आरटी पीसीआरको महत्व
- जितेन्द्र श्रेष्ठ
कोभिड–१९ (कोरोना) भाइरस भए नभएको पहिचान गर्न आरटी पीसीआर प्रविधिको प्रयोग हुँदै आएको छ। सुरु सुरुमा त आरडीटीसमेत प्रयोगमा आएको थियो। तर, आरडीटी प्रविधिले कोरोना भाइरसको जिवाणु राम्रोसँग पहिचान हुन नसक्ने भन्दै सर्वत्र विरोध भएपछि यो उपकरण रोकियो।
कोरोना भाइरसको निदान पीसीआर विधिबाट हुँदै आएको छ। विगतमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट मात्र सो टेस्ट हुँदै आएकोमा अहिले देशभर ५० भन्दा बढी प्रयोगशालाबाट यो सेवा दिइएको छ।
कोरोनाको जिवाणु मानिसको मुख वा नाकबाट प्रवेश गरी श्वास नली हुँदै फोक्सो भित्र प्रवेश गरी फोक्सोको सेलमा भएको एन्जियोटेन्सिन कन्भर्टिङ इन्जाइम २ भन्ने रिसेप्टर (भाइरस टाँसिने प्रोटिन) मा टाँसिएपछि भाइरस सेलभित्र प्रवेश गर्छ र आफ्नो संख्या वृद्धि गर्न थाल्छ।
जब भाइरसको संख्या शरीरमा बढ्न थाल्छ तब मात्र मानिसको शरीरले भाइरस विरुद्ध एण्टिबडी बनाउन सुरु गर्दछ।
यो सबै प्रक्रिया हुनका लागि एकजना स्वस्थ मानिसमा आठदेखि दस दिन लाग्छ। कोरोना भाइरसको जिवाणु ठिकसँग पहिचान गर्न सक्ने हालसम्मकै सबैभन्दा विश्वसनीय विधि भनेकै आरटी पीसीआर प्रविधि हो।
आरटी पीसीआर भनेको रियलटाइम पोलिमरेज चेन रियाक्सन हो। यो प्रविधिले भाइरसको आरएनए छ या छैन भनी पत्ता लगाउँछ। यो प्रविधिबाट कुनै मानिसलाई भाइरस संक्रमण भएकै दिन पनि नतिजा पोजेटिभ देखाउन सक्दछ।
जसले गर्दा संक्रमित व्यक्तिको समयमै उपचार हुन सक्दछ र मानिसमा भाइरस फैलन नपाएपछि चाँडो निको हुन सहयोग पुग्छ। तर, आरडीटी विधिबाट भने त्यति विश्वसनीय हुँदैन र नेगेटिभ नतिजा दिने सम्भावना धेरै हुन्छ। यस्ता खाले मेसिन नेपालमा ३० भन्दा धेरै छन्।
नेपालमा हाल कोरोना भाइरसको प्रयोगशालामा काम गरिरहेका बाहेक आरटी पीसीआर प्रविधि प्रयोग गरी रिपोर्टिङ गर्न सक्ने जनशक्ति त्रिवि केन्द्रीय माइक्रोबायोलोजी विभागबाट उत्पादित माइक्रोबायोलोजिस्ट र वायोटेक्नोलोजिस्टहरु हुन्।
मेडिकल माइक्रोबायोलोजीको पढाइ नै रोग लगाउने भाइरस ब्याक्टेरिया, फंगास आदिको बारेमा अध्ययन अनुसन्धान तथा निदान गर्ने भएकोले भाइरसको बारेमा एथेष्ट जानकारी राख्ने जनशक्ति हो यो।
नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले २०६८ सालमा जारी गरेको अस्थायी लाइसेन्स रोकेर राखेकोले यो समस्यालाई तत्काल स्वास्थ्य मन्त्रालयमार्फत् अस्थायी लाइसेन्स दिएर काममा लगाउँदा पछि आउन सक्ने कानुनी झन्झट बिना काम गर्न सकिन्छ। आरटी पीसीआर प्रविधिको प्रयोग विश्वव्यापी रुपमा भइरहेको छ।
(लेखक विद्यावारिधि शोधकर्ता हुन्)
भदौ ३१, २०७७ बुधबार १४:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।