जयनगर–जनकपुर रेल मंसिरमा
जनकपुरधाम : भारतको जयनगर देखि जनकपुरधाम सम्म आगामी मंसिरमा रेल चलाउने अन्तिम तयारी थालिएको छ।
रेल विभागले जयनगरबाट दैनिक जनकपुरधामको कुर्थासम्म रेल चलाउने तयारी थालेको हो।
भारतको मद्रासस्थित कारखानामा बनेको रेल बिहारको हाजीपुरस्थित रेल्वे स्टेसनमा ६ महिनाअघि नै आइसकेको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए।
भारतको मद्रासस्थित इन्टीग्रल कोच फ्याक्ट्रीमा बनेको रेल असोजको पहिलो सातामै जनकपुरधाम आइपुग्ने निश्चित भएको उनले बताए। दूई महिनामा जसरी पनि रेल चल्ने उनले दाबी गरे।
‘सम्झौता अनुसार मोबिलाइजेसनको २० प्रतिशत रकम नेपाल सरकारले बुझाइसकेको छ,’ मिश्रले भने, ‘बाँकी ८० प्रतिशत रकम रेल जनकपुरधाम आएर परीक्षण भए पछि मात्र भुक्तानी गरिने छ।’
राम–जानकी विवाह पञ्चमीको तिथिबाट रेल सञ्चालनमा आउने भनेर गतवर्ष नै रेल विभागका पदाधिकारीले आश्वासन दिए पनि रेल जनकपुरधाम नआउँदा संचालन हुन सकेन।
६ वर्षदेखि रेल सेवा अवरुद्ध भएपछि बेरोजगार बनेका व्यवसायी मात्र होइन, रेल सेवा बन्द भएपछि घुमाउरो बाटोबाट गन्तव्यसम्म जान बाध्य सर्वसाधारणलाई पनि यो समाचारले खुसीको बनाएको छ।
विगत साढे दुई दशकदेखि जनकपुर रेल्वे स्टेसनमा पुस्तक बिक्री गर्दै आएका राजेन्द्र कुसवाहाले रेल संचालन हुने खबरले खुसी भएको बताए।
रेल सञ्चालनसँगै आफ्नो पुस्तक पसल पुनः सञ्चालनमा आउने भएपछि उनमा खुसीको छाएको हो। भन्छन्–‘रेल्वे स्टेसनमा पसल थाप्नु भनेको व्यवसायसँगै सम्बन्ध विस्तार पनि हो।’
रेल बन्द हुँदा जनकपुरधामको स्टेसन क्षेत्रमा रहेका झन्डै एक सय चियानास्ता पसल, होटल, पुस्तक तथा फलफूल, किराना पसल विस्थापित भएका थिए।
विस्तार क्रममा रेल्वे स्वामित्वको जग्गा खाली गराइएकाले पुराना पसले नजिकका घरमा पुनः पसल थाप्ने तयारीमा गरेका छन्।।
जनकपुरधाम–१ का वडाध्यक्ष शत्रुघ्न साहले पुनः रेल संचालनमा आउने खबरले सबैमा खुसी छाएको बताए।
उनले आफ्नै मुलुकको झन्डा भएको ब्रोडगेज रेलमा सरर यात्रा गर्ने जनकपुरबासीकोे इच्छा पूरा हुने भएको वताए।
पहिलो चरणमा जयनगर–जनकपुर–कुर्था (३५ किमि) को रेल सेवा सञ्चालन गर्ने तयारी दुवै देशका प्राविधिकले गरेका छन्।
दोस्रो चरणमा कुर्था–भंगहा (१७ किमि) तथा तेस्रो चरणमा भंगहा–बर्दिबास (१७ किमि) गरी कुल ६९ किलोमिटर रेल विस्तार आगामी ३ वर्षभित्र पूरा हुने नेपाल रेल्वे कम्पनीका इन्जिनियर विनोद ओझाले जानकारी दिए।
रेलको एक सेटमा पाँच वटा डिब्बा रहनेछन। ती डिब्बामा एक पटकमा करिब १ हजार ३ सय यात्रु अटाउने छन्। दिनमा तीन पटकसम्म ओहोर दोहर गर्ने तयारी विभागको छ।
कर्मचारीका लागि विज्ञापन
विभागले रेल संचालनका लागि आवश्यक पर्ने करारमा केही कर्मचारी भर्ना प्रक्रिया पनि थालेको छ।
रेल सञ्चालन गर्न कर्मचारी नरहेका कारण नेपाल सरकारको पूर्ण स्वामित्वको नेपाल रेल्वे कम्पनीले विभिन्न कर्मचारी भर्नाका लागि विज्ञापन आह्वान गरेको हो।
रेल्वे कम्पनीले खुला प्रतिस्पर्धाद्वारा विभिन्न पदमा आवश्यक परेका १ सय २९ जना कर्मचारीलाई करार सेवामा परिपूर्ति गर्न हालै विज्ञापन खोलेको छ।
विभागले शाखा अधिकृतको लागि अधिकृत तृतीय स्तरमा प्रशासन सेवाको लागि समान्य प्रशासनतर्फ १ जना कर्मचारी माग गरेको छ।
कानून अधिकृत १ जना र स्टेसन मास्टर ३ जना माग गरिएको छ। यी ३ पदको लागि न्यून्तम योग्यता स्नातक तोकिएको छ।
पाँचौ तहको लागि सब–इन्जिनीयरतर्फ मेकानिकल पदमा १ जना, पाँचौ तहमा सहायक प्रथम स्तरकै ईन्जिनीयरिङ सेवातर्फ इलेक्ट्रीकलतर्फ पनि १ जना सबइन्जिनीयर माग गरिएको छ।
त्यस्तै विभागले सव–इन्जिनियर, सहायक स्टेशन मास्टर, प्रमुख प्रशासन सहायक, लेखापाल, कम्प्युटर अपरेटर, क्यासियर, टिकट विक्रेता सहायक, टिकट कलेक्टर, हेल्पर, कार्यालय सहयोगी लगायतको पदमा विज्ञापन आह्वान गरिएको छ।
असोज १, २०७७ बिहीबार ११:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।