प्रदेश राजधानीमै अन्धकार बस्ती 

प्रदेश राजधानीमै अन्धकार बस्ती 
धनगढी उपमहानगरपालिका वडा नम्बर १३ को ‘श्रीलंका’ बस्ती । तस्बिरः शेरबहादुर ऐर/धनगढी

धनगढी: शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानी र यातायात आधारतभूत आवश्यकता हुन्। प्रत्येक नागरिकलाई आधारभूत आवश्यकता पुरा गर्नु राज्यको दायित्व हो।

 भौगोलिक रुपमा विकट र दुर्गम बस्तीहरुमा पनि अहिले आधारभूत आवश्यकता पुरा भैरहेका छन्।

सुदूरपश्चिम प्रदेशको राजधानी नजिकैको एक बस्तीका लागि भने न्यूनतम् आधारभूत आवश्यकताको कुनै एउटा कुरा पनि अपलव्ध छैन। त्यो बस्ती हो, कैलालीको गोदावरी नगरपालिका–५, गेटीस्थित मुक्त कमैया शिविर।  यस शिविरका बासिन्दा खानेपानी, विद्युत, शौचालयलगायतका सेवाबाट वञ्चित छन्।

सरकारले २०५७ साल भदौ २ गते मुक्त कमैया घोषणा गरेको थियो। २०५८ सालमा त्यहाँ ३२ जना परिवारलाई लगेर बसोबासको व्यवस्था गरेको थियो।  बस्ती बसेको १९ वर्ष पुग्दा समेत यहाँका मुक्त कमैया परिवारले न त विद्युत देख्न पाए न त खानेपानी घरमै पुगेको हेर्न पाएका छन्। मुक्त कमैया शिविरकी रतरानी देवी चौधरीले भनिन्–‘यहाँ न त विद्युत छ न त खानेपानीको व्यवस्था। सरकारसंग माग गर्दागर्दा थाकिसक्यौं तर, कसैले ध्यान दिँदैन्।

उनले विद्युत नहुँदा अन्धकारमा बस्नु परेको गुनासो गरिन्। विद्युतको अभावमा दैनिक १६ रुपैयाँ तिरेर मोबाइल चार्ज गरिरहेको उनले सुनाइन्। ‘दैनिक ज्यालादारी गरेर खाने मुक्त कमैयालाई पैसा तिरेर मोबाइल चार्ज गराउनु सम्भव छैन’ उनले थपिन्। मुक्त कमैया शिविरकी ममतादेवी डङ्गौराले पनि खानेपानी, विद्युत लगायतका सेवा नहुँदा सास्ती खेप्नुपरिरहेको बताइन्। 

वरिपरीका बस्तीमा विद्युत हुँदा आफ्नो वस्तीमा अन्धकार भएकोमा कसैले ध्यान नदिएको उनले सुनाइन्। उनले पानी लिन पनि १०–१५ मिनेट हिँडेर सार्वजनिक खानेपानीको धारामा जानु परेको बताइन्।
गोदावरी नगरपालिकाका–५ का वडा अध्यक्ष कर्णबहादुर बोहराले जग्गा विवादका कारण उक्त मुक्त कमैया वस्तीमा विद्युत सेवा पुगाउन नसकिएको बताए।

‘शुरुमा यो जग्गा वनको थियो र अहिले निर्माणाधिन गेटा मेडिकल कलेजको स्वामित्वमा रहेको छ’ उनले भने,‘पटक–पटक स्थानीय प्रशासनसँग वस्तीको समस्या समाधानको माग राख्दा पनि वास्ता गरिएन।’जग्गाकै कारणले उक्त बस्तीनै रहनेकी नरहने भन्नेनै एकिन नभएको उनले बताए। 

दुई सयलाई एक सौचालय

गेटीको मुक्त कमैया शिविरमा ३७ घरपरिवारका दुई सय जना सदस्य रहेका छन्।  खानेपानी, विद्युतसंगै उनीहरूलाई दिसापिसाव गर्न शौचालयको व्यवस्था छैन। सौचालयको अभावले यहाँका स्थानीय खुल्ला ठाउँमा दिसापिसाव गर्न बाध्य छन्।  गोदावरी नगरपालिकाले सिंगो बस्तीका लागि तीन कोठे सार्वजनिक शौचालय निर्माण गरेको छ। 

सो शौचालय वाटोमा आवत जावत गर्ने यात्रुहरूले समेत प्रयोग गर्न पाउन भनेर नगरपालिकाले निर्माण गरेको थियो।  स्थानीय रतरानी देवी चौधरीले सौचालयको अभावमा नजिकैको नालामा दिसापिसाव गर्दैआइरहेको बताइन्। दुई सय जनाका लागि तीनवटा मात्रै शौचालय निकै कम भएको उनले सुनाइन्।
 

 

असोज १, २०७७ बिहीबार १०:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।