कालापानी समेटिएको नयाँ पाठय सामग्री तयार

कालापानी समेटिएको नयाँ  पाठय सामग्री तयार

पाठ्वस्तु समायोजन ढाँचा समेत सार्वजानिक
 

काठमाडौ : सरकारले पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित गरेको नेपालको भूभाग र सीमाना सम्बन्धी स्वाध्यान सामग्रीमा लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतलाई समेटेर परिमार्जन गरेको छ।

सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका अनुसार गरिने शिक्षण विधिका लागि पाठ्यवस्तु समायोजन ढाँचा सार्वजानिक गर्ने क्रममा यो नक्सा समेत पनि सार्वजनिक गरेका हो ।

सरकारले जारी गरेको नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायतलाई स्वाध्यान पुस्तकमा समेटिएको शिक्षा, बिज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले जानकारी दिए । देशका सीमा स्तम्भ र पछिल्लो नक्साबारे यो अध्ययन सामग्रीमा समेटिएको छ । यसैगरी सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका अनुसार गरिने शिक्षण विधिका लागि पाठ्यवस्तु समायोजन ढाँचा समेत सार्वजानिक गरेको छ ।

मन्त्री गिरिराजमणि पोखरेलले मंगलबार भर्चुअल पत्रकार सम्मेलन   मार्फत पाठ्यवस्तु समायोजन ढाँचा र नयाँ नक्सा सहितको स्वअध्ययन सामग्री सार्वजानिक गरेका हुन । ढाँचाको मुख्य अंशहरु समेटी शिक्षामन्त्रीको वक्तव्यमार्फत् सार्वजनिक गरिएको छ।

शिक्षा मन्त्रालयले १९ भदौमा जारी गरेको विद्यार्थीको न्यूनतम सिकाइ उपलब्धि सुनिश्चित हुने गरी विद्यार्थीको सिकाइलाई निरन्तरता दिने र पाठ्यवस्तुु समायोजन हुँदा प्रयोग गर्न सकिने सिकाइ सहजीकरण विधि र सिकाइ उपलब्धिको मूल्याङ्कनका उपाय सुझाउने उद्देश्यले पाठ्वस्तु समायोजन ढाँचा, २०७७ तयार गरिएको हो ।

पाठ्यवस्तुु समायोजनका लागि एकीकरण, समूहीकरण, प्राथमिकीकरण सिद्धान्तलाई अवलम्बन गरिएको जनाउदै यी सिद्धान्तका आधारमा तहगत र विषयगत रूपमा वैकल्पिक विधिबाट शिक्षकले सहजीकरण गर्न सकिने छ । पाठ्यवस्तुु र शिक्षकको निर्देशनमा वैकल्पिक विधि वा अन्य व्यक्तिको सहयोगबाट सहजीकरण गरिने पाठ्यवस्तुु छुट्याउने आधारसहित नमूना ढाँचा यसमा प्रस्तुत गरिएको छ।

यसका आधारमा विद्यालयले घरलाई शिक्षालय, रेडियो पाठशाला, टेलिभिजन शिक्षामा, भर्चुअल माध्यमका लागि सिकाइ सहजीकरण र मूल्याङ्कन योजना बनाउन सक्ने गरी प्रधानाध्यापक, विषय शिक्षक र स्थानीय विज्ञको समिति रहने व्यवस्था गरिएको छ।

विद्यार्थीको सिकाइको मूल्याङ्कन प्रमाणका आधारमा गर्नुपर्नेमा ढाँचामा जोड दिइएको छ । ‘विद्यार्थीको मूल्याङ्कन गर्दा के आधारमा गरियो र कुन मापदण्डमा अङ्कन र श्रेणीकरण र स्तरोन्नति गरियो भन्ने कुरामा शिक्षक सुनिश्चित हुनु पर्छ अनि अभिभावक, विद्यार्थी र सम्बद्ध सरोकारवालालाई पनि सोको जानकारी गराउनुपर्छ,’ मन्त्री पोखरेलले वक्तव्यमा भनेका छन्, ‘मूल्याङ्कनलाई वस्तुनिष्ठ, प्रामाणिक र गुणस्तरीय बनाउने जिम्मेवारी स्वयम् शिक्षकको हो । सिकाइ सहजीकरणका क्रममा गरिने मूल्याङ्कन, प्रयोगात्मक मूल्याङ्कन र प्रमाणीकरण मूल्याङ्कनबाट विद्यार्थीको कक्षोन्नति गर्न सकिन्छ ।’

    

भदौ ३१, २०७७ बुधबार १६:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।