माछादेखि माछासम्म
जनकपुरधाम : माछाका लागि जनकपुर क्षेत्र सबैभन्दा उपयुक्त मानिन्छ। जनकपुरको माछा भन्ने वित्तिकै एउटा अलग पहिचान छ। यहाँका माछाको माग देशका हरेक ठाउँमा हुन्छ।
तर, यहाँका माछाहरु कसरी देशभरी जाने पुन्छन्? यो प्रश्नको जवाफ धेरैसँग नहोला। जनकपुरधाम क्षेत्रमा सयौँ पोखरीमा व्यवसायिक माछापालन छन्। निजी क्षेत्रबाट सबैभन्दा बढी माछाका भुरा उत्पादन गर्ने बौएलाल मुखिया पनि धनुषाकै हुन्। उनलाई यहाँ ‘माछाको राजा’ नामले चिनिन्छ। धनुषा जिल्लाको शहीदनगर नगरपालिका–४ नन्नुपट्टीका उनी अहिले ७२ वर्षेका छन्। नन्नुपट्टीमा करिब ४० बिघा जग्गामा फैलिएको ‘मुखिया मत्स्य प्रजनन फार्म’ गाउँको पहिचान नै बनेको छ।
फार्मसँगै रहेको मुखियाको घरमा प्रत्येक दिन माछा व्यापारी, माछा उत्पादन गर्न चाहने कृषक र जानकारको जमघट नै हुने गर्छ। आफुसँग उत्पादनका सीप सिकेर प्रयोगमा ल्याउन खोज्नेलाई सहज रूपमा मुखिया आफ्ना अनुभव र ज्ञान बाँड्ने गर्छन्।
२०२९ सालदेखि माछा उत्पादन सुरु गरेका मुखियाले अहिलेसम्म आफ्नो व्यापार निकै फराकिलो बनाउन सफल भएका छन्। उनले निजी स्तरमा करिब ६० वटा माछा उत्पादनस्थल खडा गरिसकेका छन्। माउ पोखरी र नर्सरी पोखरी निर्माण गरेका उनी वार्षिक ७ करोड माछाका भुरा र करिब सय क्विन्टल हाराहारीमा माउ माछा उत्पादन गरी बिक्री गर्ने गर्छन्।
मुखियाको व्यापारमा उनका छोरा कन्हैया र रमेश पनि सहयोग गर्छन्। बुबाको व्यापारलाई अझ बढी फैलाउने उद्देश्यले आफूहरू अन्य पेसामा नगई यसमै लागिपरेको उनका छोरा कन्हैया बताउँछन्। यस फर्ममा उत्पादन हुने माछाका भुरा काठमाडौं, नुवाकोट, सोलुखुम्बु, मोरङ, बारा, पर्सा, सप्तरी, झापा, महोत्तरीलगायत नेपालका अधिकांश माछापालन रहेको स्थानमा पुग्ने मुखियाका छोरा कन्हैया बताउँछन्।
कुनै बेला चरम गरिबी व्यहोरेका धनुषा शहीदनगरका बौएलाल मुखिया माछापालनबाट बर्सेनि करोड आम्दानी गर्छन्। गत वर्ष करिब २ करोड जति आम्दानी भएको थियो तर लकडाउनका कारण यसपाली कम भएको कन्हैयाले बताए। अहिले मुखिया आफै मुखिया मत्सय प्रजनन फार्म, बुहारी मञ्जु मुखिया मुखिया माछा फार्म र कन्छा छोरा रमेशको नाममा न्यू मुखिया मत्सय प्रजनन फर्म रहेको छ।
माछा व्यापारबाट वार्षिक करोडौँ आम्दानी गर्छन् उनीहरु। तर, उनले यो अवस्थासम्म आइपुग्दा परिश्रम, चरम गरिबी र असीम दुःख भोगेको अनुभव छ। विगत सम्झँदा उनलाई कहाली लाग्छ। तराईमा दलित जातिमै पर्ने उनको समुदाय वर्षौँदेखि गरिबीको चपेटामा छ। मुखिया पनि अति विपन्न परिवारमा जन्मिएका हुन्।
आफू जन्मिएको दश दिनमै आमा पारो मुखिया बितेको धेरै पछि बुबा दुखरन मुखियाबाट थाहा पाएका थिए उनले। त्यतिबेला आफ्ना ठुल्दाइ किसुन मुखियाका सँगै एक धुर जग्गामा रहेको झुपडीमा बस्थे उनीहरू। आफू १० वर्षको हुँदा बुबा निकै बिरामी परेको स्मरण छ मुखियालाई तर उनको औषधी गराउने अवस्था थिएन। घरमा खानाकै धौधौ थियो भने औषधी त ठूलो कुरा भइहाल्यो।
उपचार अभावमा बुबा बितेको सम्झँदा उनको आँखा रसाउँछ। अति नै खराब अवस्थामा हुँदा आफ्ना नातेदारले समेत खासै सहयोग नगरेकोमा दुःखमनाउ गर्छन् उनी। ‘दाइले जसोतसो खोल्सामा दिनभर माछा मार्नुहुन्थ्यो र त्यो बेचेर जे–जति आउँथ्यो त्यसैबाट गुजारा चलाउँथ्याैँ हामी’, मुखियाले पुराना दिन सम्झिए।
करिब १३ वर्षको उमेरमा उनी आफ्नै गाउँका धनीमानी छिमेकी ज्ञानकुमार तिवारीको घरमा कामकाज गर्न थालेका थिए। त्यहीबेला अमेरिकाबाट एक जना विदेशी गाउँमा माटो र पानी परीक्षणका लागि आएका थिए। ती विदेशीले बढी जग्गा हुने व्यक्तिको माटो परीक्षण गरी कहाँ कस्तो बाली लगाउँदा राम्रो हुन्छ भनी सुझाव दिन्थे।
उनैले माछापालनबाट पनि राम्रो आम्दानी हुने बताए। विदेशीको कुरा मन परे पनि मुखियासँग भने न जग्गा थियो न पैसा नै ! तर, उनले काम गर्ने साहु तिवारीको भने तीन कठ्ठा जग्गामा बेवारिस पोखरी थियो। मुखियाले त्यही पोखरीमा माछा पाल्ने प्रस्ताव राखे। तिवारी आम्दानीको आधा दिने सर्तमा सहमत भए। ‘तिनै विदेशीले औषधि र पोखरी सफा गर्न चुना उपलब्ध गराउनुभयो’, मुखिया सम्झन्छन्,‘सरकारले कृषकलाई सित्तैमा दिने माछाका भुरा ल्याएर खेती सुरु गरेँ।’
सानो पोखरीमा उत्पादन राम्रै भयो। त्यही माछा बेचेर जिविकोपार्जन सहज हुन थाल्यो। अँधियामा सुरु गरेको माछापालनमा नयाँ मोड आयो जब तत्काललिन प्रधानपञ्चले आफ्नो घर नजिकको पोखरी ठेक्कामा दिने प्रस्ताव राखे। तिवारीको सल्लाहमा मुखियाले त्यो पोखरी ठेक्कामा लिए। लगानी गर्ने पैसा नभएकाले ११ सय रुपैयाँ पैँचो पनि उनै तिवारीले दिएका थिए। त्यो पैसाले भुरा किनेर पोखरीमा हाल्ने तरखर गरिराख्दा ती सबै भुरा मरे। झन् ठुलो समस्या आइपर्यो।
वाध्य भएर उनले ५ प्रतिशतका दरले पाँच सय रुपैयाँ ऋण लिए। बाँकी चार सय रुपैयाँ साथीको बुबासँग सापट लिए।त्यही नौ सय रुपैयाँबाट सुरु भएको माछा व्यवसाय नै आज उनको परिचय भएको छ। ‘अर्को वर्ष जब पोखरीमा माछा मार्यौँ त्यसबाट ठुलो उपलब्धि भयो र जिन्दगी नै फेरियो’, मुखियाले भन्छन्।
त्यतिबेला ८ रुपैयाँ किलो बिक्री हुने माछाबाट उनले ११ हजार रुपैयाँ आम्दानी गरेका गरे। त्यही पैसाबाट ११ कठ्ठा खेत किनेर धान खेती गरे, थप तीन कठ्ठा खेत किनेर त्यसमा माछा पालनको काम सुरु गरे।त्यसपछि अहिलेसम्म मुखियाले पछाडि फर्केर हेर्नु परेन। आफ्नो मिहिनेत र परिश्रममा सदैव साथ दिएकी श्रीमती बुधनीदेवी मुखिया र छोराहरूको हौसलाले नै अहिलेसम्म ऊर्जा दिने गरेको मुखिया बताउँछन्। सानैमा बुबाआमा बितेकाले धेरै पढ्न नपाए पनि गाउँकै विद्यालयमा कक्षा आठसम्म अध्ययन गरेका मुखिया लामो अनुभवका कारण हाल माछासम्बन्धि बिमारी, रोग वा समस्याको निदान गर्नसमेत सक्छन्।
‘म चिकित्सक त होइन तर अनुभवका कारण माछाका समस्या सजिलै बुझेर समाधान गर्न सक्छु’, मुखियाको आत्मविश्वासका साथ भन्छन्। निकै दुःख कष्टमा हुर्केका हुन् मुखिया। त्यसको एक मात्र विकल्प थियो आर्थिक उन्नति। त्यसैका लागि कडा मिहिनेत गरे। सम्भावना देखेको ठाउँमा पसिना चुहाए। कुनै बेला एक कठ्ठा घरघडेरीमौ सिमित उनले १४ बिघा जग्गा खरिद गरे। उनीभन्दा पहिला त्यस क्षेत्रमा कसैले पनि व्यावसायिक माछा खेती गरेकै थिएन। अहिले उनकै सहयोगमा दर्जनौँ किसान व्यावसायिक माछा खेतीमा लागिपरेका छन्।
मुखियाको मिहिनेतलाई राज्यले पनि बेलाबखत सम्बोधन गरेको उनी बताउँछन्। २०४६ सालमा उनलाई सरकारले माछा उत्पादन तालिमका लागि एक महिना बंगलादेश पठाएको थियो। त्यस्तै उनको परिश्रम र माछा उत्पादन क्षेत्रमा पु¥याएको योगदानलाई कदर गर्दै २०५६ सालमा तत्कालीन राजा वीरेन्द्र शाहको हातबाट गोरखा दक्षिणबाहु पुरस्कारबाट सम्मानित गरिएको थियो। दुई वर्षअघि राष्ट्रपति कृषक पुरस्कारबाट पनि सम्मानित गरिएको थियो। सो पुरस्कारमा एक लाख नगद र प्रमाणपत्र रहेको थियो। यसका साथै उनले देश\विदेशमा सयौँ सम्मान र पुरस्कार प्राप्त गरेका छन्।
चरम गरिबीको अवस्थामा उनलाई सहयोग नगरेका छिमेकी र नातेदार अहिले उनको एक दृष्टिकै लागि पनि लालायित हुन्छन्। मुखिया सबैलाई हँसिलो अनुहारका साथ मिठो बोलीले व्यवहार गर्छन्। भन्छन्,‘मैले जुन गरिबी र समस्यामा आफ्नो बाल्यकाल बिताए त्यस्तो अवस्था अब आफ्नो परिवारमा कहिल्यै नआओस् त्यसका लागि केही गरेको छु जस्तो लाग्छ।’
केही वर्ष पूर्व भएको स्थानीय निकायको निर्वाचनमा गाविस अध्यक्षमा निर्वाचित भई सफल कार्यकाल चलाएका मुखियाको छोरो अब राजनीतिमा लागेका छन्। छोरा कन्हैया मुखिया अहिले ननुपटटीका वडाध्यक्ष छन्। आफ्नो सफलताबाट प्रेरित भएर व्यावसायिक माछापालन धेरैले गर्न थालेका मुखिया बताउँछन्।
भदौ ३१, २०७७ बुधबार १०:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।