निःशुल्क रगतकाे विराट अभियान

निःशुल्क रगतकाे विराट अभियान
विराटनगर महानगरपालिका कार्यालय।

विराटनगर : विराटनगर महानगरपालिकाले महानगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ। महानगरपालिकाले स्थायी वासिन्दाको उपचारमा आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको हो। 

स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराइने विराटनगर महानगरपालिकाका जनस्वास्थ्य निरिक्षक हैदर अलिले जानकारी दिए। उनका अनुसार महानगरको वार्षिक कार्यक्रम अन्तर्गत निःशुल्क रगत उपलब्ध गराउने योजनालाई समेटिएको छ। 

नेपाल रेडकक्रस सोसाइटी र मोरङसँग समन्वय गरेर महानगरवासीलाई रगत आवश्यक परे निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको हो।  महानगरपालिकाले  विराटनगरस्थित नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्रलाई वार्षिक रुपमा खपत भएको रगतको खर्च एकमुष्ट दिने सम्झौता गरिसकेको छ। 

रक्तसञ्चार केन्द्रले  १ पिन्ट रगतको ८ सय १० रुपैयाँ लिंदै आएको छ।  निःशुल्क रुपमा रगत पाउन महानगर भित्रको स्थायी बासिन्दाभएको हुनुपर्नेछ। यस्तै अस्पताल भर्ना भएका विरामीलाई चिकित्सकले रगत आवश्यक भएको सिफारिस दिएको हुनुपर्नेछ। डाक्टरले पुर्जा दिएपछि पुर्जा लिएर रेडक्रस सोसाइटीमा गएपछि रगत पाइने व्यवस्था छ।  निःशुल्क रगत पाउन महानगरको स्थायी वासिन्दा भएको प्रमाण देखाउनुपर्ने अलिले बताए।   

निःशुल्क रगत उपलब्ध गराउन रेडक्रस सोसाइटी मोरङसँग विराटनगर महानगरपालिकाले  १ वर्षसम्मको लागि सम्झौता गरेको महानगरले जनाएको छ। महानगरपालिका र रेडक्रस सोसाइटीबीच आर्थिक बर्ष २०७७÷२०७८ असार मसान्तसम्मका लागि यो सम्झौता भएको हो। रक्तसंचार सेवा केन्द्रबाट एक वर्षसम्म खपत भएको रगतको आधारमा महानगरले रेडक्रस सोसाइटीलाई भुक्तानी गर्नेछ। निःशुल्क रगत बितरण कार्यक्रमको एक वर्षको प्रभावकारिता मूल्यांकन गरेर थप निर्णय गरिने अलिले बताए।  

यसैगरी कोशी अस्पताल विराटनगरले पनि प्रसुती सेवामा निःशुल्क रगत उपलब्ध गराउने भएको छ।  रेडक्रस सोसाइटीसँग समन्वय गरेर प्रसुती गराउन कोसी अस्पताल आउने आमाहरुका लागि आवश्यक रगत निःशुल्क उपलब्ध गराउने अस्पतालले जनाएको हो। 

कोशी अस्पतालको स्त्री तथा प्रसुती विभाग अन्तर्गत प्रसुती  कक्षमा भर्ना भएका भएका गर्भवती महिलाका लागि निःशुल्क रगत उपलब्ध गराउने कोशी अस्पताललका सुपरीटेन्डेन्ट डा.चुमनलाल दासले जानकारी दिए। राज्यले संचालन गरेको सुरक्षित प्रसुती सेवा अन्र्तगत रत्तसंचार सेवा निःशुल्क गरिएको मेसु दासले बताए। 

अस्पतालको प्रसुतीकक्षमा भर्ना भएका गर्भवती महिलाहरु जुनसुकै स्थानको भएपनि अस्पतालले रगत उपलब्ध गराउने छ। तर, अस्पतालमा भर्नापछि रगत आवश्यक भएको चिकित्सकको सिफारिस अनिवार्य हुनुपर्ने मेसु दासले बताए। पैसा अभाव भएका कारण रगत नपाएर अकाल मै सुत्केरीले ज्यान गुमाउनु पर्ने अवस्था अन्त्य हुने दासको भनाई छ। 

‘सुत्केरीलाई अस्पतालले नै रगतसमेत उपलब्ध गराएपछि रगत किन्न नसकेर सुत्केरीको ज्यान जाने अवस्था अन्त्य हुने विश्वास गरेका छौं’, उनले भने। 

नेपाल रेडक्रस सोसाइटी मोरङका  सभापति सुवोध सिंहले मोरङ जिल्लामा रहेका १७ वटा स्थानीय तहमध्ये पहिलो पटक महानगरपालिकाले संस्थागत रुपमा बिरामीलाई रगत उपलब्ध गराउन सम्झौता गरेको बताए। सभापति सिंहले अन्य स्थानीय तहसँग समेत समन्वय र सहकार्य गरेर अगाडी बढ्ने रेडक्रस मोरङको योजना रहेको जानकारी दिए।  
 
 

असोज १, २०७७ बिहीबार ०७:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।