निष्काम कर्मको महिना 

निष्काम कर्मको महिना 

प्रत्येक वर्ष हुने बाह्र महिनाभन्दा अर्को थप महिना भएकाले यसलाई अधिकमास भनिएको हो। यसबेला गरिएका माङ्गलिक कार्य निष्फल मानिने हुनाले यसलाई मलमास र भगवान् विष्णु अधिदेवता भएकाले यसलाई पुरुषोत्तममास पनि भनिन्छ।

अधिकमास के हो ?

समयलाई दिन, महिना, ऋतु, वर्ष आदि एकाइमा विभाजन गर्ने आधार सूर्य र चन्द्र हुन्। यिनै सूर्य र चन्द्रको गति र राशिपरिभ्रमणलाई हामी दिन, महिना, ऋतु आदि मान्दछौँ। 

हिन्दू ज्यौतिषशास्त्रले सूर्यका आधारमा सौर दिन÷वार, महिना, ऋतु, वर्षको र चन्द्रमालाई आधार मानेर चान्द्र दिन÷तिथि, पक्ष, महिना, वर्षको व्यवस्था गरेको छ। सौरमास र चान्द्रमासको तालमेल मिलाएर शुभकर्मका मुहूर्त (साइत) निकालिन्छ।
हामीले वैशाख, जेठ आदि भनेर मानेका महिना सौर महिना हुन्। 

सूर्य एउटा राशिमा भ्रमण गर्दाभरिको अवधिलाई हामी एक महिना भन्दछौँ र पूरै बाह्र राशि घुमेर ठीक पहिलेको बिन्दुमा आइपुग्नुलाई एक वर्ष भन्दछौँ। वैशाखमा सुरु भई चैतमा अन्त्य हुने वर्ष सौर वर्ष हो। सूर्य पहिलो राशि मेषमा जाने दिनलाई हामी नववर्षारम्भ मान्दछौँ।

चन्द्रमाका आधारमा हुने महिना चान्द्र महिना वा चान्द्रमास हो। शुक्लपक्ष र कृष्णपक्ष गरी दुई पक्ष मिलेर एक चान्द्रमास हुन्छ। औँसीमा चान्द्र महिना पूरा हुन्छ। चान्द्र वर्ष वैशाख शुक्लपक्षबाट सुरु भई चैत्र कृष्णपक्षको औँसीमा पूरा हुन्छ।

सूर्य र चन्द्रमाको गतिको भिन्नताले गर्दा एक सौर वर्ष पूरा हुन ३६५ दिन, १५ घडी, ३१ पला र ३० विपला लाग्छ भने एक चान्द्र वर्ष पूरा हुन ३५४ दिन, २२ घडी, १ पला र २३ विपला लाग्छ। चान्द्र वर्ष सौर वर्षभन्दा १० दिन, ५३ घडी, ३० पला र ७ विपला (करिब ११ दिन) कम हुन्छ। 

यस हिसाबले ३२ महिना, १६ दिन, ८ घन्टामा एक चान्द्र महिना अधिक हुन आउँछ। यही अधिक मास हो। सौर मास र चान्द्रमासको तालमेल मिलेपछि २८ देखि ३६ महिनाका बीचमा एक अधिकमास पर्दछ। यसले हिन्दू क्यालेन्डरमा सौर वर्ष र चान्द्र वर्षका बीच सामञ्जस्य मिलाउँछ।

ज्योतिषका कालमाधव, सिद्धान्तशिरोमणि आदि विभिन्न ग्रन्थमा अधिकमासको विवेचना गरिएको छ। कालमाधवमा अधिकमासको परिचय दिँदै भनिएको छ— ‘एक सौरमासभित्र दुई औँसी पर्दछन् भने पछिल्लो आँैसीमा टुङ्गिने चान्द्रमास अधिकमास हो।’ 

त्यस्तै एउटा चान्द्रमासभित्र दुई सौरसङ्क्रान्ति पर्नु अर्थात् एक सौरमासमा एउटा पनि औँसी परेन भने त्यो क्षयमास हो। माङ्गलिक कार्य गर्नका लागि अधिकमास र क्षयमास दुवै अशुद्ध मानिन्छन्।

नामकरणको रहस्य

अधिकमासको महत्त्वका बारेमा स्कन्दपुराण, पद्मपुराण, नारदीय पुराण आदिमा चर्चा गरेको पाइन्छ। नारदीय पुराणको सन्दर्भ उद्धरण गरिएको पुरुषोत्तममास माहात्म्य हामीकहाँ प्रचलित पनि छ।

पौराणिक आख्यानअनुसार सौरमासका समकक्षी अन्य चान्द्रमासमा शुभमुहूर्त अनुसार काम्य कर्म र माङ्गलिक कर्म गर्ने विधान भयो तर अधिकमासमा कुनै पनि माङ्गलिक कार्य गर्न निषेध गरियो। यस कुराले गर्दा अधिकमास मलिन महिना (मलमास)का रूपमा अपमानित हुन थाल्यो। 

यस्तो अपमानले खिन्न भएको अधिकमास आफ्नो उद्धारको प्रार्थना गर्दै भगवान् विष्णुको शरणमा गयो। भगवान् विष्णुले पनि त्यसमाथि दया गरेर कृष्णछेउ लिएर जानुभयो। अधिकमासको खिन्नताको कारण बुझेपछि श्रीकृष्णले ‘मैले तिमीलाई शरणमा लिएँ, म तिम्रो अधिपति हुन्छु, अबदेखि तिमी मेरै नामबाट पुरुषोत्तममास भनेर चिनिनेछौ’ भनेर उसलाई आफ्नो प्रिय महिनाको स्थान दिनुभयो। 

त्यहाँदेखि अधिकमास पुरुषोत्तममासका नामले चिनिने भयो र भगवान् विष्णुको आराधना गर्ने महत्त्वपूर्ण महिना मानिन थाल्यो।

अधिकमासकृत्य 

अधिकमास भगवान् विष्णुको प्रिय महिना भएको कुरा माथि चर्चा भइसक्यो। यसबेला गरेको पुण्यकर्मको फल अरू महिनाको भन्दा अधिक हुन्छ भन्ने पौराणिक कथन छ। यस महिनाभरि विशेष गरी भगवान् विष्णुका विविध अवतार र रूपको पूजा–आराधना गर्ने विधान छ।

अधिकमासको पहिलो दिन आफ्नो अनुकूलता अनुसार भगवान् विष्णुको मूर्ति, फोटो वा शालिग्राम स्थापना गरी पूजा अर्चना सुरु गरिन्छ। प्रत्येक दिन नित्यकर्म गरी भगवान् पुरुषोत्तमलाई यथासम्भव दीपदान, अपूप (मालपुवा), तुलसीपत्र आदि भगवान्का प्रिय वस्तु अर्पण गरिन्छ। 

यस महिनाभरि मन्त्र जप गर्ने, कथा–प्रवचन र भजन–कीर्तन गर्ने, शुद्ध आहार–विहार गर्ने, ब्रह्मचर्य पालना गर्ने, भूमिशयन गर्ने, भिक्षुक, अशक्त र ब्राह्मणलाई आपूmसक्दो दान गर्ने, नियमित जीवन शैली अपनाउने, तुलसी, पीपल र अमलाको पूजा गर्ने, गाईको सेवा–पूजा गर्ने विधान छ। 

महिनाभरि पुरुषोत्तम भगवान्को पूजा–आराधना गरी अन्त्यमा काँसको भाँडामा मालपुवा र घिउ राखेर वस्त्र, दक्षिणासहित यथाशक्य दान गरी व्रत उद्यापन गर्ने विधि बताइएको छ। महिनाभरि यसो गर्न सम्भव नभए महिनाको अन्त्यमा एक दिन भए पनि भगवत् सेवा, पुण्यकर्म र दान गर्न सकिन्छ। अधिकमासभरि काठमाडौँका मच्छेनारायण लगायत विष्णुका मन्दिरहरूमा दर्शन–पूजन गर्ने परम्परा नेपालमा छ।

छोड्न नमिल्ने कर्म

अधिकमासमा पनि नित्यस्नान, सन्ध्यावन्दन, नित्यपूजा, नित्यश्राद्ध आदि नित्यकर्म, अर्को समयमा सार्न नमिल्ने कर्म, आतुर कालका दान, गर्भावस्थामा गरिने सीमन्तोन्नयन, पुंसवन आदि कर्म, जातकर्म, नामकरण, अन्नप्राशन, मृत्युसंस्कार, प्रेतकर्म (बाह्र÷तेह्र दिनसम्मका काम), वर्षदिनभित्रका मासिक श्राद्ध, अतिथिसेवाजस्ता शुभकर्म सधैँझैँ गर्नुपर्छ। रोगले आक्रान्त भएमा तथा अन्य आपत्कालमा ग्रहशान्ति, मन्त्रजप आदि कर्म पनि गर्न सकिन्छ।

निषिद्ध कर्म

अधिकमासमा विवाह, व्रतबन्ध, गृहारम्भ, गृहप्रवेशजस्ता माङ्गलिक कार्य र कुनै कामना पूरा होस् भनेर गरिने यज्ञयागादि गर्न निषेध गरिएको छ। अधिकमासमा केके गर्न हुँदैन भन्ने सन्दर्भमा गर्गाचार्यको वचन यस्तो छ—

अग्न्याधेयं प्रतिष्ठां च यज्ञदानव्रतानि च।
वेदव्रतवृषोत्सर्गचूडाकरणमेखलाः।।
गमनं देवतीर्थानां विवाहमभिषेचनम्।
यानं च गृहकर्माणि मलमासे विवर्जयेत्।।

मलमासमा विवाह, देवप्रतिष्ठा, कामना राखेर गरिने (काम्य) यज्ञ, तुलादान, भूमिदानजस्ता ठूला दान, तिथि वार आदिमा गरिने व्रतको आरम्भ, अध्ययनको आरम्भ, दीक्षाग्रहण तथा नयाँ आश्रमप्रवेश, काम्य वृषोत्सर्ग, चूडाकर्म, उपनयन, कहिल्यै नगएका तीर्थको यात्रा, विवाहका कुनै पनि कर्म, राज्याभिषेक, युद्धको आरम्भ, वाहनहरूको खरिद–बिक्री, गृहारम्भ, गृहप्रवेश आदि कुनै नयाँ निर्माण र उद्घाटन मलमासमा वर्जित छन्।

यीबाहेक कुनै पनि नयाँ काम वा व्यवसायको थालनी, पहिलो यात्रा, बसाइसराइ, नयाँ वस्त्र र गहना धारण, तलाउ, इनार आदि नयाँ निर्माण, गर्भाधान आदि कर्म गर्न मलमासमा निषेध गरिएको छ। नवविवाहिता दम्पती मलमासभरि सँगै बस्न पनि निषेध गरिएको छ।

उपसंहार

अधिकमास प्रत्येक तीन वर्षमा पर्ने विशिष्ट चान्द्रमास हो। यस वर्ष २०७७ साल असोज २ गते शुक्रवारदेखि असोज ३० गते शुक्रवारसम्म मलमास परेको छ। 

मलमासमा संस्कारहरू, माङ्गलिक कार्य र काम्य कर्म गर्न शास्त्रले निषेध गरेका छन्। अधिकमास विशेष गरी भगवान् विष्णुको पूजा–आराधना गर्ने पुरुषोत्तममास हो। 

नित्यकर्म, निष्काम भावले गरिने पुण्य कर्म, आतुर कालिक कर्म र अर्को गति नभएका (सार्न नमिल्ने) कर्म भने मलमासमा पनि गर्नुपर्ने धर्मशास्त्र र पुराणको निष्कर्ष छ।

असोज २, २०७७ शुक्रबार १०:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।