चराचुरुङ्गी जोगाउन वृक्षारोपण 

चराचुरुङ्गी जोगाउन वृक्षारोपण 
चराचुरुङ्गीको जोगाउन चुरे क्षेत्रमा वृक्षारोपण।

पछिल्लो समय अवैधरुपमा जंगल कटानले चुरे क्षेत्र उजाड हुँदा चराचुरुङ्गीको वासस्थान मासिन थालेको वाइल्ड लाइफ ट्रस्ट जनकपुरका अध्यक्ष देवनारायण मण्डलले बताए।  चराचुरुङ्गीको संरक्षण तथा वासस्थानमा जोगाउनका लागि नै भाटेघारी सामुदायिक वन क्षेत्रको १० हेक्टर खाली जमिनमा वृक्षारोपण गर्न लागिएको उनले बताए।

धनुषाको मिथिला नगरपालिका–४ पुष्पवलपुरस्थित भाटेघारी सामुदायिक वनमा विभिन्न प्रजातिका १६ हजार बिरुवा रोपिने मण्डलले जानकारी दिए। मण्डलका अनुसार त्यहाँ बेल, राजबृक्ष, पिपल, बर, अमला, जामुन, महगुनी र निम गरी १३ प्रजातिका विरुवा रोपिने योजना छ। 

अभियानको शुभारम्भ सांसद रामअशिष यादवले गरेका छन्। यी बिरुवाका फलहरु चराचुरुङ्गीको प्रिय भोजन मानिन्छ। चुरे क्षेत्रमा करिब १ हजार ५ सय ७० प्रजातिका बिरुवाहरू पाइने र यहाँको ७२ प्रतिशत भू–भाग वन क्षेत्रले ढाकेको हुँदा यो क्षेत्र जैविक विविधताको दृष्टिले धनी मानिन्छ। 

सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश २ का अध्यक्ष सोमप्रसाद शर्माले वन क्षेत्रभित्र जीवजन्तुहरुको संरक्षण सम्बद्र्धन र व्यवस्थापन गर्न जङ्गल बिस्तारको कार्य उत्साहजनक भएको बताए। उनका अनुसार रुख बिरुवाको घट्दो क्रमसँगै चराचुरुङ्गी मानव वस्तीमा जाने र त्यहाँ उनीहरु चराचुरुङ्गीहरु असुरक्षित भइरहेको अवस्था छ। 

प्रदेश २ का उद्योग,वन पर्यटन मन्त्रालय अन्तर्गत निर्देशनालयका अधिकृत एवं पर्यावरण अभियन्ता सुरेश शर्माले मानवजातिको शिकारबाट चराचुरुङ्गी र वन्यजन्तुको संख्यामा कमी आएको बताए। 

उत्तरबाट हिउँ पग्लेर बग्दै आउने नदी महाभारत क्षेत्र हुदै अन्तिममा चुरेबाट तराइतिर बग्छन्। त्यसैले पनि यो कमलो ढुङ्गा माटोले बनेको क्षेत्र पर्यावरणीय दृष्टिले अत्यन्त संवेदनशील मानिन्छ। बाघ, हात्ती, गैँडा जस्ता दुर्लभ वन्यजन्तुहरूको आवागमनको लागि चुरे क्षेत्रले जैविक मार्ग र वन्यजन्तुलाई सिमापार गर्ने कार्यमा समेत सहयोग गरिरहेको सिआइसी जनकपुरधामका अध्यक्ष संजय साहले बताए।

चुरे क्षेत्रमा करिब ९५ लाख वर्ष पुराना प्राग ऐतिहासिक वन्यजन्तुका अवशेषहरु रहेको अनुमान गरिएको उनको कथन छ। उनका अनुसार चराचुङ्खीले यो क्षेत्रमा बास र भोजन एकै ठाउँमा भेटाउने गरेकाले तिनीहरुका लागि पनि यो क्षेत्र स्वर्ग रहेको हो। 

चुरे पहाड अन्तर्गतको भावर क्षेत्रबाट पानीको पुनर्भरण भई तराईको उर्वराभूमीका लागि सिँचाइ तथा खानेपानीको स्रोतको रुपमा समेत चिनिन्छ। जहाँ देशकै झन्डै ५० प्रतिशत जनता उक्त पानीमा आश्रित रहेका र नेपालको ८० प्रतिशतभन्दा बढी खाद्यान्नको भण्डारलाई उक्त पानीले सिचाइँ सेवा उपलब्ध गराएको छ।
 

असोज २, २०७७ शुक्रबार ०७:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।