मौलिक शिक्षा नीतिको संकल्प सराहनीय
नुमनाथ प्याकुरेल
शिक्षा संस्कृतको ‘शिक्ष्’ धातुबाट आएको हो जसको अर्थ दिनु भन्ने बुझिन्छ अथवा अनुभवी अग्रजहरूले आफ्ना सन्ततिलाई अनुभवहरू प्रदान गर्नुलाई नै शिक्षा दिनु भनिन्छ । ‘विद्यालयको चौघेराभित्र रहेर दिइने औपचारिक शिक्षा मात्र शिक्षा हो’ भन्नुलाई शिक्षाको संकुचित अर्थका रूपमा लिइन्छ भने ‘मानिस जन्मिएदेखि मृत्युपर्यन्त प्राप्त गरिने सम्पूर्ण अनुभवलाई शिक्षा भनिन्छ’ भन्नु शिक्षाको व्यापक अर्थ हो।
यसरी हेर्दा शिक्षा भनेको जीवनपर्यन्त चलिरहने प्रक्रिया हो । जसअन्तर्गत ‘व्यक्तिको बौद्धिक, शारीरिक, सामाजिक, आर्थिक, भौतिक, नैतिक आदि सम्पूर्ण पक्षको विकास गराउनु नै शिक्षा हो’ भनियो भने शिक्षाको वास्तविक अर्थ हुन आउँछ । शिक्षाको सार्वभौम अवधारणा हेरेर, हाम्रो शिक्षा नीति तथा व्यावहारिक अभ्यासलाई नियाल्ने हो भने, प्रशान्त महासागर जत्रो फराकिलो खाडल देखिन्छ । सार्वजनिक शिक्षा क्षेत्रमा सहयोगी भूमिकामा सीमित गर्नुपर्ने निजी शिक्षालयको पहुँचलाई निर्णायक स्थितिमा पु¥याइएको छ ।
निजी शिक्षालयले औपचारिक शिक्षामा उपमानको दर्जामा रहेर राज्यको शिक्षा नीतिले अपेक्षा गरेको लक्ष्य हासिल गर्न सहयोगीको भूमिका निर्वाह गर्नुपर्नेमा राज्यको अकर्मण्यता तथा अक्षमताका कारण निजी शिक्षालयहरुले पश्चिमी मूल्य, मान्यता तथा आदर्शलाई सर्वाङ्गीण रुपमा, प्रतिमानका रुपमा अवलम्बन गरेर नेपालको सामाजिक तथा प्राकृतिक पर्यावरण मैत्री, परम्पराबाट अविच्छिन्न रुपमा स्थिति गत्यात्मक भएर अधि बढेको नेपालको शिक्षा नीति टाउकाले टेकेको र खुट्टा उत्तानो परेको अवस्थामा देखिन्छ, त्यसकारण नेपालको शिक्षा नीतिलाई विज्ञानको बुद्धि, प्रविधिको प्रगति, धर्मको विवेक तथा सहृदयताको सम्बन्धमा आधारित सहृदयता दर्शनमा आधारित भएर आफ्नो प्राचीनताप्रति गौरव पनि गर्ने र साथसाथै विज्ञान प्रविधिको विकाससँगै अनुसन्धान, उद्यमशीलता र व्यक्तित्व विकासको कार्य पद्धति आत्मसात गरेर, इतिहासको बन्दी हैन कि, प्राचीनताबाट स्थिति गत्यात्मक प्रगति गर्दै आधुनिक गुरुकुलको अवधारणा आत्मसात गरेर टाउकाले टेकेको नेपाली शिक्षा नीतिलाई खुट्टाले टेक्ने तुल्याउने दीर्घकालीन लक्ष्यको महान् यात्रा जरोकिलो महाअभियानमा ‘आधुनिक गुरुकुल’ अवधारणाको सार्वजनिक आह्वान गरिएको छ ।
शिक्षा, ज्ञान तथा सीप सिक्ने सिकाउने पद्धति हो । शिक्षाले मानिसलाई निरन्तर अन्धकारबाट उज्यालोतर्फ अग्रसर गराउँछ । शिक्षा जन्मेदेखि नमरुञ्जेलसम्म कुनै न कुनै रूपमा चलिरहेको हुन्छ । जन्मदेखि मृत्युपर्यन्त आवश्यक पर्ने र त्यस अवधिमा प्रभाव पार्ने सम्पूर्ण ग्राह्य ज्ञान नै शिक्षा हो । असल खराब छुट्याउन सक्ने विवेक प्रदान गर्ने, सही निर्णय लिन सक्षम बनाउने, व्यक्तिको व्यवहारलाई अनुकरणीय र आदर्श बनाउने, मानवता र नैतिकताको प्रस्फुटन गराउने, इच्छानुरुपको प्रतिभा विकासमा टेवा पु¥याउने आदि कार्य शिक्षाले गर्दछ ।
शिक्षाले व्यक्तिलाई विविध पक्षमा आदर्शवान् बनाउँछ । बालबालिकाको सर्वाङ्गीण विकास गराई सत्मार्गतर्फ उन्मुख गराउँछ । शिक्षाले बालकको इच्छाअनुरुपको प्रतिभालाई मलजल गरी भविष्यमा त्यही प्रतिभाले नै बालकलाई महान् बनाउँछ । यसर्थ शिक्षा प्रतिभारुपी बिजका लागि अनुकूल हावापानीमा अवस्थित उर्वरभूमि हो । शिक्षाको विविध स्रोत र क्षेत्र छ । हामीले प्रकृतिबाट अथाह सकारात्मक शिक्षा आर्जन गर्न सक्छौँ । पुस्तकहरुको गहन अध्ययनबाट हामीले शिक्षा आर्जन गर्न सक्दछौँ।। । कसैको जीवनी, क्रियाकलाप आदिबाट अनुकरणीय शिक्षा हासिल गर्न सक्दछाँै । कालो बादलमा चाँदीको घेरा भने जस्तै हामीले सूक्ष्मातिसूक्ष्म कुराहरुको अवलोकन गरी ग्राह्य ज्ञान आर्जन गर्न सक्दछौँ । इच्छा र खुवि भएमा प्रत्येक कुराबाट हामीले सही शिक्षा आर्जन गर्न सक्छौँ। ।
संसार भूगोल, पर्यावरण, जीवन पद्धति, मानवीय मूल्य मान्यता, धर्म, संस्कृति, परम्परा, भाषा, रीतिरिवाजलगायतका क्षेत्रमा विविधतायुक्त छ । कसैलाई यो विविधतामा समस्या र चुनौती लागेको छ तर जसले मानिस पर्यावरणको एउटा हिस्सा हो र उच्च चेतनाका कारण संसारको भूगोल, पर्यावरण, उपलब्ध स्रोत, साधनहरुको उपभोगमा मानिसको भूमिका श्रेयस्कर हुनु स्वाभाविक हो तर मानिस कुन विश्व दृष्टिकोणबाट निर्देशित छ, त्यसले मानिसको चेतना निर्धारण गर्दछ र मानवीय चेतनाको सीमितताबमोजिम नै समाजको भाग्य र भविष्य निर्धारण हुन्छ ।
पश्चिमी समाजको आजसम्मकै श्रेयस्कर सार्वजनिक युवा अभिमुखीकरण मानवतावादमा सीमित छ । मानव सेवा, मानव कल्याण, मानव विकास शिक्षाको दायरा बनेका छन् । पूर्वीय समाजको आदर्श सहृदयमा छ । पृथ्वी सबै जीवित, प्राणी, वनस्पति, किट, पतंगलगायत मानव निर्मित भौतिक संरचनाहरुको साझा घर हो र यस धर्तीमा सबैको जन्मने, विकास गर्ने र जीवन चक्र पूरा गर्ने सार्वभौम अधिकार छ र उच्च चेतना भएकै कारण मानिसकै कर्तव्य हो, मानिस इतरका अवयवहरुको अविभावकीय संरक्षकत्व गर्ने ।
हाम्रो प्राचीनताले मार्गनिर्देशन गरेको शिक्षा के हो भने यस संसारका जीवित पाणीहरुको हृदय समान छ र मानिसले नै सबैप्रति सहृदयता भाव राख्नु पर्छ र तिनको पनि यस धर्तीमा जन्मन, हुर्कन, फैलन र संरक्षित हुन पाउने अधिकार छ । पश्चिमी समाजमा जात, जनजात, धर्म, भाषा, संस्कृति तथा नश्लका आधारमा राष्ट्र तथा राज्यको परिभाषा गर्ने मान्यता स्थापित ग¥यो तर पूर्वीय सभ्यतामा निश्चित भूराजनैतिक वैधानिकता प्राप्त क्षेत्रफलमा स्थायी तथा अस्थायी रुपमा बसोबास गर्ने विभिधतायुक्त जनसंख्याको समन्वित अवधारणा नै राष्ट्र अथवा राज्य भएका कारण, पूर्वीय सभ्यताले मार्गदर्शन गरेको वैश्विक दृष्टिकोण गुणात्मक रुपमा श्रेयस्कर तथा तथा उदार चरित्रको छ ।
अर्थ आर्जन साधन हो, साध्य हैन । भौतिक सुख, आर्थिक लाभ तथा सांसारिक मायाले आसक्ति बढाउँछ । हाम्रो प्राचीन वैदिक सनातन सभ्यता जसलाई हिन्दु पनि भनिन्छ र साथै, बौद्ध, बोन, किराँत, जैन लगायतले धर्म, अर्थ, काम र मोक्ष जीवनका चार पुरुषार्थको आधार धर्म मान्दछन् । आर्य अर्थात् अग्रणी बल, धन र मनभन्दा माथि हृदयको तहमा रहेर सञ्चार सम्बन्ध स्थापित गर्न प्रेरित गर्दछन् । हृदय मात्र त्यस्तो निकाय हो, जसले आफ्नो र पराइ छुट्याउँदैन । यो निराकार हुन्छ, निरञ्जन हुन्छ र सनातन हुन्छ । सहृदयमा आधारित संसार बनाउने हो भने त्यो निरञ्जन, सनातन र ईश्वरीय हुन्छ ।
स्वस्थ जीवनमा शारीरिक सुगठन वा शारीरिक स्वास्थ्य, मानसिक सन्तुलन, सामाजिक सत् व्यवहार तथा निरोगिता अत्यन्त महŒवपूर्ण पाटाहरू हुन् । शिक्षित हुनु भनेको जीवन जिउने कला सिक्नु, ब्रह्माण्ड र दुनियाँ सञ्चालन गर्ने नियम थाहा पाउनु हो । शिक्षित व्यक्ति असल र आदर्श हुनु नितान्त जरुरी हुन्छ । यसको अर्थ शिक्षित व्यक्ति नमुना, उदाहरणीय वा आदर्श पनि हुनु पर्छ । अर्को पाटो भनेको दया, माया र करुणाको हो । शिक्षित व्यक्ति सबैभन्दा मायालु वा प्रेमी हुनु पर्छ । शिक्षित व्यक्ति सबैभन्दा बढी मायालु वा प्रेमी भएपछि शिक्षाको लक्ष्य पूरा हुन्छ ।
शिक्षाका नाममा हामी सेवा गर्दैछौँ कि ? व्यापार ? आप्नो पहिचान कायम राख्दैछौँ कि ? उजाड्दै छौँ ? राज्यले अविभावकीय भूमिका निर्वाह गर्दैछ कि ? दलाली गर्दैछ ? शिक्षामा गरिएको खरबौँको लगानीले नेपाली समाज सिँचित हुँदैछ कि ? संसारका लागि श्रमिक उत्पादन गरेर, सस्तो ज्यालामा निर्यात गर्दैछौँ र विधर्मी मूल्य मान्यताको डंगुर बनाउने कीर्तिमान राख्दैछौँ ?
प्रवृत्ति पलायनको विभत्स उदाहरण के छ भने, मिल्ने भए आमाहरुले गर्भमै अंग्रेजी भाषा सिकाउँथे होला, बाबाहरुले दूध छुट्नेबित्तिकै मन्टेश्वरीको मासिक शुल्क भर्थे होला । छोराछोरीको रोजाइमा हैन, बाआमाको प्रतिष्ठाका लागि जग्गा बेचेर डाक्टरी र इन्जिनियर पढाउँदै छन्, ऋण गरेर बिरामी हुँदा पाँचतारे सुविधा सम्पन्न निजी अस्पतालको क्याबिनमा स्वास्थ्य उपचार गर्दैछन्, छिमेकी तथा नातेदारको भन्दा धेरै शुल्क तिरेर छोराछोरीलाई महँगा विद्यालय तथा महाविद्यालयमा पढाउँदै छन्, विवाह, व्रतबन्ध, जन्मोत्सव तथा पास्नीमा गरिने फजुल खर्चको त के हिसाबकिताब गर्नु ? जीवनलाई सकेसम्म सामान्य तर विचार चाहिँ सगरमाथा भन्दा अग्लो बनाएर ज्ञान, विज्ञान, तर्क र दर्शनका कुरा गर्दा पहाड जत्रो छाति फिँजाउनुपर्नेमा सेवा, कर्तव्य र धर्ममा फट्याङ्ग्राको जत्रो चित्त किन गर्छन् ? विद्वानहरुको यस्ता कुख्यात प्रवृत्तिमा नजर पुगेको छ ?
यस्तो अव्यावहारिक, अधर्मी शिक्षामा हुर्केका बालबालिकाको मनोविज्ञानमा कसरी विकास भैरहेको छ ? सत्ता, शक्ति, धन, नशा, सुर, सुन्दरीको कुलतमा चुर्लम्मै डुबेका, विदेशी, विधर्मी सैद्धान्तिक जालमा फसेका, हत्या, हिंसा, भ्रष्टाचार, व्यभिचारको पृष्ठभूमिबाट आधाशताब्दीको राजनीतिक दाउपेच, सिन्डिकेट, भागबण्डा, लेनदेन, दलाली र मत्स्य न्यायको कुटनीति प्रयोग गर्दै दलीय तथा राज्यको सत्ता कब्जा गर्न पुगेका विषाक्त कम्युनिष्ट पुँजिवादी तन्त्रका सस्ता खेतालाहरुलाई नेपालकेन्द्रित आधुनिक गुरुकुल शिक्षा नीति कुन श्रीखण्ड कुन खुर्पाको बिँड ।
भौतिक तथा सांसारिक बन्धन त्यागेर मोक्षको मार्गमा हिँडेका, प्राचीन सभ्यता, धर्म, संस्कृति तथा परम्पराबाट स्थिति गत्यात्मक प्रगतिको मार्गमा हिँडेका शिक्षित, प्रशिक्षित तथा दीक्षित युवाले उदार चरित्रको नेपालकेन्द्रित वैश्विक मान्यता लिएर, वैज्ञानिकता युक्त धर्म तथा धार्मिकतायुक्त विज्ञानको दृष्टिकोण राखेर, अनुसन्धान, उधमशीलता र व्यक्तित्व विकासको कार्य पद्धति बनाएर कर्म पथमा सकारात्मक सोच, सिद्धान्त, चिन्तन, व्यवहार, समर्पण, दर्शन, पद्धति, वाद, साहित्य धारण गरेर अघि बढ्दा मात्रै सहृदयतासम्मको गन्तव्यमा पुग्न सकिन्छ । खुसी, आनन्द, सन्तुष्टिजस्ता सबै मानवीय सद्गुणहरू सहृदय लक्षित हुन् । मानिसको शारीरिक अस्तित्व मात्रै भएको भए यी कुराहरूको किमार्थ आवश्यकता पर्ने थिएनन् । यी र यस्तै कारणले प्राचीनताप्रति गौरव पनि गर्ने र वैज्ञानिक खोज तथा अनुसन्धान गरेर इतिहासको बन्दी भएको मानसिकतामा स्थिति गत्यात्मक प्रगति गर्न अघि सारिएको आधुनिक गुरुकुलको अवधारणाले मात्रै, टाउकाले टेकेर खुट्टा उँभो पारेको नेपाली शिक्षा नीतिलाई, खुट्टाले टेक्ने बनाउन मौलिक शिक्षा नीतिको संकल्प सराहनीय, अनुकरणीय तथा अनुसरणीय छ ।
असोज १, २०७७ बिहीबार १२:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।