्याग घिच्याएर हामीसामु आइपुगे। अनि हामी दोहातिर लाग्यौँ। बाटाभरि घर, बाटो, रुख र ताल हेर्दै एकोहोरो सनैया रोड पुग्यौँ। फराकिला बाटा र झिलिमिलीले मेरा मित्र किरणले सोधेको प्रश्नको उत्तर दिइरहेँ— ‘पुग्नै पर्ने ठाउँ पो रहेछ त दोहा !’ 

कतारलाई नेपालबाट हेर्ने चस्मा पुरै धमिलो रहेछ, कमजोर रहेछ, रोगी रहेछ।  

दोहाको उज्यालोले फेरि पनि भगायो मेरो आँखाको निद्रा !

असोज ३, २०७७ शनिबार ०९:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।