बिरामीले उपचार नपाएपछि आफ्नै घरमा धर्ना

बिरामीले उपचार नपाएपछि आफ्नै घरमा धर्ना

जनकपुरधाम: जनता समाजवादी पार्टीका नेता नेजामुदिन शमानी आफ्नै घरको आगनमा धर्नामा बस्नथालेको ३७ दिन बितिसकेको छ।आफ्नो व्यक्तिगत माग पुरा गर्न उनी धर्नामा बसेका होइनन्। वीरगंजको नारायणी अस्पतालमा सबै सेवा सुरु हुनुपर्ने उनको माग छ।

शमानी दैनिक विहान ११ बजे देखि १२ बजेसम्म एक घण्टा धर्नामा बस्छन्। पछिल्लो समय सरकारले नारायणी अस्पतालमा कोरोना संक्रमितको मात्र उपचार गर्ने व्यवस्था गरेपछि अरु रोगका विरामी उपचारबाट बञ्चित भएका छन्।

नारायणी अस्पतालमा कोरोनाका बिरामीवाहेक अरु रोगका बिरामीले पनि उपचार पाउनुपर्ने माग गर्दै धर्नामा बसेको शमानीले बताए। ‘आर्थिक अवस्था कमजोर भएकाहरुले उपचार गराउने नारायणी अस्पतालमा कोरोना संक्रमितको मात्र उपचार हुँदा अरु रोगका बिरामीले उपचार नै नपाएर मर्नुपर्ने अवस्था आएको छ’ शमानीले भने,‘जब सम्म सबै रोगका विरामीले उपचार पाउँदैनन् तब सम्म धर्ना जारी राख्छु।’

नारायणी अस्पतालका बिरामीलाई वीरगंजमै रहेको नेशनल मेडिकल कलेजमा स्थानान्तरण गरिएको छ। तर, त्यहाँ पनि सरकारले तोके अनुसारको स्वास्थ्य सेवा पाउन नसकेको बिरामीहरुको गुनासो छ।

आम जनताको लागि कम खर्चमा उपचार हुने एक मात्र नारायणी अस्पताल कोरोनाको शिकार भएको उनले बताए। कोरोना संक्रमितका साथै अरु रोगका गरिब तथा विपन्न नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्ने उनको माग छ। 

कारोना संक्रमण महामारीको कारण वीरगञ्जस्थित सरकारी तथा निजी अस्पतालले भर्ना नलिदा तथा उपचार नपाएर पछिल्लो डेढ महिनामा ७ जनाले ज्यान गुमाएका छन्।

कोरोना कहरको बेला अधिकांश अस्पतालहरु बन्द रहेको र संचालन रहेको अस्पतालले पनि विरामी भर्ना नलिदा ५ जना र भर्ना लिएर पनि उपचार गर्दा २ जना गरी ७ जनाले ज्यान गमाएका छन्।

ज्यान गुमाउनेहरुमा वीरगञ्ज महानगरपालिकाका मात्रै ६ जना तथा बाराको कोल्हभी नगरपालिका–४ का एक जना छन्। प्रदेश नं २ का समाजिक विकास मन्त्री नवलकिशोर साहले उपचार नपाएर ज्यान गुमाउनु गैरजिम्मेवारीपन भएको बताउछन्। आफूले निजि तथा सरकारी अस्पताललाई यस सम्बन्धमा गम्भीरता देखाउन निर्देशन दिएको उनले बताए। 
 

भदौ ३१, २०७७ बुधबार १४:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।