लक्ष्मीले सजाएका भित्ता

लक्ष्मीले सजाएका भित्ता

जनकपुरधाम : जनकपुरको रेल्वे स्टेशनलाई मिथिला चित्रकलाले सजाइएको छ। लक्ष्मी रायको टोलीले  दिनरात लगाएर रेल्वे स्टेशनका भित्तामा मिथिला चित्रकला कोरेको हो। 

मिथिला चित्रकलाका कारण अहिले जनकपुर रेल्वे स्टेशन सेल्फी प्वाइन्ट बनेको छ। स्टेशनका भित्ताहरुलाई मिथिला पेन्टिङको रुप दिएपछि एकदमै आकर्षक देखिएको प्रदेश सांसद रामअशिष यादव बताउँछन्। सांसद यादवले आफै पनि सो स्थलमा गएर सेल्फी खिचाएका छन्।

शुक्रबार रेल जनकपुरधाम आउँदा निकै संख्यामा स्थानीयवासी स्टेशन पुगेका थिए। धेरैले मिथिला चित्रकलाको पर्खाल हेर्न त्यहाँ पुगेका थिए। सयौँले त्यहाँ सैल्फी पनि लिएका थिए।

भारतको विहारस्थित मधुबनी घर भएकी ४२ वर्षे लक्ष्मीलाई जनकपुर रेल्वे स्टेशनका भित्ताहरुमा मिथिला पेन्टिङ कोरेर सजाउने जिम्मा भारतीय अधिकारीहरुले नै दिएका थिए। भवनसहित अन्य निर्माण कार्य भारतले गर्नु पर्ने सम्झौता रहेकोले जनकपुर रेल्वे स्टेशनको भित्ताहरुमा मिथिला चित्रकला कोर्ने जिम्मा भारत मधुबनी बस्ने लक्ष्मीलाई दिइएको थियो। 

जनकपुर नजिकै रहेको भारतको मधुबनी रेल्वे स्टेशनलाई पनि मिथिला चित्रकलाले यसैगरी सजाइएको छ। केही वर्षअघि मधुबनी स्टेशन भारतकै फोहर स्टेशनको रुपमा चिनिन्थ्यो तर अहिले रेल्वे स्टेशन मिथिला चित्रकलाका कारण आकर्षक बनेको छ।
लक्ष्मी भारतीय भएकै कारण भारतले उनलाई रेल्वे स्टेशनमा मिथिला चित्रकला कोर्ने जिम्मा दिएएको भने होइन। मिथिला चित्रकलाको क्षेत्रमा ठुलै ख्याती कमाउन सफल भएकी छिन् उनी। 

‘मिथिला पेन्टिङ’ प्रतिको लगन, मिहिनेत र संघर्षले १५ वर्ष अगाडी पटना रेलवे स्टेशनमा पहिलो पटक मिथिला चित्रकला कार्ने अवसर जुड्यो, लक्ष्मीलाई। पटना रेलवे स्टेशनमा पहिलो पटक कोरेको चित्रले उनलाई यो स्थानमा पुर्याएको हो। 

कडा संघर्ष र मिहिनेतपछि लक्ष्मीको मिथिला चित्रकलाले चारै तर्फ चर्चा पायो। उनलाई सन् २०१२मा भारत सरकारले सम्मानसमेत गरिसकेको छ। भारत सरकारको तर्फबाट पुरस्कृत भइसकेपछि मिथिला पेन्टिङप्रति थप झुकाव बढ्यो उनको।

मधुबनी र पटनाको रेल्वे स्टेशन झैँ जनकपुरको रेलवे स्टेशन पनि मिथिला चित्रकलाले सजाउने रहर थियो उनलको। र, यही रहरका कारण उनले रेल्वे स्टेशनको भित्तामा मिथिला चित्रकला कोरेकी छन्। 

असोज ३, २०७७ शनिबार ०८:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।