कोरोना संक्रमणबीच विश्वकर्मा जयन्ती
जनकपुरधाम: धुमधाम र हर्षोल्साकासाथमा मनाइने विश्वकर्मा जयन्ती यस वर्ष सामान्य पुजाआजा गरेर मनाइँदै छ । जनकपुरधाममा खासै चहल पहल छैन । उद्यमी, व्यापारीहरु सामान्य रुपमा सिर्जना एवं शील्पका देवता विश्वकर्माको पूजा गरिरहेका छन् । कोरोना संक्रमणका कारण जनकपुरधामको सबै उत्सव प्रभावित भएको नेपाल उद्योग वाणिज्य संघ प्रदेश २ का अध्यक्ष शिवशंकर साह हिराले वताए ।
गत वर्षहरुमा विश्वकर्मा जयन्तीका दिन पूरै बजार सजाइन्थ्यो । सबैठाउँ विहानैदेखि नाचगान हुने गथ्र्यो । तर यसपाली कहीकतै कुनै कार्यक्रम भइरहेको छैन ।
प्रदेश २ का निति आयोगका उपाध्यक्ष समेत रहेका सांस्कृतिविद् डा. भोगेन्द्र झाले अहिले मानवता जोगाउने समय रहेछ, प्रदर्शन पूजा भन्दा आत्मीक पूजाको आवश्यक्ता रहेको वताए । सामान्य तबरले पूजा गरेर जनकपुरधामका व्यपारीले प्रशंसनीय कार्य गरिरहेको उनको कथन रहेको छ ।
हरेक वर्ष कन्या संक्रान्तिको दिनमा विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको जन्म भएको धार्मिक मान्यता छ । यस दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ । भगवान विश्वकर्माको जयन्ती वर्षाको अन्त्य र शरद ऋतु प्रारम्भ हुने बेलामा मनाउने गरिन्छ । ज्योतिष शास्त्रका अनुसार यो दिन सूर्य कन्या राशीमा प्रवेश गर्छन् । सूर्यको गति अंग्रेजी तारिखसँग सम्बन्धित हुन्छ । त्यसैले कन्या संक्रान्ति पनि प्रत्येक वर्ष सेप्टेम्बर १७ मा पर्छ । प्रायः यही दिन पर्ने भएकाले विश्वकर्मा जयन्ती पनि सेप्टेम्बर १७ मा मनाइन्छ । हाम्रो नेपालमा असोज १ गते मनाउने परम्परा रहेको छ ।
विश्वकर्मा पूजाको दिन खासगरी औद्योगिक क्षेत्र, कारखाना, फलामका पसल, सवारी साधन सोरुम, सर्भिस सेन्टर, वर्कसप आदिमा पूजा गरिन्छ । यस दिन मेसिन सफा गरेर रंगरोगन गरी पूजा गरिन्छ । विश्वकर्मा पूजाका दिन मेसिनमा काम गर्न नहुने मान्यता भएकाले यस्ता कलकारखाना बन्द हुन्छन् ।
नेपाल लगायत भारतमा विश्वकर्मा पूजा उल्लासपूर्ण तरिकाले मनाइन्छ । विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरुको पूजाआजा गरिन्छ । यो पूजा सबै कलाकार, शिल्पकार र औद्योगिक घराना, व्यापारी र मजदुरहरुले गर्ने गर्दछन् । व्यापारीहरुका लागि यो नै ठूलो पर्व भएकाले हामी प्रत्येक वर्ष हर्षोल्लासको साथमा भगवान विश्वकर्माको पूजा गर्ने गर्छौ चेम्वर अफ कर्मश जनकपुरधामका उपाध्यक्ष सरोज मिश्रले वताए ।पौराणिक मान्यताहरुका अनुसार भगवान विश्वकर्मालाई सृष्टि सृजनको दायित्व दिएको थियो । यसैकारण उहाँलाई सृष्टिको सुपर इन्जिनीयर भनिन्छ ।
विश्वकर्मालाई देव शिल्पी विश्वकर्मा पनि भनिन्छ । उनको जन्म दिनलाई नेपाल मात्र नभएर भारत र अन्य हिन्दु धर्म मान्ने देशहरुमा विश्वकर्मा जयन्ती अथवा विश्वकर्मा पूजाको नामले पनि चिनिन्छ । देव शिल्पी विश्वकर्माले नै देवताहरुका लागि महल, अस्त्रशस्त्र, आभूषण आदि बनाउने काम गर्थे, त्यसैले उनी देवताका पनि आदरणीय थिए मैथिलीका साहित्यकार एवं सांस्कृतिविद् डा. राजेन्द्र विमल वताउँछन् ।
जन्म प्रसंग
सृष्टिको रंचनाको प्रारम्भमा भगवान विष्णु क्षीर सागरमा प्रकट भएका थिए । विष्णुजीकोे नाभि–कमलबाट ब्रह्माजी उत्पन्न भएका थिए । ब्रह्माजीको पुत्र को नाउँ धर्म थियो, जसको विवाह वस्तु नाउँकी महिलासंग भएको थियो । धर्म र वस्तु को संसर्गबाट सात पुत्रको जन्म भएको थियो । सातो पुत्रको नाउँ वास्तु राखियो जो शिल्पशास्त्रको कलामा पारगंत थिए ।
वास्तुको एउटा छोरा भयो, जसको नाउँ विश्वकर्मा राखियो । जसलाई प्रथम इन्जिनियर र मेशिनका देवता भनिन्छ । भगवान विश्वकर्माको अनेक रूप रहेको वताइन्छ ।
दूई बाहु भएका, चार बाहु एवं दस बाहु भएका तथा एक मुख, चार मुख एवं पंचमुख भएका । विश्वकर्माका मनु, मय, त्वष्टा, शिल्पी एवं दैवज्ञ नाउँका पाँंच पुत्र थिए । पांचै छोरा वास्तु शिल्पको छुट्टा छुटटै विधामा पारगंत थिए र उनीहरुले धेरैकुरोको आविष्कार गरेका थिए । यस प्रसंगमा मनुलाई फलाम, मयलाई काठ, त्वष्टालाई तामा, शिल्पी ईंट र दैवज्ञलाई सुन–चाँंदीसँग जोडिन्छ ।
विश्वकर्माको कृति ?
इन्द्रको सर्र्बािधक शक्तिशाली अस्त्र बज्रको निर्माण विश्वकर्माले नै गरेका थिए । शास्त्रका अनुसार भगवान विश्वकर्माले सृष्टिको रचना गर्न ब्रह्मालाई सहयोग गरे र संसारको रुपरेखाको नक्सा तयार गरेका थिए ।
रामायणमा वर्णन गरिए अनुसार रावणको सुनको लंका विश्वकर्माले नै बनाएका थिए । भगवान शिवले पार्वतीसँग विवाह गरेपछि विश्वकर्माबाट सुनको लंका निर्माण गर्न लगाए । शिवले रावणलाई गृह पूजनका लागि बोलाए । पूजा पश्चात रावणले भगवान शिवसँग दक्षिणाको रुपमा सुनको लंका मागे । शिवले सो लंका रावणलाई दिएका थिए । रावणले अपहरण गरिएकी सीताको खोजीमा लंका जादा हनुले सुनको लंका जलाइदिएका थिए । पछि फेरि रावणले विश्वकर्मालाई बोलाएर सुनको लंकाको पुनर्निर्माण गराएको धार्मिक मत छ ।
विश्वकर्माले नै पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरेको धार्मिक मान्यता छ । भगवान श्री कृष्णाको नगरी द्धारका र पाण्डवहरुको इन्द्रप्रस्थ ती सबै विश्वकर्माकै रचना मानिन्छन् । पुष्पक विमानको निर्माण पनि भगवान विश्वकर्माले नै गरेको विभिन्न ग्रन्थमा उल्लेख रहेको छ । यसका अतिरिक्त देवताहरुको दैनिक उपयोगमा आउने समानहरु पनि विश्वकर्माकै उत्पादन हुन् ।। कर्णको कुण्डल, विष्णु भगवानको सुदर्शन चक्र, शंकर भगवानको त्रिशूल र यमराजको कालदण्ड उनलेनै निर्माण गरेको मानिन्छ ।
विश्वकर्माको महत्व ?
देव शिल्पी भएकाले भगवान विश्वकर्मा मेसिनरी तथा शिल्प उद्योगसँग सम्बन्धित व्यक्तिहरुका लागि प्रमुख देवता मानिन्छन् । वर्तमान अवस्थामा कुनै पनि ब्यक्तिले विहानदेखि साँझसम्म कम्प्युटर, मोटरसाइकल, कार, मोबाइल, पानी तान्ने मोटर, मिल, टिभि अन्य बिजुलीका उपकरण आदि मेसिनरी उपकरणको प्रयोग गर्छन् । भगवान विश्वकर्मा यी सबैका लागि देवता हुन् ।
यसै कारण वर्तमान युगमा विश्वकर्माको महत्व पनि दैनिक रुपमा बढिरहेको छ । पहिले शिल्पकारहरुले मात्र उनको पूजा गर्ने गरेकोमा हाल घर घरमा उनको पूजा हुन थालेको छ सांस्कृतिविद चन्द्रमोहन झा पड़वाले वताए ।
विश्वकर्माको पूजा गर्ने हो भने मेसिनरी सामानले लामो समयसम्म साथ दिन्छन्, धोका दिदैन भन्ने मान्यता छ । आफूले प्रयोग गर्ने कुनै पनि मेसिनरी सामग्रीलाई राम्रोसँग सफाई गरेमा नै विश्वकर्मालाई खुसी राख्न सकिन्छ ।
नेपालमा पनि विश्वकर्मा पूजा गर्ने संस्कृतिको विकास भइरहेको छ । कुनै पनि मेसिनरी कार्य गर्नेहरुले उनको पूजा गर्छन् । कुन्े कार्यको शुभारम्भ गरेको बेला विश्वकर्माको पूजाअनिवार्य भएकोजनकपुरधामका औषधी व्यवसायी प्रमोद अग्रवालले वताए
विश्वकर्मा भगवान को हुन् ?
भगवान महादेवले ब्रहृमा र विष्णुलाई सृष्टिको सृजना र पालनको भिन्न भिन्नै जिम्मेवारी दिएका थिए । सृष्टिको सृजना गर्ने आफ्नो जिम्मेवारी निभाउन ब्रह्माले आफ्नो वंशजदेव शिल्पी विश्वकर्मालाई आदेश दिए ।
विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनीयर र वास्तुकार पनि मानिन्छ । उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरे ।भगवान विश्वकर्माको महत्व यो कुराले पनि स्मरण सकिन्छ कि उनको महत्वको वर्णन ऋग्वेदमा ११ ऋचाहरु लेखेर गरिएको छ ।
जसको सम्पूर्ण सृष्टि र कर्म व्यापार हो उनीहरु विश्वकर्मा हुन् । सजिलो भाषामा भन्ने हो भने सम्पूर्ण सृष्टिमा जुन पनि कर्म सृजनात्मक हो जुन कामले जीवको जीवन सञ्चालित हुन्छ ।उनीहरु सबैको मुल विश्वकर्मा हो । त्यसैले उनको पूजनले प्रत्येक व्यक्तिलाई प्राकृतिक उर्जा दिन्छ र काममा आउने सबै बाधा अड्चनहरुलाई तोडिदिन्छ भन्ने विश्वास रहेको छ सांस्कृतीविद् डा. भोगेन्द्र झाले वताए ।
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको छ ।
प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षक देवताका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मान्ने गरिन्छ ।
विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ पूजा गर्दछन् । आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् । हिन्दुहरुले औद्योगिक क्षेत्र,कलकारखाना,उद्योगहरु तथा विभिन्न फलामे औजारमा विश्वकर्मा पूजा गरिरहेका छन् । कलकारखाना,उद्योगधन्दा,मर्मतकेन्द्र,ग्यारेज,सवारीसाधन र यन्त्रसँग सम्बद्ध स्थलमा बिहानै सरसफाइ गरी ध्वजापताका, रंगीचंगी माला रिवनको प्रयोग गरि विश्वकर्माको फोटो राखी बिशेष पूजा पनि गरिन्छ ।
असोज १, २०७७ बिहीबार १४:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।