दुईजना साथी र भालु
एकादेशमा अजय र बिजय नाम गरेका दुईजना साथीहरु थिए । दुबै एकआपसमा निकै मिल्ने गर्थे । उनीहरु पढ्न स्कूल पनि सँगै जाने गर्थे, अनि खेल्न पनि सँगै खेल्ने गर्थे । उनीहरुको यो मित्रता देखेर मान्छेहरुले उनीहरुको प्रशंसा गर्ने गर्थे ।
एकदिन उनीहरु एउटा जंगलको बाटो भएर कतै जाँदै थिए । जंगल निकै ठूलो थियो । यत्तिकैमा अजयले यो बाटो आज नजाउँ मलाई डर लाग्छ भने तर बिजयले दुईजना भएपछि डराउन पर्दैन भने । बिजयको साथ पाएपछि अजय पनि ढुक्क भएर हिँडे । जंगल निकै घना थियो त्यसैले त्यो जंगलमा जंगली जनावरहरु पनि थिए । दुबैलाई डर पनि लागेको थियो तर केही परिआएमा एकले अर्कोलाई नछोड्ने भनेर उनीहरुले बाचा पनि गरेका थिए ।
बाटोमा जाँदा जाँदै कतै खस्र्याक खुस्रुक आवाज आयो । दुबैजना तर्से । उनीहरु भाग्न खोजे तर उत्तिखेरै त्यहाँ एउटा खरायो देखियो । खरायोसँग डराउने कुरा भएन । किनकी खरायोले उनीहरुलाई केही गर्न सक्दैनथ्यो । उनीहरुले खरायोलाई नै जिस्क्याए अनि खरायो भाग्यो । उनीहरु अघि बढ्दै गए । त्यहाँ फेरी एउटा हरिण देखियो । उनीहरु अलिक तर्से । तर हरिण आफै उनीहरुलाई देखेर भाग्यो । उनीहरु अझ अघि बढे । फेरी अलिक परबाट कुनै जनावर आउन लागेको जस्तो लाग्यो दुबैलाई । यसपाली भने परबाट एउटा भालु आईरहेको थियो । दुबैले टाढैबाट भालुलाई चिने । यसपटक भने विजय भागेर रुखमा चढिहाले । उनले अजयलाई बोलाउँदा पनि बोलाएनन् । भालु नजिकै आउन लाग्यो । अजयलाई रुखमा चढ्न पनि आउँदैनथ्यो । उनी निकै डराए । उनले विजयसँग सहयोग माग्दै आफुलाई माथी तान्न हात मागे, तर विजय झन झन माथी चढे । भालु अझ नजिक आउँदै थियो । यत्तिकैमा अजयले आफ्नी हजूरआमाले भनेको एउटा कुरा सम्झे – बाघभालुले पहिल्यै मरिसकेको आहारा खाँदैनन् ।
अब अजयसँग केही उपाय थिएन । त्यसैले उनी त्यहीँ भुईंमा पल्टिएर एकछिन् आफ्नो सास रोके । भालु उनको नजिकै आयो र उनलाई सुँघ्यो । रुखबाट हेरिरहेका विजयलाई भालुले अजयको कानमा केहि भनेको जस्तो लाग्यो । अजयले सास रोकेका थिए त्यसैले भालुले शायद उनलार्ई मरेको मान्छे ठानेर त्यहाँबाट गयो । भालु टाढा गईसकेपछि विजय पनि रुखबाट ओर्लिए । उनले अजयलाई भालुले कानमा के भनेको थियो भनेर सोधे । अजयलाई विजयले आफुलाई आपत परेको बेलामा धोका दिएकोमा निकै दुःख लागेको थियो । उनले भालुले आफ्नो कानमा आपत परेको बेलामा धोका दिने साथीसँग सँधै बच्नुपर्छ भनेको कुरा गरे ।
यो कुरा सुनेर विजय पनि साथीलाई आपतपर्दा साथ छोडेकोमा निकै लज्जित भए ।
शिक्षा : जसले आपत परेको बेलामा पनि साथ दिन्छ, उ नै पक्का साथी हो ।
भदौ २९, २०७७ सोमबार ०९:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।