त्रिविका तीन लाख विद्यार्थीको परीक्षा कहिले ?
काठमाडौंः परीक्षा सन्दर्भमा ठोस निर्णय बाहिर आउन नसक्दा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु अन्योलमा परेका छन् । परीक्षा सन्दर्भमा विश्वविद्यालयले ठोस योजना नबनाउँदा विद्यार्थीहरु मारमा परेका हुन् ।
त्रिविमा हाल ६१ आङ्गिक र एक हजार ८५ सम्बन्धन प्राप्त क्याम्पसमा गरी तीन लाखभन्दा बढी विद्यार्थी छन् । मुलुकका ११ विश्वविद्यालयमध्ये त्रिविले मात्रै ८० प्रतिशत विद्यार्थीको भार बहन गर्दै आएको छ । परीक्षाको अन्योलताले अधिकांश विद्यार्थीहरु घर फर्किएका छन् । विश्वविद्यालयले विज्ञान, मानविकी,शिक्षा,व्यवस्थापन लगायत शंकायका परीक्षाहरु कोरोना संक्रमणका कारण ६ महिनादेखि सञ्चालन हुन सकेका छैनन् ।
त्रिभुवन विश्वविद्यालयले वार्षिक तथा सेमेस्टर माध्यममा अध्ययन गर्ने विद्यार्थीको परीक्षाका बारेमा एक साताभित्र निर्णय गर्ने जनाएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले केही दिनको परिस्थिति हेरेर परीक्षाबारे निर्णय गरिने बताए । पदाधिकारीको बैठकबाट परीक्षा सन्दर्भमा निधो गरिनेछ ।
वार्षिक तथा सेमेस्टरका विद्यार्थीको परीक्षा हाल सञ्चालन हुन सकेको छैन । सेमेस्टर प्रणालीका बारेमा डिन कार्यालयले तयारी गर्ने स्पष्ट गर्दै उनले वार्षिक परीक्षा भने तिहारपछि गर्ने योजना रहेको बताए ।
असोज २, २०७७ शुक्रबार ०९:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।