खेतमा फक्रिएको ‘कमल’

खेतमा फक्रिएको ‘कमल’
आफ्नै च्याउ फार्ममा कमल घर्तिमगर।

कमलले यस वर्ष २५ टन कन्या र २० टन गोर्बे जातको च्याउ उत्पादन गर्ने लक्ष राखेका छन्। उनले गत वर्ष १० टन गोर्वे र २० टन कन्या जातको च्याउ उत्पादन गरेर तीस लाख रुपैयाँ आम्दानी गरेको थिए। यस वर्ष ५० लाख आम्दानी हुने उनको अनुमान छ। 

धनगढी : आर्थिक अवस्था कमजोर भएका कारण कमल घर्तिमगरले सात कक्षासम्म मात्रै पढ्न सके। करिब २० वर्षअघिको कुरा हो, उनले १५० रुपैयाँ सापटी लिए। र, त्यही पैसाले सुरु गरे तरकारी खेती। 

तरकारी खेतीका कारण कमल कहिल्यै पछाडि फर्कनुपरेन। तरकारी खेती राम्रो हुँदै गयो त्यसपछि ०६५बाट उनले च्याउखेती सुरु गर्ने निर्णय थियो। अहिले उनी सुदूरपश्चिम प्रदेशकै अग्रणी च्याउ किसान बनेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडा बी गाउँका कमल वार्षिक एक करोड रुपैयाँ बराबरको च्याउ तथा तरकारी कारोबार गरिरहेका छन्। सुरुमा उनले एउटा घर र एक सय ५० पोकाबाट च्याउखेती आरम्भ गरेका थिए। यस वर्ष उनीसँग च्याउखेतीका लागि २८ वटा घर छन्। 

कमलले यस वर्ष २५ टन कन्या र २० टन गोर्बे जातको च्याउ उत्पादन गर्ने लक्ष राखेका छन्। उनले गत वर्ष १० टन गोर्वे र २० टन कन्या जातको च्याउ उत्पादन गरेर तीस लाख रुपैयाँ आम्दानी गरेको थिए। यस वर्ष ५० लाख आम्दानी हुने उनको अनुमान छ। 

कमलले अहिले च्याउ प्रशोधन केन्द्रसमेत संचालनमा ल्याएका छन्। उनले २०७३ सालमा एसियाली विकास बैंकको अनुदान सहयोग रहेको साना तथा मझौला कृषक आयस्तर वृद्धि परियोजना (रिज्म एफपी) को ४२ लाख  र आफ्नो एक करोड आठ लाखको लगानीमा प्रशोधन केन्द्र सञ्चालमा ल्याएका हुन्। उनले अहिलेसम्म च्याउखेतीका लागि दुई करोड ५० लाखभन्दा बढी लगानी गरिसकेका छन्।

कमलको च्याउ उद्योगमा गोब्रे च्याउको क्यानिङ अथवा प्याकेजिङ गर्ने काम पनि भइरहेको छ। उनको च्याउ उद्योगमा क्यान च्याउ, च्याउको अचार, सुप र सुकुटीसमेत उत्पादन भइरहेको छ।  उनको च्याउ उद्योगमा प्रतिघण्टा साढे २ क्विन्टल च्याउ सुकाउने र प्रतिघण्टा ५ क्विन्टल गोबे्र च्याउ क्यानिङ गर्न सक्ने क्षमता छ ।

कमलले कृषि ज्ञान केन्द्रको सहयोगमा च्याउको बीऊ उत्पादनका लागि प्रयोगशाला बनाएका छन्। उनले धनगढीसहित कैलाली, कञ्चनपुर, बैतडी, डडेल्धुरा, नेपालगञ्ज र काठमाडौंमा च्याउ र तरकारीं बिक्री गरिरहेका छन् भने छिमेकी मुलुक भारतमा समेत च्याउ निर्यात गर्दै आएका छन्। 

सात कक्षासम्म मात्रै औपचारिक शिक्षा आर्जन गरेका कमलले भारतका तीनवटा प्रख्यात कृषि विश्वविद्यालयबाट प्राविधिक ज्ञान लिएका छन्। उनको आठ जनाको परिवार छ। उनको च्याउ उद्योगले ६० जनालाई आंशिक रोजगारी दिँदै आएको छ। 

कमलले च्याउ तथा तरकारी खेतीका लागि दुई बिघा जमिन भाडामा लिएका छन्।उनले आफ्नो सहित कुल तीन बिघा जमिनमा च्याउ र तरकारी खेती गरिरहेका छन्। 

 

भदौ ३१, २०७७ बुधबार ०७:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।