चौडा बन्दै हुलाकी सडक
धनगढीदेखि टीकापुर सत्तीसम्मको ४४ किलोमिटर हुलाकी सडक स्तरोन्नति
धनगढी: कैलालीको धनगढीदेखि टीकापुर सत्तीसम्मको ४४ किलोमिटर हुलाकी सडक स्तरोन्नति गर्ने कार्य अघि बढेको छ।
हुलाकी सडक आयोजना कार्यालय अन्र्तगत सडक स्तरोन्नतिका लागि ठेक्का भइ निर्माण कार्य अघि बढेको हो।
हुलाकी सडक स्तरोन्नती अन्र्तगत धनगढी क्याम्परोडदेखि तीन किलोमिटर चार लेन बनाइने छ भने अन्य ४१ किलोमिटर सडकलाई दुई लेनमा स्तरोन्नती गरिने हुलाकी सडक आयोजना कार्यालयले जनाएको छ।
आयोजना कार्यालयका सूचना अधिकारी पदम मडैले सडक स्तरोन्नतीका लागि चार चरणमा ठेक्का गरिएको जानकारी दिए।
उनका अनुसार क्याम्पसरोडदेखि कनरीसम्म ३७ करोड, कनरीदेखि फूलबारीसम्म ३२ करोडको सम्झौता भएको छ।
यस्तै, फूलबारीदेखि कटैनीसम्म २७ करोड ९६ लाख ७५ हजारमा तथा कान्द्रा नदीदेखि सत्तीसम्म ३२ करोड ६२ लाखमा सम्झौता गरिएको छ।
निर्माणको जिम्मा पाएको कम्पनीले अहिले सर्भे गरिरहेको छ। हुलाकी सडक अलकत्रा प्रविधिमा निर्माण गरिने छ। मडैले अहिलेको हुलाकी सडकभन्दा नया“ प्रविधिबाट काम हुने बताए।
धनगढीको क्याम्पस रोडदेखि कटैनीसम्मको ३१ किलोमिटर हुलाकी सडकको चौडाई अहिले जम्मा तीन दशमलव ७५ किलोमिटर रहेको छ। अहिले नेपाल सरकारबाट निर्माणाधीन हुलाकी सडकको चौडाई सात मिटर रहेको छ।
‘प्रतिनिधि सभा सदस्य नारदमुनि रानाको नेतृत्वको टोलीले सो सडकको डिपिआर तयार गरेको थियो’ मडैले भने ‘सोही आधारमा सडकको चौडाई बढाउने भनि मंसिरमा बोलपत्र आह्वान गरिएको थियो।’
हस्तान्तण नहुँदै सडक उप्किन थाल्यो
कैलालीको धनगढीदेखि कैलारी गाँउपालिका जोड्ने हुलाकी सडकको कालोपत्रे ठाउँ–ठाउँमा उप्किन थालेको छ।हुलाकी सडक अन्तर्गत कैलालीको धनगढी क्याम्पसरोडदेखि कटैनीसम्मको सडक सम्बन्धित कार्यालय (सडक डिभिजन कार्यालय) लाई हस्तान्तरण नहुँदै ठाउँठाउँमा कालोपत्रे उप्किदै गएकोे छ।
सो सडकखण्डमा रहेका केही कल्भर्टमा चिरासमेत परेका छन्। कतिपय कल्भर्टमा चिरा परेर ढलानको सरिया (फलामे छड) बाहिर निस्केको छ। कल्भर्टबाट निस्केका सरियाका कारण सवारी दुर्घटनाको जोखिमसमेत बढेको छ। हुलाकी सडक कार्यालयले गत भदौमा सो सडक मर्मतका लागि एक निर्माण कम्पनीसंग सम्झौता गरेको थियो।
हुलाकी सडक डिभिजन कार्यालयले ३१ किलोमिटर लामो सडक मर्मतको लागि ४० लाख रुपैया बजेट विनियोजन गरेकोमा २४ लाख ५८ हजार चार सय रुपैयाँमा ठेक्का स्वीकृत गरेको थियो।
ठेक्का पाएको निर्माण कम्पनीले कालोपत्रे उप्केका ठाउँमा मर्मत गरेको हुलाकी सडक आयोजनाले जनाएको छ। ‘कालोपत्रे उप्केका ठाउँमा निर्माण कम्पनीले मर्मत गरेको हो’ सुचना अधिकारी मडैले भने,‘अहिले नयाँ ठाउँमा उप्कने क्रम रहेको छ।’
करिडोरको २ किमि सडक निर्माण प्रक्रिया अघि बढेन हुलाकी राजमार्ग अन्र्तगत बसन्ता करिडोर क्षेत्रमा पर्ने दुई किलोमिटर सडक निर्माणको काम अझैँ सुरु हुन सकेको छैन।
वन विभागले अघिल्लो वर्ष साउन १३ मा दोस्रो पटक पेश गरिएको पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत गरे पनि डिभिजन वन कार्यालय धनगढीले रुख कटानको प्रक्रिया अघि नबढाउँदा काम काम सुरु हुन नसकेको हो।
‘विभागले अघिल्लो वर्षको साउन १९ गते हुलाकी सडक योजना कार्यालयलाई पत्राचार गर्दै दोस्रो पटक बुझाईएको प्रतिवेदन स्वीकृत गरिएको जनाएको थियो, तर त्यसपछिका आवश्यक प्रक्रिया थाल्न भने डिभिजन वन कार्यालय धनगढीले ढिलाई गरेको छ’ सुचना अधिकारी मडैले भने– रुखहरुमा ‘नम्बरिङ’ सकेर कटान आदेश पर्खिरहेका छौं।’
वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अनुसार सुरुमा चार सय एक रुख काट्नुपर्नेमा अहिले एक सय २१ वटा रुख मात्रै काट्नु देखिएको छ। सो क्षेत्रमा वन्यजन्तु ओहोरदोहोरका लागि ‘ओभर ब्रीज’ र ‘अन्डर ब्रीज’ बनाइए मात्रै राजमार्ग निर्माणको कार्यलाई अगाडि बढाउन दिने डिभिजन वन कार्यालय कैलालीले अडान लिएको थियो।
डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले ‘नम्बरिङ लगायतका सम्पूर्ण काम भइसकेको र विभागमा टीप्पणी आदेश पठाउने प्रक्रियामा रहेको बताए। उनले विभागमार्फत मन्त्रालयमा सो टीप्पणी आदेश जाने बताए। लकडाउनका कारण टिप्पणी आदेश पठाउन नसकिएको उनले सुनाए।
विगतमा वन कार्यालयले बसन्ता जैविक मार्ग वन्यजन्तुका लागि संवेदनशील क्षेत्र भएकाले वन्यजन्तुमैत्री संरचना निर्माण गर्ने अडान कायम राख्दा काम ठप्प रहेको थियो। बसन्ता जैविक मार्ग भारतको दुधवा नेसनल पार्कसँग जोडिएको छ। दुधवा नेसनल पार्क हुँदै नेपालको बसन्ता वन, चुरेसम्म वर्षको दुई मौसममा हात्ती, बाघ तथा अन्य प्रजातिका वन्यजन्तु ओहोरदोहोर गर्दै आएका छन्।
हुलाकी सडक निर्माण सुरु भएको १० वर्ष हुँदा पनि बसन्ता करिडोरमा देखिएको अन्यौलकै कारण काम अगाडी बढ्न सकेको थिएन। विगतमा ३० मिटर चौडा सडक निर्माण गर्न भनिएकोमा पछि परिमार्जन गर्दैै १२ मिटर तय गरिएको थियो।
असोज १, २०७७ बिहीबार १४:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।